fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ लगानीमैत्री वातावरणका लागि समितिले नीतिगत सुधारको पहल गर्छ : सभापति दाहाल

लगानीमैत्री वातावरणका लागि समितिले नीतिगत सुधारको पहल गर्छ : सभापति दाहाल

लगानीका सम्बन्धमा हिजोका समस्या भोलिका दिनमा हुने छैनन्

सरकारले  चैत्र १५ र १६ गते राजधानीमा लगानी सम्मेलनको आयोजना गर्दैछ ।  नेपालले तेस्रो पटक आयोजना गर्न लागेको लगानी सम्मेलनका सन्दर्भमा प्रतिनिधि सभाकाे अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालसँग न्युज कारोबारका लागि विनोद दाहाल र श्यामसुन्दर पुडासैनीले गरेको कुराकानीः

 

लगानी सम्मेलनबारे तपाईंको धारणा के छ?
पैसाले विकास गरेर जनताको चाहनालाई पूरा गर्न सकिँदैन । विकासलाई तीव्रता दिनको लागि संसारमा रहेका लगानी आफ्नो मुलुकमा तान्न धनी राष्ट्रहरू लागेका छन् । नेपालको परिवर्तनलाई संस्थागत तुल्याउन र जनताको ईच्छा–चाहनाअनुसार वैदेशिक लगानी भित्र्याउन यो सम्मेलन अत्यन्तै उपयोगी छ । अहिले नेपालमा लगानीको आवश्यकता छ, लगानी सम्मेलनले यसका लागि ठूलो मद्दत गर्छ । यहाँ बढीभन्दा बढी विदेशी लगानीको आवश्यकता देखिएको छ । धेरै निजी क्षेत्रका जलविद्युत् आयोजनाहरू पनि लगानी सम्मेलनमा सहभागी हुँदैछन् । सम्मेलनले विषेशगरी जलविद्युत् आयोजनाहरू निर्माणमा धेरै सहयोग गर्ने विश्वास लिईएको छ । ऊर्जा क्षेत्र सबै क्षेत्रका लागि आवश्यक छ । ऊर्जा त उद्योगको पनि उद्योग हो । यसैले सम्मेलनबाट निकै उपयोगी प्रतिफल प्राप्त हुने आशा छ ।

राजनीतिक संक्रमणकालको अन्त्य भई देशमा स्थिर सरकार बनेको सन्दर्भमा आयोजना गरिएको सम्मेलनले सरकारको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन कस्तो भूमिका निर्वाह गर्ला ?

यो तेस्रो लगानी सम्मेलन हो । २०४६ सालको परीवर्तनपछि ०४७ सलामा पहिलो लगानी सम्मेलन भएको थियो । ०७२ को भूकम्पपछि ०७३ सालमा अर्को लगानी सम्मेलन गरेर सरकारले लगानी भित्र्याउने प्रयास गरेको थियो । त्यसको ठीक दुई वर्षपछि सरकारले पुनः लगानी सम्मेलन आयोजना गरेको छ । कृषि, जलविद्युत्, उद्योग पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरेर ७७ वटा परियोजना प्रस्तुत हुनेछन् । यसमा जुट्ने लगानीले स्थिर सरकारले लिएको विकासको लक्ष्य समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नसक्छ ।

लगानीको वातावरण बन्यो र प्रतिफल पाउन सकिन्छ भन्ने सन्देश गयो भने हाम्रो लगानी बढ्छ ।

लगानी सम्मेलन सुरु हुनु केही दिनअघि मात्र वैदेशिक लगानी नीति पारित गरिएको छ, यसले कस्तो सन्देश जाला?
करिब आधा दशक लामो संक्रमणकालका कारण विकासका प्रक्रियाले गति लिन सकेन । हामी बल्लतल्ल संवैधानिक तबरले सरकारको बलियो अवस्थामा छौं । संक्रमणकालका कारण नीतिनियम र सोचाई त्यस्तै बनायो । वातावरण पनि त्यस्तै बनायो । अब हामीले वातावरण स्थिर बनाउनको लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने हुन्छ । संसदको भर्खरै सकिएको बैठकले लगानी सम्मेलनलाई लक्षित गर्दै लगानीमैत्री ऐनहरू बनाएको छ । यसबाट सकारात्मक सन्देश नै जानेछ ।

हामी लगानीमैत्री वातावरणका कुरा गर्छौं, तर ६ महिना पहिले पारित गर्नुपर्ने कानुनहरू बन्दैछन् नि?
यो अन्तिम लगानी सम्मेलन होइन, यसअघि पनि पटक पटक भएका थिए । अब यसपछि पनि हुनेछ र यो अहिले पारित भएका नीतिहरूले अर्काे पटक हुने लगानी सम्मेलनसम्म विदेशी लगानीकर्ताको ध्यान राम्रोसँग तान्न सक्छौं भन्ने लागेको छ । लगानीको वातावरण बन्यो र प्रतिफल पाउन सकिन्छ भन्ने सन्देश गयो भने हाम्रो लगानी बढ्छ । अर्काे कुरा हाम्रो देशमा भएका केही फरक विषयले समेत लगानी बढ्छ भन्नेमा विश्वस्त हुन सकिन्छ । संसारको सबैभन्दा ठूलो जनसंख्या भएका दुई देशका बीचमा हामी छौं, ती विश्वकै मुख्य उपभोक्ता बजार हुन् । उपभोक्ताहरू नेपाल नजिक भएकाले यहाँ लागानीकर्ताको आकर्षण बढ्नेछ । अब बलियो सरकार बन्यो बलियो नीति जरुरी छ साथसाथै हाम्रा मनोवृत्तिहरू पनि सपार्नुपर्छ ।

 

तीन वर्ष पहिले पनि काठमाडौंमा लगानी सम्मेलन भएको थियो । त्यसमा ठूलो रकम प्रतिबद्धता आएको थियो तर लगानी आएन । अबको सम्मेलनपछि चाहिँ लगानी आउला भनेर विश्वस्त हुने आधार के छ ?
त्यो बेलामा विदेशी लगानीकर्ताले उत्साहजनक प्रतिबद्धता जनाएका थिए । तर त्यसपछिका सरकारले लगानीको वातावरण बनाउन र अनुकूल व्यवहार गर्न सकेन । त्यसैले तिनीहरु अर्काेतर्फ डाईभर्ट भए । कहिले मुलुक निर्वाचनमा होमियो कहिले अस्थिर राजनीतिक प्रणालीको सिकार भयो । निर्वाचन गर्ने बेलामा नियम कानुन परिवर्तन गर्नु सान्दर्भिक थिएन । अब निर्वाचनपछि स्थिर सरकार छ । यसैले पहिलेको लगानी सम्मेलन र अहिलेको परिस्थितिफरक छ । लगानी गर्नको लागि यो यो वातावरण छ भनेर कन्भिन्स गर्ने अवस्था भएकोले अब प्रतिबद्धता गरेअनुसारको काम गराउन हामी सफल हुन सक्ने ठाउँ छ ।

उसो भए लगानीकर्ताले समेत आफूले इच्छाएको परियोजनामा लगानी गर्नसक्ने वातावरण बनेको हो त ?
अहिलेको अवस्थामा लगानीकर्ताले आफूले इच्छाएको परियोजनामा लगानी गर्नसक्ने वातावरण बनिसकेको छ । हामीले पनि विभिन्न क्षेत्र देखाएर लगानीको आह्वान गरेका छौं । उनीहरूको रोजाईका क्षेत्रहरू पनि त्यही अनुसारका छन् । हामीले तय नगरेका विषयमा समेत लगानीकर्ताले हामीलाई यो क्षेत्रमा रुचि छ भन्ने प्रस्ताव राख्न सक्नेछन् । यसैले अब लगानीकर्ताले भनेका विषयमा जे पूरा भएका छैनन् त्यो पूरा गर्ने वातावरण छ ।

अहिलेको अवस्थामा लगानीकर्ताले आफूले इच्छाएको परियोजनामा लगानी गर्नसक्ने वातावरण बनिसकेको छ । स्थिर सरकार भएकाले वैदेशिक लगानीकर्ता र मुलुक दुवैलाई हित हुनेगरी कानुन बनाउन, संशोधन गर्न सकिन्छ ।

लगानीकर्ताले लगानी गर्नुअघि पूर्वाधार, श्रमशक्ति खोज्लान्, सँगै लगानीको सुरक्षा प्रतिफल खोज्छन् । त्यसको लागि विश्वस्त हुने आधार के छ?
अहिलकोे सरकारसँग पर्याप्त बहुमत छ । जुनसुकै निर्णय प्रक्रियामा पनि अलमलिनु पर्दैन । स्थिर सरकार छ । वैदेशिक लगानीकर्ता र मुलुक दुवैलाई हित हुनेगरी कानुन बनाउन, संशोधन गर्न सकिन्छ । अर्काे शान्ति सुरक्षाका विषय सुदृढ बन्दैछ । पूर्वाधारका विषयमा हामी कतिपय ठूला आयोजना निर्माणका क्रममा छौ । चुरे क्षेत्रबाट मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण राजमार्गसहितका पूर्वाधार निर्माण द्रूत गतिमा अघि बढिरहेका छन् । अर्काे महत्वपूर्ण पूर्वाधार भनेको जलविद्युत् हो । हामीसँग झण्डै एक हजार मेगावाट बिजुली थपिदै छ । यसैले पूर्वाधारको क्षेत्रमा चाहिने मुख्य पक्ष सडक र विद्युत सरकारले उपलब्ध गराउन सक्छ । यसैले अरु लगानीको वातावरण एकै पटक परिपूर्ण गर्ने भन्ने पनि हुँदैन । विस्तारै बनाउदै लैजाने हो । दीर्घकालीन लगानी गर्नका लागि वातावरण बन्दै गरेको अवस्था छ र त्यो वातावरण बनाउनको लागि सरकार प्रतिबद्ध छ । त्यो वातावरण तयार गर्न सरकारसँग यथेष्ट समय पनि छ ।

लगानीको लागि ऐन, कानुनहरू बनाएरमात्रै पुग्दैन, त्यसको कार्यान्वयन फितलो छ । व्यवहारिक धरातलमा धेरै समस्या छ । प्रशासनिक व्यवस्थापन गतिलो छैन । अन्य सूचक पनि सुधार भएका छैनन नि?
अहिलेको ऐन हेर्नु भयो भने यस्ता समस्या समाधान हुनेछन् । यी समस्या समाधानका लागि एकद्वार प्रणालीमा जादैछौ । एकै छानामुनिबाट सबै किसिमका प्रक्रिया मिलाउने सुविधा हुँदैछ । हिजोको जस्तो खरदार सुब्बा हुँदै फाइल अड्काउने परम्परा अब हुनेछैन । अर्काे विषय सुशासनको हो । विभिन्न रिर्पाेटका आधारमा हामी सुशासनमा कमजोर देखिएका छौ । अब प्रविधिमैत्री सुशासन ल्याएपछि हिजो भएका कमीकमजोरी भोलि रहदैन । भ्रष्टाचारजन्य समस्याबाट केही हदसम्म मुक्ति पाउनेछौ । तर आजको आजै रातारात सुशासन खोजेर पाइँदैन । त्यसको प्रक्रियामा हामी छिरेका छौं । तीनै तहका सरकारको ध्यान यसमा हुनुपर्छ ।

 

लगानीका लागि मुलुकको सुशासन सुधार गर्नुपर्छ । भ्रष्टाचारलाई समाप्त पार्नुपर्छ । लगानीकर्ताको विश्वास सजिलै आर्जन होला र?
निजी लगानीकर्ताको सुरक्षाका लागि सुशासनको प्रत्याभूति हुँदैछ । मुलुक प्राकृतिक रुपमा पनि सुसम्पन्न छ । यहाँ लगानी गरिसेकपछि प्रतिफल सुरक्षित हुन्छ । यहाँ रहेका समस्या हल गर्न बलियो सरकार छ । संविधानसँगै लगानी सुरक्षासम्बन्धी कानुन आएको छ । प्रष्ट रुपमै लगानीको वातावरण तयार भएको छ । हरेक हिसाबले लगानीकर्ताहरू आशावादी भएका देख्न सकिन्छ ।

मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ, तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको छैन भनेर विपक्षी कांग्रेसको गुनासो छ नि ?
मलाई के कुरामा आशा छ भने संसारभर रहेका देशहरूमध्ये नेपालमा समस्या कम छ । धेरै मुलुक समस्याका बीचमा पनि सम्पन्न भएका छन् । नेपाल पूर्ण रुपमा समस्याबाट मुक्त छ भनेर त भनिसकेको छैन । सम्भाबना बढी र समस्या कम हुदै गएको देशमा नेपाल पर्छ । यो विषयलाई लगानीकर्ताले हेरिराखेका छन् । यसैले लगानीकर्ताहरु यथेष्ट आउँछन् । हामीले सोचेभन्दा बढी लगानीकर्ताहरु आउँछन् भन्नेमा हामी विश्वस्त छौं ।

 

स्वदेशमै बैंकको ब्याजदरका कारण लगानीकर्तालाई लगानीमा असहज भएको छ । आन्तरिक कर्जा प्रवाहमा समस्या छ । यो विषयले लगानीकर्तालाई प्रभावित पार्दैन र?
अहिले यो समस्या विद्यमान छ, तर यो विस्तारै हटेर जान्छ । अहिले समस्या एकै व्यक्ति बँैकवाला भएर पनि उत्पन्न भएको छ । र उद्योगमा पनि उसको लगानी छ । अब केही क्षेत्रहरू सरकारले छुट्याउनुपर्छ । यी समस्या समाधानको लागि मेरो नेतृत्वको अर्थ समितिले नीतिगत सुधारको पहल गर्नेछ । हामीकहाँ पुँजी कम छ । बैंकहरू बढी छन् । यसैले बैंकमा विदेशी लगानी ल्याउनुपर्ने देखिन्छ । नेपाली लगानीका बैंकले मात्र अर्थतन्त्र सुदृढ हुने देखिएन । यसैले आन्तरिक तथा बाह्य लगानीकर्तालाई सहजताको लागि ब्याज सस्तो दिनसक्ने विदेशी लगानी भएका सबल बैंकको आवश्यकता छ । अब लगानीको नीतिदेखि सबैमा पुनरावलोकन गर्ने बेला आएको छ ।

 

वैदेशिक लगानीको कुरा गरिरहदा स्वदेशी लगानीको अवस्थालाई कसरी हेर्न सकिन्छ ?
अहिले स्वदेशी लगानी पनि केही विषयमा चिन्ताजन्य अवस्था छ । सुरक्षा, चन्दादेखि तरलता अभाव छ । यससँगै ब्याजदरको विषय छ । एक वर्षको अवस्था हेर्ने हो भने सेयर बजार २५ प्रतिशत घट्यो । विदेशी लगानीकर्ताले पनि स्वदेशी लगानीकर्ताले कति लगानी गरेका छन् ? उनीहरूको स्थिति के छ ? उनीहरू कति उत्साहित छन् ? यी विभिन्न विषयहरू हेर्छन् । अब विस्तारै स्वदेशी लगानीकर्ताहरूलाई उत्साहित बनाउन सरकारले वातावरण तयार गर्दैछ । विकासका कामले गति लिदै छ । सुशासनको अवस्था सुदृढ हँुदैछ । लगानीको प्रतिफलको ग्यारेन्टी बन्दैछ ।

लगानी सम्मेलनको कुरा गरिरहँदा विदेशी लगानी रहेको एनसेलको कर विवाद जारी छ, यसबारे अर्थसमितिको दृष्टिकोण के हो?
यसमा हामीले सर्वाेच्च अदालतको निर्णयको पूर्णपाठ मागेका छौ । सम्पूर्ण कर असुलउपर गर्नु भन्ने आदेशको पूर्णपाठ अर्थ मन्त्रालयमा आइपुग्यो होला । त्यहाबाट अर्थसमितिमा आउनेछ । त्यसपछि यसबारेमा प्रगति देखिन्छ । सम्मानित अदालतले नै कर अठाउन आदेश दिइसकेपछि कसैले पनि कुनै बहानामा करछलि गर्न, तर कर नउठाउन मिल्दैन । सर्वोच्चले विधि, रकम र समयबारे स्पष्ट पारेर पठाइसकेपछि त्यसै अनुसार राजस्व प्रशासनले काम अघि बढाउनु पर्नेछ । पूर्णपाठ आएपछि अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग र विभागले ठूला करदाता कार्यालयमार्फत् कार्यान्वयन गर्नुपर्नेछ । ठूला करदाता कार्यालयले एनसेल र आजिआटालाई समयसीमा दिएर रकम दाखिला गर्न पत्राचार गर्ने व्यवस्था छ । त्यसो गरेपछि उक्त समयमा करदाता एनसेलले रकम दाखिला गर्नुपर्छ ।

प्रकाशित समय १८:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु