fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ वाह ! सेयरको डिम्याट खाता यस्तो भए पो !

वाह ! सेयरको डिम्याट खाता यस्तो भए पो !

rabindra-newskarobar

पुस्तक फिर्ता गर्ने समय तीन दिन बाँकी हुँदा हरेक पटक मेरो इमेल बक्समा एउटा इमेल आउँछ । इमेलमा पुस्तकालयबाट लिएको किताबको नाम, फिर्ता गर्ने अन्तिम मिति, नवीकरण गर्ने अनलाइन विकल्प र फिर्ता नगरे प्रत्येक दिन लाग्ने जरिवाना उल्लेख हुन्छ । यही इमेलका कारण हरेक पटक पुस्तकालयको किताब समयमा फिर्ता गरेर जरिवानाबाट बच्न मलाई सहयोग पुग्छ । यो इमेल नआउने हो भने पुस्तकालयको जरिवाना बुझाउनकै लागि मैले थप केही घण्टा काम गर्नुपर्ने हुनजान्थ्यो ।

जब बिक्री नभएको हकप्रद सेयर लिलामीको सूचना पत्रिकामा प्रकाशित हुन्छ अनि म यही पुस्तकालयको इमेल सम्झन्छु । यसरी नै ‘हकप्रद भर्न तीन दिन बाँकी’ भनेर सेयरधनीको इमेलमा स”चना जाने हो भने मलाई लाग्छ– धेरै सेयरधनीले (खुलेको थाहा पाएर वा नपाएर) हकप्रद भर्न छुटेका कारण करोडौंको सम्पत्ति गुमाउनु पर्दैनथ्यो । प्राथमिक निष्कासनका राम्रा अवसर पनि गुमाउनु पर्दैनथ्यो । अनि हरेक त्रैमासमा कम्पनीले प्रकाशित गर्ने वित्तीय विवरणबाट पनि विमुख हुनु पर्दैनथ्यो ।

यो सबै सम्भव छ, मात्र सोचमा परिवर्तन हुन आवश्यक छ । केही मेहनत र जाँगर जरुरी छ । जसका लागि डिम्याट खाता (मेरो सेयर) लाई थप आधुनिक र समयसापेक्ष बनाउनुपर्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को एकल लगानीमा स्थापित सिडिएस कम्पनीले निम्न काम गर्न आवश्यक छ :

१. डिम्याट खाता नेपाल स्टक एक्सचेन्जको वेबपेजबाट पनि सिधै खोल्न (लगइन) गर्न सकिने बनाइनुपर्छ । मेरो सेयर लगइन गर्ने लिङ्क हरेक ब्रोकर कम्पनी, बिक्री प्रबन्धक, लगानी व्यवस्थापक र धितोपत्र बोर्डको वेबसाइटमा पनि राख्ने व्यवस्था गरिनुपर्छ ।

२. मेरो सेयर लगइन गरेर केही व्यक्तिगत विवरण जस्तैः इमेल ठेगाना, बसोबास ठेगाना, बैंक खाता, पेसा, व्यवसाय, फोन नम्बर, आम्दानी खातावाला आफैंले अद्यावधिक गर्न सक्ने व्यवस्था गरिनुपर्छ । ताकि खातावालले बारम्बार डिम्याट खाता खोलेको ठाउँमा फोन सम्पर्क तथा इमेल गरिरहनु नपरोस् । व्यक्तिगत विवरण अद्यावधिक गरिसकेपछि खातावालाको इमेलमा जानकारी जाने व्यवस्था गरिनुपर्छ, किनकि अरु कसैले खाताको दुरुपयोग गर्नबाट ग्राहक बचुन् ।

३. डिम्याट खातामा भएका क्रियाकलाप जस्तैः बोनस सेयर, हकप्रद सेयर, प्राथमिक निष्कासनको सेयर, थप निष्कासन खातामा जम्मा हुँदा होस् वा दोस्रो बजारबाट सेयर किनबेच गर्दा थपिने र घटाइने काम हुनासाथ ग्राहकको इमेलमा स्वतः सूचना जाने व्यवस्था गरिनुपर्छ । यसले लगानीकर्तालाई सुसूचित, सक्रिय र सचेत बनाउँछ ।

४. हकप्रद निष्कासनका सूचना पत्रिकामा प्रकाशित हुन्छन् । अनलाइनमा पनि हेर्न सकिन्छ । मेरो सेयर लगइन गरेर आवेदन दिन पनि सकिन्छ तर त्यसका लागि कुन कम्पनीले हकप्रद सेयर जारी ग–यो भनेर डिम्याट खाता बारम्बार चिहाइरहनुपर्छ । कुनै कम्पनीले हकप्रद सेयरको आवेदन खोलेमा सिडिएसले मेरो सेयरमा राख्नासाथ त्यो कम्पनीको सेयर हुनेलाई मात्र वा सबै खातावालालाई हकप्रदको अनुपात, खुलेको मिति र भर्ने अन्तिम मितिसहितको छोटो विवरण स्वतः इमेलमा जाने बनाउन आवश्यक छ । जसले सेयरधनीको सम्पत्तिको सुरक्षा गर्न, हकप्रद सेयर रिनाउन्समा बिक्री प्रबन्धकले गर्ने अनियमितता कम गर्न र कम्पनीलाई पैसा उठाउन पनि सहज हुन्छ ।

५. सम्पूर्ण लगानीकर्ताले पालना गर्नुपर्ने कानुनी परिवर्तनहरुका बारेमा लगानीकर्तालाई सूचित गर्न धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले सिडिएसको प्ल्याटफर्म प्रयोग गर्ने व्यवस्था गर्नुपर्छ । जस्तैः पुँजीगत लाभकरमा भएको परिवर्तन, व्यक्तिगत विवरणमा अनिवार्य अद्यावधिक गर्नुपर्ने कानुनी परिवर्तन भए, कमिसनका दर, स्थायी लेखा नम्बर (प्यान) आदि । धितोपत्र बोर्डले स्थानीयबासीले सेयर आवेदन दिँदा पनि आस्वाको प्रयोग गर्नुपर्ने सूचना सार्वजनिक गरेको छ । यो सूचना डिम्याटमा दर्ता भएका सम्पूर्ण खातावालालाई उनीहरुको इमेलमार्फत सूचित गर्ने व्यवस्था गरिएको भए १४ लाखभन्दा बढी खातावालासमक्ष यसको जानकारी एकैपटकमा पुग्न सक्थ्यो ।

६. डिम्याट खाता खोल्दा खातावालाले विभिन्न प्रकारका सूचना इमेल, एसएमएसमार्फत पाउने मञ्जुरी वा स्वीकृति लिने व्यवस्था गरिनुपर्छ । कतिपय सूचना शुल्कमा आधारित पनि हुन सक्छन् ।

७. मेरो सेयरमार्फत कम्पनी सञ्चालकको अनलाइन चुनाव गर्ने व्यवस्था गरिनुपर्छ । जसले सञ्चालकको चुनावमा हुने भोटको किनबेच जस्ता अनियमितता हटाई कम्पनीको चुनावी लागत पनि कम गर्न सकिन्छ भने स्वदेश तथा विदेशमा भएका अधिकतम सेयरधनीलाई निर्णय प्रक्रियामा सहभागी गराउन सकिन्छ ।

८. डिम्याट खातालाई लगानीकर्ताका सूचनाको विश्लेषण गर्ने औजारका रुपमा विकास गरिनुपर्छ । उदाहरणका लागि बजार, नियामक र सरकारलाई आवश्यक पर्ने लगानीकर्ताको व्यवहार जस्तैः एउटामात्र डिम्याट खाता खोल्ने, दुइटा खाता खोल्ने, व्यक्तिगत र संस्थागत लगानीकर्ताको विश्लेषणबाट वास्तविक लगानीकर्ताको संख्या यकिन गर्न सजिलो हुन्छ । यस्तै, लगानीकर्ताको डिम्याट खातामा दोस्रो बजारमार्फत हुने सेयरको घटबढसँगै छोटो अवधिको कारोबारमा संलग्न लगानीकर्ता र लामो अवधिको लगानीमा संलग्न लगानीकर्ता वा निष्क्रिय लगानीकर्ताको तथ्यांक केलाउनका लागि पनि डिम्याट सिस्टमको प्रयोग गर्न सकिन्छ । जसले नियामक निकायलाई नीति निर्माणमा सहयोग पुग्छ ।

९. डिम्याट खातामा सेयरको पछिल्लो मूल्यका आधारमा लगानीकर्ताको पोर्टफोलियोको कुल मूल्य हेर्न सक्ने व्यवस्था छ । यसले लगानीकर्ताको कुल सम्पत्ति देखाए पनि नाफा–नोक्सान देखाउँदैन । लगानीकर्ताले पाएको हकप्रद, बोनस, एफपीओ, दोस्रो बजारबाट खरिद गरेका सबै सेयरको औसत खरिद मूल्य निर्धारण गरी प्रत्येक कम्पनीको अलग–अलग र कुल नाफा–नोक्सान र लगानीमा बजारसँगको तुलनात्मक प्रतिफल हेर्न सक्ने व्यवस्था गरिनुपर्छ । यसैगरी वर्षभरिको सेयर कारोबारमा भएको नाफा–नोक्सानको एकमुष्ट विवरणबाट लगानीकर्ताले अग्रिम रुपमा बढी कर तिरेको भए फिर्ता पाउने र कम तिरेको भए तिर्नुपर्ने व्यवस्था गरिनुपर्छ ।

१०. मेरो सेयर लगइन गरेर आस्वामार्फत सेयर भर्न सकिने व्यवस्था छ । सोही पेजमा प्राथमिक निष्कासन तथा हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको विवरणपत्र पनि डाउनलोड गर्न सकिने व्यवस्था गरिनुपर्छ ।

११. कम्पनीले बाँडेको नगद लाभांशको विवरण डिम्याट खातामा देखिँदैन । डिम्याट खातामा सेयरमात्र जम्मा हुने गर्छ । कम्पनीले बाँडेको नगद लाभांश बैंक खातामा गए पनि त्यसको रेकर्ड मेरो सेयर (डिम्याट खाता)मा समेत रहने व्यवस्था गरिनुपर्छ । ताकि, लगानीकर्ताले कम्पनीबाट प्राप्त सम्पूर्ण प्रतिफल एकै ठाउँ एकमुष्ट रुपमा हेर्न र थाहा पाउन सकुन् ।

१२. मेरो सेयर लगइन गरेपछि जिज्ञासाहरु राख्नका लागि निक्षेप सदस्य (डीपी) सँग प्रत्यक्ष संवाद (लाइभ च्याट) गर्न सक्ने व्यवस्था गरिनुपर्छ ।

१३. मेरो सेयरमा सल्लाह सुझाव संकलन गर्न वा खातावालाले सल्लाह सुझाव दिनका लागि सुझाव दिने ठाउँको व्यवस्था गरिनुपर्छ । यस्तै, सिडिएस कम्पनीले लगानीकर्तासँग सूचना सम्प्रेषण बढाउन सामाजिक सञ्जालको प्रयोग पनि बढाउनुपर्छ ।

१४. मेरो सेयरमा भएका पछिल्ला गतिविधिबारे लगानीकर्तालाई सूचित गर्न मेरो सेयरको माथिल्लो भागमा फेसबुक म्यासेन्जरमा जस्तो नोटिफिकेसन आउने व्यवस्था गरिनुपर्छ । ताकि, खातावालाले खातामा भएका पछिल्ला गतिविधि सहजै र तत्काल थाहा पाउन सकुन् ।

१५. डिम्याट खाता नवीकरण गर्नुपर्ने समय नजिकिँदै जाँदा डिम्याट खातामा खाताको म्याद सकिने अवधि हेर्न सकिन्छ । तर, यसको जानकारी इमेलमा पाइँदैन । इमेल अद्यावधिक गरेका खातावालालाई नवीकरण गर्नुपर्ने मितिको कम्तीमा एक महिना अगाडिबाट खातावालाको इमेलमा पटक–पटक सूचना जाने व्यवस्था गरिनुपर्छ । नवीकरण शुल्क बुझाउन खाता खोलेकै ठाउँमा पुग्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ । नवीकरण शुल्क अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गरिनुपर्छ ।

१६. सेयरको आवेदन दिँदा डिम्याट खाता उल्लेख गरे पनि स्थानीयबासीको सेयर, कर्मचारी सेयर, अन्य संस्थान वा निकायका कर्मचारीलाई दिइएको सेयर वा संस्थापक सेयर दोस्रो बजारमा कारोबार सुरु नहुन्जेल (बिक्री गर्न बन्देज लगाइएको अवधिभर) डिम्याट खातामा देखाउने व्यवस्था छैन । कारोबार नहुने भए पनि बिक्री गर्न नसकिने मितिसहित डिम्याट खातामा राख्ने र देखिने व्यवस्था गरिनुपर्छ ।

मानिसको दैनिकी यसरी व्यस्त बनिरहेको छ कि सबै कुरा सम्झेर साध्य हुने अवस्था छैन । हरेक समय वेबपेज खोलेर सूचना लिने र फोन गर्ने समय पनि अभाव हुँदै गएको छ । मानिसको व्यस्त जीवनलाई मध्यनजर गरेर सेवाप्रदायक संस्थाले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने देखिन्छ, जसका लागि क्यालेन्डर, मोबाइल एप, इमेल जस्ता औजारको अधिकतम प्रयोग बढाउनुपर्छ ।

(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टराईले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् भने सेयरबजारबारे क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

यो पनि पढ्नुहोस्

सेयर बजारमा साँच्चिकै ‘सेल’ लागेको हो ?

 

प्रकाशित समय १४:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु