fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ यसरी लिन सकिन्छ सजिलै घर कर्जा

यसरी लिन सकिन्छ सजिलै घर कर्जा

saroj-newskarobar

आफ्नो एउटा घर बनाएर आनन्दसँग जीवन बिताउन पाइयोस् भन्ने सबै नेपालीको मनमा एउटा सपना हुन्छ । एउटा एक तलाको घर बनाउन ३० देखि ४०लाख रुपैयाँ पर्छ । यति रकम जम्मा गर्न एउटा सामान्य मानिसले आफ्नो पूरै जिन्दगी मेहनत गरेर पैसा बचाउनुपर्ने हुन्छ । तर, यसो भन्दैमा एउटा परिश्रमी नेपालीले एउटा घरका लागि पूरै जिन्दगी कुर्नुपर्छ भन्नेचाहिँ होइन । एउटा असल र परिश्रमी मानिसलाई घर बनाउनका लागि बैंक तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराउँछ । यो ऋणलाई घर कर्जाको नामबाट प्रदान गरिन्छ ।

घर कर्जाअन्तर्गत एउटा मानिसले घर वा जग्गा किन्नका लागि कर्जा प्राप्त गर्छ । तर, घर कर्जाका लागि आवेदन दिने मानिसको बारेमा बैंकले पनि केही कुरा हेर्ने गर्छ । जस्तैः आवेदकको मासिक आम्दानी, पारिवारिक पृष्ठभूमि, आजको मितिसम्म गरेका बैंकिङ कारोबार, कुल सम्पत्ति र दायित्व, धितो मूल्यांकन आदि । यी सबैै कुरामा बैक निश्चिन्त भयो भने तपाईंले सजिलैसँग घरकर्जा प्राप्त गर्न सक्नुहुनेछ ।

घर कर्जाको लागि आवेदन दिन के–कस्ता कागजात चाहिन्छन् त ?
– ऋणी र जमानीकर्ताको एक/एक प्रति फोटो,
– ऋणी र जमानीकर्ताको एक/एक प्रति नागरिकताको प्रतिलिपी,
– धितोमा राख्न चाहेको जग्गाको लालपुर्जा, ब्लु प्रिन्ट, तिरो तिरो रसिद, ट्रेस नक्सा र चार किल्ला,
– मासिक आम्दानी प्रमाणित भएको प्रमाण पत्र,
– व्यावसायिक आम्दानी भए व्यवसाय दर्ता गरेको प्रमाण पत्र ।
– ऋणीको कुल सम्पत्ति विवरण ।

यति कागजात बैंकमा बुझाइसकेपछि तपाईंको कर्जा प्रक्रिया सुरु हुन्छ । पहिलो चरणमा धितो मूल्यांकन हुन्छ । यसका लागि इन्जिनियर र बैंकका कर्मचारी धितो मूल्यांकन गर्न आउँछन् । धितो मूल्यांकन बजारको मूल्य र मालपोतको मूल्य दुवै समावेश गरेर गरिन्छ । तपाईंको धितोको मूल्य, तपाईंले उपभोग गर्न थाल्नुभएको कर्जाभन्दा केही माथि आउनुपर्नेछ । विभिन्न बैंकका आ–आफ्नै नियम हुन्छन् । तपाईंको जग्गाको मूल्यको कति प्रतिशतसम्म ऋण दिन मिल्छ भन्ने कुरा बैंकअनुसार फरक हुन्छ । तपाईंको धितो मूल्यांकन सकारात्मक रह्यो भने तपाईंको कर्जा प्रक्रिया थप अघि बढ्छ ।

त्यसपछि तपाईंले कर्जा उपभोग गरेपछि सहज रुपमा कर्जा नियमित तिर्न सक्नुहुन्छ कि हुँदैन भनेर हेरिन्छ । यसका लागि नै बैंकले तपाईंको मासिक आम्दानी प्रमाणित गरिएको प्रमाणपत्र माग्नेछ । बैंकले तपाईंको धितोभन्दा पनि तपाईंले साँवा र ब्याज नियमित तिर्न सक्नुहुन्छ कि हुँदैन भन्ने कुराको मूल्यांकनलाई प्राथमिकतामा राख्छ । यसलगायत तपाईंको पारिवारिक पृष्ठभूमि र पहिला उपभोग गरेको कर्जाको कारोबारको आधारमा बैंकले एउटा रिपोर्ट तयार गर्छ । यो रिपोर्ट स्वीकृत भएपछि, तपाईंले कर्जा पाउने पक्का हुन्छ । कर्जा स्वीकृत भएको केही समयपछि तपाईंको धितो रोक्का गर्ने काम हुन्छ । यसका लागि तपाईं बैकको प्रतिनिधिको साथमा सम्बन्धित मालपोत कार्यालयमा जानुपर्ने हुन्छ । धितो रोक्का भएपछि त्यो धितो फुकुवा नभएसम्म तपाईंले बेचबिखन गर्न पाउनु हुँदैन । धितो रोक्का भएको दुई दिनभित्र तपाईंले स्वीकृत भएको कर्जा रकम पाउनुहुनेछ ।

तपाईंले बनिसकेको घर किन्दै हुनुहुन्छ भने घरको पूरा मूल्य एकैपटकमा पाउनुहुन्छ । तर, तपाईं घर निर्माण गर्दै हुनुहुन्छ भने तपाईंले किस्ताकिस्तामा पैसा पाउनुहुन्छ । डिपिसी गर्दासम्म लाग्ने पैसा पहिलो चरणमा पाउनुहुन्छ । दोस्रो चरणमा, पहिलो ढलान गर्न लाग्ने पैसा पाउनुहुन्छ र निर्माण सम्पन्न प्रमाणपत्र लिएपछि तपाईंको स्वीकृत भएको कर्जाको बाँकी रकम पाउनुहुन्छ ।

घर बनाउने काम सम्पन्न भएपछि तपाईंले समयमै किस्ता तिर्नुपर्छ र एउटा अनुशासित नागरिकको परिचय दिनुपर्छ । यसले गर्दा तपाईं भविप्यमा अरु कुनै कर्जा लिन बैंकमा जानुभयो भने तपाईंको राम्रो रेकर्ड देखिन्छ र अर्को कर्जा प्रक्रियाका लागि सहज हुन्छ । त्यसैले तपाईंको भरपर्दाे आम्दानी छ र घर बनाउन चाहनुहुन्छ भने आजै आफ्नो नजिकैको बैंकमा सम्पर्क गर्नुहोस् ।

(भुसाल प्रभु बैंकसँग आबद्ध छन् ।)

प्रकाशित समय १३:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु