fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ सबल र समृद्ध नेपालको शुभकामना

सबल र समृद्ध नेपालको शुभकामना

sampadakiya-newskarobar

वर्ष २०७५ हामीमाझबाट केही विस्मृति, केही स्मृति, केही पीडा र केही आशा छाडेर गएको छ । २०७५ सालले पनि सुरुमा केही आशा र सपनाहरू नदेखाएको भने होइन । एक दशक लामो सशस्त्र द्वन्द्व र एक दशक नै लामो राजनीतिक अस्थिरता र संक्रमणकालको अन्त्यसँगै २०७५ सालमा बनेका स्थायी सरकारहरूबाट मुलुकले निकै ठूलो आशा राखेका थिए । जनताको राजनीतिक अधिकार तल्लो तहमा निक्षेपण हुनुले मात्र परिवर्तनको आभाष गराउँदैन, परिवर्तनको वास्तविक आभाष हुनका लागि जनजीविकामा परिवर्तन आउनु पर्छ, विकासका बिम्बहरू देशमा देखिनु पर्छ । विडम्बनाकै कुरा हो, २०७५ सालमा अधिकार र शक्ति सम्पन्न सरकार हुँदासमेत जनताले परिवर्तन र विकासको अनुभूति नै गर्न पाएनन । यसका पछाडि केही तत्वहरूले अवश्य भूमिका खेले, जसमा कर्मचारी प्रशासनको समायोजनसम्बन्धी मुद्दा त थियो नै, त्योभन्दा बढी राजनीतिक समायोजन नै देशको अहिलेसम्मको मुख्य समस्या बनेको छ । एकीकरणपछि सबैभन्दा ठूलो राजनीतिक दल बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी समायोजनकै प्रक्रिया अझै टुंगिएको छैन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफै आन्तरिक गुटबन्दीमा अल्झिएको छ । नेकपाभित्रको गुटबन्दी पनि चरम रूपमा चर्किँदैछ । नेपाली राजनीतिमा अस्थिरता भित्र्याउन यस्ता गुटबन्दीहरूले मुख्य भूमिका खेल्दै आएका छन् । २०४६ सालपछि बहुमतसहित बनेको कांग्रेसको सरकार पनि आफ्नै आन्तरिक गुटबन्दीकै कारण ढलेको नजीरलाई नेकपाका नेताहरूले बिर्सन हुँदैन ।

देशले राजनीतिक अस्थिरता र विभिन्न वादको प्रयोगमा दशकौं गुमाइसकेको छ, अब पनि नयाँ नयाँ प्रयोग गर्ने समय छैन । वर्तमान सरकारलाई इतिहासले नै एउटा यस्तो अवसर प्रदान गरेको छ, जसलाई टेकेर नेपाललाई रुपान्तरणको नयाँ मार्गतर्फ अग्रसर गराउन सकिन्छ । त्यस्तो बेलामा नेपालमा स्थिर सरकार बनेको छ, जुन समयमा विश्वभरिका एसियातर्फ आर्थिक अवसरहरू फैलिँदै छन् । एसियामा पुँजी र अन्य स्रोतका प्रवाहको यो अवसरबाट बढीभन्दा बढी लाभ लिनका लागि नेपालका लागि यो उपयुक्त अवसर पनि हो । केही आफ्ना स्रोतसाधनबाट र केही विदेशी स्रोतको परिचालनबाट अब नेपालले समृद्धिको मार्ग पहिल्याउन सक्ने अवस्था पनि बन्दै गएको छ ।
हालसम्मको विकास क्रमले २०७६ सालभित्र कम्तिमा १५०० मेगावाट जलविद्युत् राष्ट्रिय प्रशारण लाइनमा थपिनसक्ने देखिएको छ । २०७५ लाई संक्रमणकालको अन्तिम वर्ष मानेर यदि सरकारले प्रभावकारी नीति, योजना र कार्यक्रम ल्यायो भने २०७६ सालमा देशमा नवनिर्माणको आधारशीला खडा हुनेछ । यसका लागि सरकारले अब खुद्रा-मसिनाका कार्यक्रममा अलमल्याउने होइन, समृद्ध नेपालको आधारशीला तयार हुनेगरी मेगा परियोजनाहरू अगाडि बढाउनमा जोड दिनुपर्छ । सँगसँगै राज्यको लोककल्याणकारी भूमिकालाई अझ बढी प्रभावकारी तुल्याउन सामाजिक सुरक्षाका थप र प्रभावकारी कार्यक्रमहरू कार्यान्वयनमा ल्याउन सक्नु पर्छ ।

२०७६ सालमा अवसरहरूको सिर्जना, विविधीकरण र सबैका लागि अवसरहरूको न्यायिक विवरण हुने आधारहरू सिर्जना हुनसक्ने सम्भावना बढ्दो छ । यसका लागि सरकार, निजी क्षेत्र र विकास साझेदारहरू सबैका तर्फमा समान रूपमा हातेमालो गर्नु अपरिहार्य छ । आन्तरिक र बाह्य रूपमा केही चुनौतीहरू पनि नभएका भने होइनन, तर जति अवसर उपलब्ध छन्, तिनको तुलनामा चुनौती कमै भएकाले गर्दा २०७६ सालको बिहानी नेपालीहरूको आगनमा समृद्धिको सूचना लिएर उभिने वर्ष बन्न सकोस्, हाम्रो शुभकामना ।

प्रकाशित समय १२:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु