fbpx
Nepal Mediciti

गृहपृष्ठ छाडा सेयर बजार र धितोपत्र बोर्ड

छाडा सेयर बजार र धितोपत्र बोर्ड

rabindra-bhattarai-newskarobar

‘आजको छलफलको विषयवस्तु सेयरको इन्साइडर (भित्री) कारोबार’ कक्षा सुरु गर्दै सेयर बजार पढाउने प्राध्यापकले यसो भन्दा विषयवस्तु खासै अनौठो लागेन । किनकि, बारम्बार सुनिरहेको र लेखिरहेको विषयवस्तु थियो । जिज्ञासा त्यहाँनेर थियो, यसको नियमनमा विकसित देशले गरेका कानुनी व्यवस्था र कारबाही प्रक्रिया कस्तो होला भन्ने ।

सेयरको भित्री कारोबारलाई परिभाषित गर्दै गर्दा कक्षा त्यति उनीतर्फ केन्द्रित हुन सकेन । तर, जब उनले आफ्नो अनुभव सुनाउन थाले, त्यसले भने कक्षामा उपस्थित सबैको ध्यान उनैतर्फ तान्यो ।

उनी भन्दै थिए– करियरको सुरुमा उनी सेयर ब्रोकर कार्यालयमा काम गर्थे । उनीसँगै कर विषय पढाउने अर्का प्राध्यापक सुरुमा गोदाममा सामान सार्ने लेवर काम गर्थे । करियर परिवर्तन गर्दै अहिले उनीहरु कलेजका प्राध्यापक भएका छन् ।

क्यानेडियन सेयर बजारका बारेमा पढाउने ती प्राध्यापक सेयर ब्रोकरकहाँ काम गर्दा ग्राहकको आदेश लिने र कम्युटरमा प्रविष्टि गराउने गर्थे  । तर, यो काम गर्नका लागि पनि सेयर बजारसम्बन्धी केही कोर्स पूरा गरेकै हुनुपर्ने कानुनी व्यवस्था थियो र अझै पनि छ । सेयर कारोबार व्यवसाय जस्तो ब्रोकर, पोर्टफोलियो व्यवस्थापन, मर्चेन्ट बैंकिङ जस्ता संस्थामा काम गर्ने हरेक कर्मचारीले त्यससँग सम्बन्धित कोर्स गरेकै हुनुपर्ने व्यवस्था छ । त्यस्ता कोर्स नगरी आफ्नो करियर अगाडि बढाउन सम्भव नै छैन । हरेक माथिल्लो तहमा जान र थप जिम्मेवारीका लागि अनुभवले मात्र पुग्दैन, थप शिक्षा र दक्षता आवश्यक हुन्छ । थप कोर्स गर्न जरुरी छ । जसको नियमन सेयर बजार नियामकले हेर्ने गर्छ भने आवश्यक कोर्स र त्यसको सर्टिफिकेसनको व्यवस्था विभिन्न संस्थाहरुले गर्ने गरेका छन् । काम सुरु गरेपछि सम्पूर्ण विवरण कर्मचारी र रोजगारदाता दुवैले नियामक निकायमा तोकिएको अनलाइन प्रणालीबाट बुझाउनुपर्छ, विवरण भर्नुपर्छ । कर्मचारीले काम छाडेपछि पनि दुवैले विवरण बुझाउनुपर्छ । कर्मचारीको काम, काम गरिरहेको संस्था, आवश्यक तालिम तथा कोर्सका बारेमा नियामकले यही प्रणालीबाट पछ्याउँदै जान्छ । आफ्नो काममा कुनै कमजोरी भए वा गैरकानुनी काम भए करियर त्यही समाप्त हुन्छ । यो पेसामा फर्किएर आउन गाह्रो छ । किनकि, कम्प्युटर सिस्टममा सबै कुरा रेकर्ड भइसकेको हुन्छ । अब अर्को पेसा समात्नुपर्छ ।

उनी ब्रोकर कम्पनीमा काम गर्दाको अनुभव सुनाउँदै थिए– कारोबार कमै हुने कम्पनीको सेयर किन्नका लागि एक दिन ठूलो सेयर संख्याको खरिद आदेश आयो । आदेश लिँदा ग्राहकका केही विवरण सोध्नैपर्ने हुन्छ, जस्तो नाम, थर, जन्म मिति, कारोबार खाता नम्बर र अन्य कुनै प्रश्न जस्ले कारोबार आदेश दिने व्यक्ति सही हो भन्ने यकिन होस् । लगानीकर्ताले नाम र खाता नम्बर भनेका भरमा खरिद–बिक्री आदेश पूरा हुँदैन । कारोबार गर्न ब्रोकर कार्यालय नै पुग्नुपर्छ भन्ने छैन । फोनबाटै सबै काम हुन्छ । आदेश दिने सही व्यक्ति हो भन्ने पहिचानका लागि उनले सबै प्रक्रिया पूरा गरे । अप्रत्यासित रुपमा आएको ठूलो आदेशले उनलाई शंका उत्पन्न गरायो । उक्त आदेश कारोबार खुल्नुभन्दा केही अगाडि आएको थियो । आदेशका बारेमा उनले आफ्नो सुपरभाइजरलाई सुनाए । उक्त खरिद आदेश दिनेका बारेमा थप बुझ्दा उनी सोही कम्पनीका उपाध्यक्ष (भाइस प्रेसिडेन्ट) भएको थाहा भयो । उनी कम्पनीको गोप्य सूचना (इन्साइडर इन्फरमेसन)मा पहुँच भएका व्यक्ति थिए ।

यही समयमा एक विद्यार्थीले प्रश्न सोध्न भ्याइहाले, ‘अनि सेयर किनिदिनुभयो त ?’

प्राध्यापकले भने– हामीले आएको आदेश कार्यान्वयन गर्यौं र त्यसको जानकारी तत्काल नियामकलाई दियौं । किनकि, त्यो आदेश हामीलाई शंकास्पद लाग्यो । त्यस पछाडिको काम नियामक को हो, हाम्रो होइन । उनले भित्री सूचनाका आधारमा सेयर किने वा सूचना नभई किने वा अन्य केही भन्ने छानबिन गर्ने नियामक को हो । बाँकी काम हाम्रो थिएन ।

‘नियामकलाई नभनेको भए के हुन्थ्यो ?’ अर्का विद्यार्थीले प्रश्न गरे ।

हो, उक्त कारोबारका बारेमा हामीले नियामकलाई नभन्न वा जानकारी नदिन पनि सक्थ्यौं तर हाम्रो करियरको सवाल थियो । व्यवसायको सवाल थियो । हामीले त्यसको जानकारी नदिनु र नियामकले छानबिन गर्दा हाम्रो कुनै कमजोरी पत्ता लगाए ब्रोकरलाई पनि ठूलो जरिवाना हुन्थ्यो र हाम्रो करियर पनि त्यहीँ टुंगिन्थ्यो । यसैले शंका लागेको जानकारी नियामकलाई दिनैपर्ने बाध्यता हुन्छ । यसबाहेक कम्पनीको भित्री सूचनामा पहुँच राख्ने आफैंले पनि कारोबारको विवरण नियामकलाई कारोबार भएको १० दिनभित्र दिनैपर्ने हुन्छ । यहाँको कानुनले कारोबार गर्ने र कारोबार गरिदिने मध्यस्तकर्ता दुवैलाई एउटा सिस्टममा बाँधेको छ ।

यस्तै भित्री कारोबारको अर्को प्रसंगमा उनले भने– कुनै प्रकारले हामीले सार्वजनिक नभएका कम्पनीका भित्री सूचना थाहा पायौं भने त्यस्तो सूचनाका आधारमा सेयर कारोबार गर्नै नपाइने कानुनी व्यवस्था छ । त्यस्तै, यो सूचना सँगै काम गर्ने साथीलाई पनि भन्न पाइँदैन ।

नेपालको सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डले पनि भित्री कारोबारलाई नियमन र दण्डित गर्न कानुनमात्र बनाउने होइन, सूचना प्रविधिमा पनि लगानी बढाउनुपर्छ । कागजमा लेखिएका कानुनी अक्षरले मात्र भित्री कारोबार नियमन हुन सक्दैन ।

धितोपत्र बोर्डले लगानीकर्ताको हरेक कारोबारमा पैसा असुलेको छ । यो पैसा कर्मचारीको तलब भत्ताका लागि मात्र नभई बजारलाई व्यवस्थित गर्न पनि हो । बोर्डले विगत केही वर्षमा करोडौं रुपैयाँ कर्मचारीका विभिन्न नाम गरेका कोषमा जम्मा गरेको छ तर बजारलाई नियमन गर्ने प्रविधिमा लगानी बढाएको देखिँदैन । अहिले सेयर कारोबारमा भित्री कारोबारको जुन बहस चलिरहेको छ, त्यो नियामकको कमजोरीका कारण पनि हो । उसले आवश्यक र सही प्रविधिको प्रयोग गर्न नसक्दा दिनदिनै सेयर बजार छाडा भइरहेको अवस्था छ । सर्वसाधारणको लगानीमा जोखिम दिनदिनै थपिएको छ ।

(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टराईले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् भने सेयरबजारबारे क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

यो पनि पढ्नुहोस्

वाह ! सेयरको डिम्याट खाता यस्तो भए पो !

प्रकाशित समय ०८:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु