fbpx
Nepal Mediciti

गृहपृष्ठ बेलका हरियाली गोल्डकपको तयारी पूरा

बेलका हरियाली गोल्डकपको तयारी पूरा

बेलका नगरपालिकामा हुन लागेको ‘प्रथम बेलका हरियाली गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नगर युवा तथा खेलकुद विकास समितिका अनुसार यही फागुन १८ गते भागलपुर रंगशालामा उद्घाटन हुन लागेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको हो । २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ र बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापाले संयुक्त रुपमा गर्नेछन् ।

नकआउटका आधारमा खेलाईने प्रतियोगितामा उदयपुरसहित सुनसरी, मोरङ्ग, सर्लाही, सिराहा, सप्तरीलगायत जिल्लाका ८ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक नगर युवा तथा खेलकुद विकास समितिकी अध्यक्ष सीता राईले बताईन् ।

प्रतियोगिताको विजेताले २ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले १ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सह–आयोजक लालि गुराँस नवयुवा क्लबले जनाएको छ । यस्तै प्रतिम्याचमा घोषित हुने ‘म्यान अफ दि म्याच’ खेलाडीलाई ३ हजार रुपैयाँ, बेस्ट गोलकीपर, हाई स्कोरर, बेस्ट डिफेन्स, मिडफिल्डर, बेस्ट फरवार्ड र म्यान अफ दि सिरिजलाई नगद ५ हजार रुपैयाँ र मेडल प्रदान गरिने प्रतियोगिता संयोजक राईले बताईन् ।

प्रतियोगितामा ३० लाख ८० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । नगरको हरियाली खेल मैदानलाई संरक्षण र प्रबर्द्धन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले ‘हरियाली’ जोडेर आयोजना गरिएको गोल्डकप बेलकामा खेल क्षेत्रका नवप्रतिभाको पहिचान गरी उनीहरुको क्षमता अभिवृद्धि गर्न, युवाहरुलाई लागू औषध, कुलतमा फँस्नबाट रोक्न र व्यावसायिक खेलाडी विकासमा मद्दत पुर्याउन महत्वपूर्ण हुने आयोजकको विश्वास छ ।

यसैबीच, खेल सम्बद्ध निकाय र व्यक्तिहरुले बेलका हरियाली गोल्डकप २०७५ सफलताको कामना गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बेलका नगरपालिकाको खेलकुद विकास र प्रबर्द्धनका लागि आवश्यक सहयोग गर्ने बाचा गर्दै भने, ‘खेलकुद विकास समिति नै गठन गरी गतिविधि भइरहेको रहेछ, यो निकै सराहनीय काम हो, आगामी दिनमा राखेपबाट गर्न सकिने सहयोगका लागि म खुला छु ।,’ विष्टले गोल्डकपको समापन कार्यक्रम आफू पनि उपस्थित हुने बताए । राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले स्थानीय स्तरमा यस खालको पहल हुनु निकै सकारात्मक भन्दै प्रतियोगिता सफलताको काम गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बेलकामा हुन लागेको गोल्डकप प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे । यस्तै एन्फाका उपाध्यक्ष कृष्णबहादुर थापाले पनि बेलका गोल्डकपको सफलताको कामना गरे । उनले गोल्डकपले नयाँ खेलाडीको पहिचान गरी स्तरवृद्धिमा सहयोग पुर्याउने विश्वास पनि व्यक्त गरे ।

बेलकामै पहिलोपटक फुटबलमा यति ठूलो प्रतियोगिता हुन लागेको हो । यसअघि स्थानीय क्लबहरुको आयोजनामा सानातिना टुर्नामेन्ट हुने गरेको थियो ।

प्रकाशित समय १९:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु