fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ अझै दुई वर्ष नआउने भो मेलम्ची

अझै दुई वर्ष नआउने भो मेलम्ची

अब कसरी अघि बढ्ने भन्ने अन्योल, मन्त्रालयको निर्णय कुर्दै आयोजना

melamchi-aayojana-newskarobar

बहुप्रतीक्षित मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवर्क्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का रद्द भएपछि आयोजनाको काम थप अन्योलतर्फ धकेलिएको छ । आउँदो नयाँ वर्षसम्म मेलम्चीको पानी काठमाडौमा ल्याउने भनिए पनि ठेक्का तोडिएसँगै आयोजना दुई वर्ष पछि धकेलिएको हो । कार्यरत कम्पनीलाई काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले केही दिनअघि ठेक्का सम्झौता रद्द गरेको थियो ।

तर, ठेक्का तोडिएको एक साता पुग्न लाग्दासमेत आयोजना कसरी अघि बढाउने भन्नेबारे खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति कुनै निर्णयमा पुग्न सकेका छैनन् । यद्यपि, समितिले भने आयोजना अघि बढाउने विभिन्न विकल्पसहितको प्रस्ताव तयार पार्ने काम भइरहेको जनाएको छ ।

आयोजनाले खानेपानी मन्त्रालयलाई सुझाव दिने र मन्त्रालयबाट निर्णय आएपछि मात्र मेलम्चीको बाँकी काम अघि बढ्ने आयोजनाका सहायक निर्देशक रामप्रसाद खरेलले बताए । ‘अब आयोजना कसरी अघि बढाउने भन्ने बारेमा विभिन्न विकल्पमा छलफल गरिरहेका छौं, ती विकल्प सुझाएर निर्णयका लागि मन्त्रालयमा पठाउँछौं, मन्त्रालयले जुन विकल्प अनुमोदन गर्छ, त्यसैका आधारमा आयोजना अघि बढाउँछौं,’ खरेलले भने । सीएमसीको मातहतमा मेलम्चीमा काम गरेका नेपाली साझेदारहरूलाई आयोजनाको बाँकी काम गर्ने जिम्मा दिने विकल्पमा समेत छलफल भइरहेको बताइएको छ ।

 

यस्तो छ बाँकी प्रक्रिया

काम गरिहरेको कम्पनीसँग ठेक्का तोडिएसँगै बाँकी काम गर्नका लागि नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । अब बाँकी कामको लागत मूल्यांकन गर्दै बोलपत्र आह्वान गर्ने र सबै प्रक्रिया पूरा गर्न कम्तीमा यो आर्थिक वर्षको अन्त्यसम्म लाग्ने आयोजनाका अधिकारी बताउँछन् । ‘नयाँ ठेक्का प्रक्रियामा गएर काम अघि बढाउन कम्तीमा ५–६ महिना लाग्छ,’ सहायक निर्देशक खरेलले भने ।

यसले गर्दा आयोजनाको बाँकी काम अर्को साउनबाट मात्र सुरु गर्न सकिने सम्भावना छ । ठेक्का प्रक्रिया सकिएपछि काम दिनरात गरेर वर्ष दिनमा सक्ने हो भने पनि डेढ वर्षअघि मेलम्ची काठमाडौं आउँदैन । ठेक्का प्रक्रिया पूरा गरेपछि पनि आयोजना पूरा गर्न कम्तीमा डेढ वर्ष लाग्ने आयोजनाका एक अधिकारीले बताए । नयाँ कम्पनी आएपछि काम गर्न अन्यौल हुने भएकाले सारसर आयोजना अघि नबढ्ने उनको बुझाइ छ ।

 

अब कति काम बाँकी छ ?

काम गरिरहेको ठेकेदार कम्पनी सीएमसी आर्थिक रुपमा टाट पल्टेको जानकारी गराउँदै इटाली फर्केदेखि आयोजना ठप्प भएको छ । सुरुङको फाइनल फिनिसिङलगायतका सबै काम रोकिएका छन् । मेलम्चीको २७ किमी सुरुङ भने छिचोलिइसकेको छ ।

सुरुङमध्ये दुई किमीमा फाइनल फिनिसिङ (पिच गर्ने) र तिनवटामध्ये दुईवटा भेन्टिलेसन सफ्ट निर्माण गर्ने मुख्य काम बाँकी छ । हाइड्रोमेकानिकल जडान, सुन्दरीजल सप्लाई पाइप जडान, इन्ट्युमेन्टेसन जडान, पानी प्रशोधन केन्द्र–२ को निर्माण र मेलम्चीको पानी सुरुङमा लग्ने बाँध (इन्टेक) निर्माण गर्न बाँकी छ । यी काम सरासर भएमा वर्ष दिनमा सकिने इन्जिनियरहरु बताउँछन् । ‘पहिलेकै कम्पनी भएको भए सरासर हुन सक्थ्यो र अबको एक वर्षभित्र मेलम्ची आउन सक्थ्यो,’ नाम नखुलाउने सर्तमा एक इन्जिनियरले न्युज कारोबारसँग भने, ‘तर अर्को कम्पनीलाई दिनुपर्ने भएकाले ठेक्का प्रक्रियामा थप ६ महिना बित्ने र नयाँ कम्पनीलाई काममा केही अन्योल हुने भएकाले थप १८ महिनाअघि मेलम्चीको काम सम्पन्न हुँदैन ।’ कम्पनीले ‘टाट पल्टिएँ’ भन्दै काम छाडेपछि नयाँ वर्षमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने केपी ओली सरकार अपेक्षा अधुरै रहने निश्चित भएको छ ।

मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसँगको ठेक्का तोड्दै उसले राखेको बैंक धरौटी जफत गर्ने निर्णय गरेको छ । सीएमसीले ठेक्का सम्झौता गर्दा झन्डै साढे दुई अर्ब रुपैयाँ धरौटी राखेको छ ।

 

मेलम्ची आयोजना परिकल्पनादेखि हालसम्म

२०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउन सकिने बताएका थिए । त्यसयता बनेका हरेकजसो प्रधानमन्त्रीले मेलम्ची छिट्टै सम्पन्न हुने अधुरो आश्वासन दिँदै आएका छन् । आयोजना सम्पन्न भए मेलम्चीदेखि सुन्दरीजलसम्मको २६ किलोमिटर सुरुङ हुँदै तत्काल १७ करोड लिटर पानी काठमाडौं भित्रिनेछ ।

आर्थिक वर्ष २०५५÷५६ (सन् १९९८) मा मेलम्ची खानेपानी विकास समिति गठन भएको हो । त्यसपछि २०५९ सालमा एसियाली विकास बैंकको १२ करोड अमेरिकी डलर स्वीकृत भएपछि विधिवत् रूपमा आयोजना अघि बढेको हो । २०६० सालमा सम्पन्न आयोजनाको विस्तृत अध्ययनले प्रारम्भिक लागत ४६ करोड ४० लाख अमेरिकी डलर देखाएको थियो ।

आयोजनाको हेडवक्र्स र सुरुङ निर्माणको ठेक्का २०६६ सालमा चिनियाँ कम्पनी सीआरसीसीलाई दिइएको थियो । कार्यतालिकाअनुसार काम नगरेको, सूचना दिँदा पनि सुधार गर्नुपर्ने ठाउँमा सुधार नगरेकोलगायत कारण उल्लेख गर्दै सीआरसीसीसँगको सम्झौता तोडियो । त्यसपछि बाँकी काम सम्पन्न गर्नेगरी आह्वान गरिएको नयाँ बोलपत्रमार्फत इटालियन कम्पनी सीएमसी छनोट भएको थियो ।

२०७० असार ३१ गते ठेक्का सम्झौता भएको सीएमसीले काम थालेको १ हजार ९५ दिनमा काम सम्पन्न गर्नुपर्ने अवधि तोकिएको थियो । उपकरण आयातमा समय लाग्दा सम्झौता भएको ६ महिनापछि मात्रै काम सुरु भयो । त्यसपछि आर्थिक रुपमा टाट पल्टिएको भन्दै सीएमसी फर्किएपछि मेलम्चीको पानी पिउने राजधानीबासीको तीन दशकदेखिको रहर तत्काल पूरा नहुने भएको हो ।

 

मेलम्ची परिकल्पनादेखि हालसम्मका २८ वर्ष

२०४७ : मेलम्चीको पानी काठमाडामा ल्याउन सकिने परिकल्पना

आर्थिक वर्ष २०५५/५६ : मेलम्ची खानेपानी विकास समिति गठन

२०५९ : विधिवत् रूपमा आयोजना निर्माण सुरु

२०६० : आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार

२०६६ : हेडवक्र्स र सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी सीआरसीसीलाई

२०६९ : चिनियाँ कम्पनी सीआरसीसीसँग ठेक्का सम्झौता रद्द

२०७० : इटालियन ठेकेदार कम्पनी सीएमसीलाई ठेक्का

२०७० पुस : सीएमसीद्वारा काम सुरु

२०७५ माघ : सीएमसीसँगको ठेक्का रद्द

प्रकाशित समय १७:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु