fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ भूमिहीन सुकुम्बासीले लालपुर्जा पाउने पक्का

भूमिहीन सुकुम्बासीले लालपुर्जा पाउने पक्का

belaka nagarpalika

उदयपुरको बेलका नगरपालिकाका सुकुम्बासीले लालपुर्जा पाउने निश्चित भएको छ । सरकार, दातृ निकाय र बेलका नगरपालिकाबीच ‘अनौपचारिक भू–सम्बन्धको पहिचान, सत्यपन र अभिलेखन गरी अव्यवस्थित बसोबासको सूचना प्रणाली विकास गर्ने’ सहमति भएसँगै बेलकाका ‘भूमिहीन सुकुम्बासी’ले लालपुर्जा पाउने निश्चित भएको हो । सोमबार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, बेलका नगरपालिका, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र तथा यु.एन. ह्याविटाटबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा मन्त्रालयका सहसचिव जनकराज जोशी, बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा, यु.एन. ह्याविटाटका तर्फबाट पद्मसुन्दर जोशी र आत्मनिर्भर सेवा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक जगत देउवाले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार यो परियोजना सुरुमा बेलका नगरपालिका वडा नं. ३ मा लागू गरिने छ । त्यसपछि बेलकाकै बाँकी वडासँगै देशका अन्य स्थानीय तहमा समेत विस्तार गरिने सहमतिपत्रमा उल्लेख छ । ‘उदयपुर जिल्ला, बेलका नगरपालिका वडा नम्बर ३ भित्र विभिन्न ऐलानी, पर्ती, वनलगायत सरकारी जग्गा आवाद गरी अव्यवस्थित किसिमले लामो समयदेखि बसोबास गरी आएका नागरिक र निजहरुको उक्त जग्गासँगको अनौपचारिक भूसम्बन्धको पहिचा, सत्यापन र अभिलेखन गर्न अन्तर्राष्ट्रिय स्तरमा अभ्यासमा रहेको ‘फीट फर पर्पोज ल्यान्ड एड्मीनिस्ट्रेसन’ विधिद्वारा भूमि लगत संकलन, रुजु र रेकर्ड गरी व्यवस्थित सूचना प्रणाली तयार गर्न हामी भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, बेलका नगरपालिका (उदयपुर), सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र यु.एन ह्याबिटाटबीच सहमति भइ यो एमओयू गरेका छौं,’ सहमतिपत्रमा भनिएको छ । सहमतिपत्रमा सुकुम्बासीलाई लालपुर्जा दिने उल्लेख नभए पनि पहिचान र अभिलेख प्राप्त भएपछि स्थानीय तहले लालपुर्जा वितरण गर्न सक्निे बताइएको छ ।

कार्यक्रमअनुसार बेलकामा विभिन्न ऐलानी, पर्ती, वनलगायत सरकारी जग्गा आवाद गरी अव्यवस्थित किसिमले लामो समयदेखि बसोबास गरी आएका नागरिक र जग्गासँगग उनीहरुको अनौपचारिक भूसम्बन्धको पहिचान गरिने छ, त्यसको सत्यापन कायम भए अभिलेखन गरी लालपुर्जा दिने प्रक्रिया अघि बढाइने छ । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले भूमिहीन सुकुम्बासीले लालपुर्जा पाउने प्रक्रिया सुरु भएको बताए । ‘सहमतिमा लालपुर्जा दिने भन्ने उल्लेख नभए पनि यो कार्यक्रम भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिनकै लागि हो,’ मेयर थापाले भने ।

बेलकाबाटै सुरुवात
चार पक्षबीच भएको यो सहमतिसँगै अव्यवस्थित बसोबास समाधानमा आधुनिक कदम चाल्ने बेलका नगरपालिका पहिलो स्थानीय तह हुने भएको छ । किनकि, अव्यवस्थित बसोबासले उब्जाएका समस्या समाधानका लागि ‘फीट फर पर्पोज ल्यान्ड एड्मीनिस्ट्रेसन’ अन्तर्राष्ट्रिय स्तरमा अभ्यासमा रहेको विधि हो । नेपालमा अहिलेसम्म कुनै पनि स्थानीय तहमा यसको अभ्यास नगरिएको र बेलका नै पहिलो स्थानीय तह हुने भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज पौडेलले बताए ।

यो कार्यक्रम आ.व. २०७५/०७६ को असार मसान्तभित्र सम्पन्न गरिने सहमतिपत्रमा उल्लेख छ । यसको अन्तिम परिणाम, नक्सा डाटावेसलगायत अन्य अभिलेख नगरपालिकाको स्वामित्वमा रहने छन् । यी सबै कामका लागि लाग्ने खर्च सहमतिमा हस्ताक्षर गरेका निकायले आपसी समन्वयमा बेहोर्ने छन् ।

नगरप्रमुख थापाले लामो प्रयासपछि ऐतिहासिक कामको सुरुवात आफ्नो नगरपालिकाबाटै हुन लागेको बताए । ‘यो कार्यक्रमका लागि मैले लामो प्रयास गरेको थिएँ,’ उनले भने, ‘बेलकाका लागि मात्रै नभएर यो कार्यक्रम देशका अन्य स्थानीय तहका लागि पनि उपयोगि हुने विश्वास छ ।’

प्रकाशित समय १०:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु