fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ कर्णालीका कारागारमा पुस्तकालय : बदलिँदै सोच, फेरिँदै जीवनशैली

कर्णालीका कारागारमा पुस्तकालय : बदलिँदै सोच, फेरिँदै जीवनशैली

surkhet-karagar-newskarobar

सुर्खेत कारागारमा पुस्तकालय स्थापना भएको एक सातामै कैदी खगेन्द्र थापाले दुईवटा पुस्तक अध्ययन गरे । उनले निरन्तर पढेर कर्ण शाक्यको ‘खोज’ र बुद्धिसागरको ‘फिरफिरे’ सिध्याए ।

कारागारमा दिनभर अनेकन् नकारात्मक कुरा सोच्दै दिन बिताउने थापाका लागि कारागारको पुस्तकालय जीवन नै बदल्ने आधार बनेको छ । उनी दिनभर पढेर बिताउँछन् । उनले पुस्तकमा लेखकले दिन खोजेको सन्देशझैं जीवनमा अनेकौं उतारचढाव आइरहन्छन्, त्यसलाई चिर्दै अघि बढ्नु महानता हो भन्ने शिक्षा प्राप्त गरे र सोहीअनुरुप अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘पुस्तक नपढ्दा दिक्क लाग्थ्यो, दिनभर अनेक कुरा सोचेर बसिन्थ्यो,’ उनी भन्छन्, ‘जब पुस्तक पढ्दै गइयो, कतिबेला गहिराइमा डुबियो र पुस्तक पढेर सकियो पत्तै भएन ।’

पुस्तक धेरैले पढ्छन् । धेरैले पढ्दैनन् पनि । पढ्दैमा या नपढ्दैमा केही हुँदैन । जे हुन्छ, पुस्तकले दिन खोजेको सन्देश ग्रहण गर्न सक्ने क्षमता भए हुन्छ । कैदी थापामा त्यो क्षमता थियो र उनले पुस्तक पढेर धेरै पाइरहेका छन् । ‘मैले पुस्तक पढ्दै जाँदा मेरो सोच अझै बदलिएको छ र हौसला बढेको छ,’ उनी भन्छन्, ‘म मा आत्मविश्वास बढेको महसुस भएको छ ।’

अर्का कैदी शेरबहादुर पालले कवि नवराज बरालको कविता ‘सगरमाथाको गहिराइ’ अध्ययन गरे । कविता पढिसक्दा उनका कवि बन्ने साहस थपिएको छ । उनले कवि बन्ने अठोट गरेका छन् । कारागार कार्यालय सुर्खेतमा एक साताअघि शनिबार (चैत २३) मात्रै पुस्तकालय स्थापना भएको हो । तर, कैदीबन्दीहरुका मानसपटलमा भने वर्षौंदेखिको अनुभव स्थापित भएको छ । अप्रत्यासित रुपमा किताबप्रति उनीहरु मोहित देखिएका छन् ।

शनिबार (चैत ३०) कारागारलाई किताब अभियानका संयोजक महेशविक्रम शाह तथा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख वीरेन्द्रकुमार यादवसहितको टोलीले बुक क्लबका सदस्य एवं कैदीबन्दीसँग पुस्तक समीक्षा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा कारागारलाई किताब अभियानका संयोजक शाहले पुस्तक पढेर कारागारका कैदीबन्दीमा कस्तो परिवर्तन आयो र अझै कसरी अगाडि बढ्न सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका थिए ।

‘तर मैले यति छिट्टै कैदीबन्दीमा परिवर्तन आउला भन्ने सोचेको थिइनँ । पुस्तक पढेर उहाँहरुमा आएको परिवर्तन देखेर मलाई खुसी लाग्यो । एक हप्तामै उहाँहरुले पुस्तक पढेर राम्रो समीक्षा गर्नुभएको छ,’ उनले भने, ‘यसलाई निरन्तरता दिन जरुरी छ , जसले पुस्तक नपढ्नेहरुलाई पनि हौसला र ज्ञान आर्जन हुनेछ ।’

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख यादवले कारागारका कैदीबन्दीमा पुस्तक पढेर लेख्ने बानीको विकास हुन जरुरी भएको बताए । ‘कैदीका रचना पनि बाहिर ल्याउन जरुरी छ । त्यसका लागि कारागारबाटै मासिक बुलेटिन निकाल्न पहल गरिनेछ,’ उनले भने, ‘यसले कैदीमा सिर्जनात्मकता अभिवृद्धि हुनेछ ।’

कारागारलाई किताब अभियानका उपसंयोजक सुशीला श्रेष्ठले कैदीहरुले आफूलाई भेट्न आउने आफन्तसँग पनि अरु कुराभन्दा पुस्तक माग्नुपर्ने बताइन् । ‘तपाईंहरुलाई भेट्न आउने आफन्तले एउटामात्रै किताब वा कापी दिनुभयो भने पनि तपाईंले ज्ञान आर्जन गर्नुहुन्छ, जसले तपाईंको जीवन बदल्न सक्छ,’ उनले भनिन् ।

कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारमा चैत अन्तिम साता पुस्तकालय स्थापना भएको छ । पुस्तकालयका पुस्तक पढेर कैदीबन्दीले हरेक शनिबार पुस्तक समीक्षा कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । सोही अनुसार यो कार्यक्रम सञ्चालन भएको बुक क्लबका संयोजक धर्म बिकले जानकारी दिए ।

प्रकाशित समय १३:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु