fbpx
Nepal Mediciti

गृहपृष्ठ निर्मला हत्या प्रकरण : आरोपी ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

निर्मला हत्या प्रकरण : आरोपी ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

nirmala-panta-newskarobar

कञ्चनपुरको भीमदत्तनगरपालिका-२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी बिहीबार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई रु पाँच/पाँच लाख धरौटीमा रिहाइको आदेश गरेको छ ।

सो मुद्दामा अन्य प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी फरार रहेको जिल्ला अदालतले जनाएको छ । त्यसैगरी सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन प्रहरी नायब उपरीक्षक सेटी, प्रहरी निरीक्षकद्वय खड्का र जगदीशप्रसाद भट्टलाई पनि चार/चार लाख धरौटीमा रिहा गर्न आदेश दिइएको जिल्ला अदालतका डिठ्ठा रुद्रप्रसाद बोगटीले जानकारी दिए ।

त्यसैगरी उक्त सार्वजनिक न्याय कसूरविरुद्धको मुद्दाका प्रतिवादी तत्कालीन प्रहरी नायब निरीक्षक हरिसिंह धामीलाई तीन लाख ५० हजार र प्रहरी नायब निरीक्षक रामसिंह धामीलाई तीन लाख तथा प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजारमा धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवीले छोरीको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टसहित आठ प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । उक्त घटनामा प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्तनगरपालिका-१९ बाघफाँटाका दिलिपसिंह विष्टका दाजु खड्का विष्टले भाइ दिलीपलाई अनुसन्धानका क्रममा प्रहरी हिरासतमा यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित चार जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

‘अदालतमा अनुपस्थित रहेकाको सवालमा पनि कानूनी प्रक्रिया अघि बढेको छ ।’ जिल्ला अदालतका डिठ्ठा बोगटीले भने, ‘फरार प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन ३५ दिने सूचना जारीसमेत भइसकेको छ ।’ उनले आज बेलुकी ५ बजेसम्म धरौटी बुझाउन नसक्ने प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिने बताए । साथीका घरबाट गृहकार्य गरेर घर फर्किरहेकी पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो । (रासस)

प्रकाशित समय १६:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु