fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ मनमोहनमा स्मृति प्रतिष्ठानमा भरतमोहनका योगदानको सम्झना

मनमोहनमा स्मृति प्रतिष्ठानमा भरतमोहनका योगदानको सम्झना

मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन स्मृति पोलिटेक्नीक इन्स्टीच्यूटका अध्यक्षसमेत रहेका दिवंगत कम्युनिस्ट नेता भरतमोहन अधिकारीलाई मोरङको बुढीगंगा गाउँपालिका स्थित मनमोहन स्मृति पोलिटेक्नि इन्स्टीच्यूटमा सम्झना गरिएको छ ।

तेह्रौं दिनको पुण्य तिथिका अवसरमा बुढीगंगा गाउँपालिकास्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटमा स्वर्गीय अधिकारीको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिएको हो । श्रद्धाञ्जली कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नं. १ का ईन्चार्ज भीम आचार्यले नेपालको पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्री हुँदा अधिकारीले ल्याएको जनमुखी कार्यक्रमको चर्चा गरे ।

उनले देशका लागि दिवंगत नेता अधिकारीले ल्याएका कार्यक्रम महत्वपूर्ण र दूरगामी रहेको बताए । नेता आचार्यले अधिकारीले ल्याएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, आफ्नो गाउँ आफैं बनाउ जस्ता ९ ‘स’ कार्यक्रम अहिले पनि उत्तिकै लोकप्रिय रहेको बताए ।

उनले सीमान्तकृत तथा आदिवासी जनजातीको बसोबास रहेको क्षेत्रमा प्राविधिक शिक्षालयमार्फत बेरोजगारी समस्या न्यूनिकरण गर्ने अधिकारीको सोच र पहलकदमीका कारण मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटको स्थापना भएको बताए ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले बामपन्थी पार्टीहरु एक ढिक्का हुन स्वर्गीय अधिकारीले ठुलो योगदान गरेको चर्चा गर्दै देशले अभिभावक गुमाएको आभाष भएको बताए । उनले राजनितिक जिवनमा स्वर्गीय अधिकारी जस्तो निस्कलंक नेता पाउन नसकिने बताउँदै देश र जनताका लागि गरेको योगदान सदैव अविष्मरणीय रहने बताए ।

कार्यक्रममा १ नं. प्रदेशसभाका सदस्य कुलश लिम्बूले पूर्वएमाले र पूर्वमाओवादीलाई एक ठाउँमा ल्याउन पनि स्वर्गीय नेता अधिकारीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले संविधान निर्माणमा समेत विभिन्न समितिहरूमा रहेर अधिकारीले महत्वपूर्ण अभिभावकको भूमिका निर्वाह गरेको बताए ।

सो अवसरमा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका प्राचार्य डा. शुभाषश्री पोखरेलले सो कलेजले आफ्नो अभिभावक गुमाएको बताए । उनले सो कलेजलाई प्राविधिक विश्व विद्यालय बनेको हेर्ने अधिकारीको इच्छा र चाहना भएकाले अब त्यो चाँडै पूरा हुने चरणमा रहेको बताए ।

उनले स्वर्गीय अधिकारीले देशको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सवै क्षेत्रमा गरेको योगदान र जीवनीमा आधारित पुस्तक निकट भविष्यमा नै प्रकाशनमा ल्याउने बताए ।

मनमोहन स्मृति प्रतिष्ठानका सदस्य तथा पोलिटेक्निक इन्स्टीच्युटका सूचना प्रमुख सत्यनारायण चौधरीले अधिकारीकै अगुवाइ र पहल कदमीका कारण कलेज स्थापना हुन सकेको बताए । उनले अधिकारीले सो कलेजका विषयमा विशेष चासो राख्दै आएको र प्राविधिक विश्वविद्यालय रुपमा विकास गर्न पहल गरेको समेत बताए ।

कार्यक्रममा प्रदेशसभाका सदस्य यसोदा अधिकारी, स्थानीय युवा नेता ईश्वरी आचार्य, स्थानीय अगुवा कृष्ण केसी, उद्योग संगठन मोरङका सदस्य सुबोध कोइराला लगायतले पनि स्वर्गीय अधिकारीको योगदानका विषयमा चर्चा गरेका थिए ।

श्रद्धान्जलीसभामा प्रदेशसभाका सदस्यहरु सावित्रा रेग्मी, यसोदा अधिकारी लिलाबल्लभ अधिकारी, विभिन्न राजनितिक दलका नेताहरु स्थानीय समाजसेवी बुद्धिजिवी शिक्षक, अभिभावक स्वर्गीय अधिकारीको फाटोमा माल्यार्पण गरेका थिए ।

प्रकाशित समय १५:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु