fbpx
Nepal Mediciti

गृहपृष्ठ अख्तियारले वर्ष उद्घाटनको खर्च विवरण मागेको ९ दिन पुग्यो, चैत ५ सम्म बुझाउनुपर्ने

अख्तियारले वर्ष उद्घाटनको खर्च विवरण मागेको ९ दिन पुग्यो, चैत ५ सम्म बुझाउनुपर्ने

ciaa_surkhet

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतले रारा पर्यटन वर्षको उद्घाटन खर्च विवरण मागेको नौ दिनसम्म पनि जवाफ पाउने छाँट देखिएको छैन । गत २० गते अख्तियारले १५ दिनको म्याद राखि पत्र काटे पनि अहिलेसम्म जवाफ नआएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।

उनले भने, ‘हामीहरुले मिडियामा समाचार आएपछि खर्चको विवरण पेश गर्न सम्बन्धित मन्त्रालयहरुलाई पत्र काटेका छौं । आज पत्र काटेको नौ दिन भयो अहिले सम्म कुनै जवाफ आएको छैन ।’ कार्यालयले दिएको म्याद अझै बाँकी भएकोले आउँछ कि भन्ने आशामा भएको सापकोटाले बताए ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयलाई पत्र पठाइएको छ ।

पत्र प्राप्त भएको १५ दिनभित्र खर्च विवरण पेस गर्न निर्देशन गरिएको सूचना अधिकारी सापकोटाले जनाए ।

यसअनुसार मन्त्रालयहरुले ढिलोमा चैत ५ गतेसम्म अख्तियारको सुर्खेतस्थित कार्यालयमा खर्च विवरण पठाईसक्नुपर्ने छ ।

अख्तियारको कार्यालयले कार्यक्रम व्यवस्थापनको जिम्मा पाएको जिल्ला समन्वय समिति मुगुलाई समेत  पत्र पठाएको  जानकारी सूचना अधिकारी सापकोटाले बताए ।

कर्णाली प्रदेशको संसद्को सार्वजनिक लेखा समितिले ६ महिना लगाएर गरेको अध्ययनका क्रममा रारा-कर्णाली पर्यटन वर्षको उद्घाटन कार्यक्रममा अनियमित रुपमा खर्च भएको खुलेको हो ।

पर्यटन वर्षको उद्घाटन कार्यक्रमका लागि प्रदेशका विभिन्न मन्त्रालय तथा निकायहरुलाई ४६ लाख रुपैयाँ खर्च गर्नेगरी अख्तियारी दिइएको थियो । तर, मन्त्रालयहरुले लागत अनुमान विनै सार्वजनिक खरिद ऐनविपरित करिब दोब्बर रकम खर्च गरेको लेखा समितिले ठहर गरेको छ ।

उपसमितिले गरेको अध्ययनको प्रतिवेदन र प्रदेश लेखा नियन्त्रकको कार्यालयले दिएको खर्चको प्रतिवेदनका आधारमा सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को आधारमा खर्च गरेको नपाइएकोले अनियमितता ठहर भएको सार्वजनिक लेखा समितिका अध्यक्ष सांसद् दीनबन्धु श्रेष्ठले बताए ।

उनका अनुसार कतिपय मन्त्रालयहरुले तोकिएको खर्च सीमाभन्दा झण्डै दोब्बर रकम आर्थिक नियम र प्रक्रियाविपरित खर्च गरेका छन् ।

प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षको उद्घघाटन कार्यक्रममा ४९ लाख ४१ हजार ७९५ रुपैयाँ खर्च भएको सदनमा जानकारी गराएका थिए ।

तर, मन्त्रालयहरुले अध्ययन उपसमितिलाई बुझाएको खर्च विवरणमा ७८ लाख १४ हजार ६ सय ६८ रुपैयाँ ५६ पैसा उल्लेख छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा पनि छुट्टाछुट्टै खर्च विवरण उल्लेख गरिएको छ । मेहालेखा परीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९७३ रुपैयाँ ७९ पैसा र ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च भएको छुट्टाछुट्टै विवरण छ । महालेखा परीक्षकको प्रतिवेदनमा ९ लाख २ हजार ८७७ रुपैयाँ फरक परेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्रीले सदनमा पेश गरेको खर्च विवरण ४९ लाख ४१ हजार ७९५ रुपैयाँ नै पर्यटन वर्षको उद्घाटनमा भएको आधिकारिक खर्च मान्न सकिने समितिले निश्कर्ष निकालेको छ ।

अख्तियार अनुसन्धान आयोगको कार्यालयले पठाएको पत्र अनुसार मन्त्रालयहरुले खर्च विवरण पेश गरेमा त्यसको अध्ययन गरेर आवश्यक प्रक्रिया अगाडि बढाइने आयोगको सुर्खेतस्थित कार्यालयका प्रमुख ज्ञानराज सुवेदीले बताए ।

सञ्चारमाध्यममा आएका समाचारहरुलाई आधार बनाएर अख्तियारले चासो राखेको प्रमुख सुवेदीले बताए । उनले भने ‘खर्च विवरण पेश गर्न मन्त्रालयहरुलाई चिठी पठाएका छौं । विवरण आउनेवित्तिकै त्यसको अध्ययन गरेर छानबिन गर्नुपर्ने देखिएमा प्रारम्भिक अनुसन्धान शुरु गर्छौं ।’

प्राप्त विवरणको अध्ययनपछि अनियमितता ठहर भएमा विस्तृत अनुसन्धानमा जाने उनले जानकारी दिए । लेखा समितिको प्रतिवेदन पाएको खण्डमा अनुसन्धान प्रक्रिया अझ सहज हुने उनले बताए ।

लेखा समितिले भने हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा सचिवालयमा मात्र प्रतिवेदन बुझाएको छ । लेखा समितिका अध्यक्ष सांसद् दिनबन्धु श्रेष्ठले सरकारको निर्णय कुरेको बताएका छन् ।

समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारले गरेको निर्णयका आधारमा अघि बढ्ने उनले बताए ।

प्रकाशित समय १६:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु