गृहपृष्ठ दिल्ली विधानसभाकी सदस्य अल्का लाम्बाको आपत्तिजनक अभिव्यक्ती- चौकिदार त नेपालबाट मगाउन सकिन्छ

दिल्ली विधानसभाकी सदस्य अल्का लाम्बाको आपत्तिजनक अभिव्यक्ती- चौकिदार त नेपालबाट मगाउन सकिन्छ

alka_lamba

आम आदमी पार्टीका तर्फबाट दिल्ली विधानसभा सदस्य अल्का लम्बाले नेपालीप्रति आपत्तिजनक अभिव्यक्ति दिएको छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कटाक्ष गर्न लम्बाले नेपालीप्रति यस्तो अभिव्यक्ति दिएकी हुन् ।

लम्बाले ट्वीट गर्दै भनेकी छिन्, ‘प्रिय, भारतवासी, यो पटक प्रधानमन्त्री नै चुन्नुहोला । चौकिदार त नेपालबाट पनि मगाउन पनि सकिन्छ । नेपालका चौकिदार चोर हुँदैनन् ।’


लम्बाको उक्त ट्वीटको कडा आलोचना भइरहेको छ ।

यद्यपी कुनै एक राष्ट्रको विधानसभा सदस्यले अर्को राष्ट्रका नागरिकको मानमर्दन हुने गरी अभिव्यक्ति दिनुलाई उचित मानिँदैन । भारतमा निवर्वाचन नजिकिँदो छ । यस्तो अवस्थामा विपक्षीलाई कम देखाउने बहानामा अर्को राष्ट्रको गरिमामा चोट पुर्याउने कार्य उचित होइन ।

आफ्नो ट्वीटको चर्को आलोचना भएपछि लम्बाले पुनः अर्को ट्वीट गरेकी छिन् । जसमा उनले चौकिदार अपमानजनक शब्द नभएको प्रष्टिकरण दिएकी छिन् । लम्बाले यस ट्वीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो शब्दलाई अपमानजनक तुल्याएको तर वास्तविकता त्यस्तो नभएको स्पष्टीकरण दिएकी छिन् ।

केही समय पहिले भारतीय प्रधानमन्त्री मोदीले आफू भारतको चौकिदार भएको अभिव्यक्ति दिएका थिए । लम्बाको ट्वीट त्यसैप्रति लक्षित छ । तर, चौकिदार नेपालबाट मगाउन सकिन्छ भन्नु आपत्तिजनक रहेको प्रतिक्रिया उनको ट्वीटका रिप्लाइमा देख्न सकिन्छ ।

लम्बाले दोस्रो ट्वीटमा भनेकी छिन्, ‘हाम्रो देशका प्रधानमन्त्रीले जबदेखि आफूलाई चौकिदार भन्न थाल्नुभयो तबदेखि नेपालीहरूलाई चौकिदार शब्द गाली जस्तो लाग्न थाल्यो । तर, चौकिदार शब्दमा एक विश्वास-भरोसा लुकेको हुन्छ । त्यत्तिकै कसैले पनि आफ्नो सबैथोक कसैलाई सुम्पेर आरामले निदाउँन सक्दैन । फर्जी नेपालीले मात्र भक्तले बोल्ने भाषा बोल्न सक्छन् । चिन्ता छैन ।’


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई चौकिदार बताएपछि भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले चौकिदार नै चोर भएको टिप्पणी गरेका थिए । लम्बा सन् २०१५ मा दिल्लीमा भएको विधानसभा निर्वाचनमा आम आदमी पार्टीको तर्फबाट निर्वाचित भएकी थिइन् । दिल्लीमा अहिले आम आदमी पार्टीको सरकार छ । अरविन्द केजरीवाल दिल्लीका मुख्यमन्त्री छन् ।

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु