गृहपृष्ठ बेलका, विकास र समृद्धिको सपना   

बेलका, विकास र समृद्धिको सपना   

#nawarajkunwar

सप्तकोशी जहाँ केही वर्ष अघिसम्म काठे डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो । आसपासको त्यही ज्यानमारा बाटो जहाँ ‘खटेरा’ सुमोले कहाँ पुर्याएर लडाउला भन्ने त्रास लिएर हिँड्नुपथ्र्यो । कोशीमा पटक–पटक डुंगा दुर्घटना हुँदा दर्जन बढी मानिसले ज्यान गुमाउनुपर्यो भने सडकको दूरावस्थाले कैयौंको ज्यान गयो । कतिले दुर्घटनामा परी ज्यान गुमाए त कतिले विरामी हुँदा समयमै उपचार गराउन नपाएर मर्नुपर्यो । ०७० सालसम्म त खासगरी उदयपुरको बसाहासम्मका नागरिकको जीवनस्तर र शैली नाजुक थियो । तर, हिजोआज परिस्थिति फेरिएको छ । केही वर्षयता काठे डुंगा इतिहास बन्न पुगेको छ भने चिल्लो सडकमा चिल्ला र नयाँ गाडी बाक्लो संख्यामा कुद्न थालेका छन् । मानिसहरुको जीवनशैली फेरिएको छ ।

 

पूर्वपश्चिम लोकमार्गको विकल्पका रुपमा सप्तरीको रुपनगरबाट उदयपुरको बेलका नगरपालिका, सुनसरीको चतरा हुँदै कान्छिचोकसम्मको सडक राज्यको प्राथमिकतामा परेपछि कोशी आसपासका क्षेत्रमा विकासले गति लिएको छ । सप्तकोशीमा केही वर्षअघि नै पूल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । सप्तरीको कन्चनरुपदेखि उदयपुरको बेलका नगरपालिका हुँदै सुनसरीको नहडासम्म बाटो पक्की भइसकेको छ भने पश्चिममा रुपनगर र पूर्वमा कान्छिचोकपट्टी सडक पक्की गर्ने क्रम जारी छ ।

 

सडक र पुल नबन्दासम्म उदयपुरको तत्कालीन मैनामैनी गाविस, कटुञ्जेबबला गाविस र ठोक्शिला गाविसका नागरिक आफूलाई कालापानीको बासिन्दा भन्थे । हुन पनि उनीहरुले सडक र पुलको अभावमा सार्है दुख झेलेका छन् । ‘धेरै टाढा किन जाने ? आजभन्दा पाँच वर्ष अघिसम्म तत्कालै उपचार आवश्यक पर्ने गरी कोही बिरामी भयो भने उसँग मर्न तयार हुनेबाहेक अरु विकल्प नै हुँदैन थियो,’ स्थानीय रुद्रप्रसाद आचार्य सम्झन्छन्, ‘उपचारका लागि सप्तरी लगौं भने पाँच/सात वटा खोला, खाल्डैखाल्डो भएको बाटो छ, सुनसरी लगौं भने खोलामात्रै हो र ? देशकै ठूलो नदी सप्तकोशी जहाँ काठे डुंगामा पनि पालो कुरेर बस्नुपर्थ्याे ।’

 

२०६९ सालमा सर्पले तत्कालीन ठोक्शिला २ कि कुमारी नेपालीलाई विहान ४ बजे घरमै सर्पले डस्यो । उनका आफन्त एम्बुलेन्स बोलाउन दौडिए । एम्बुलेन्स बिग्रिएको थियो । ट्याक्सी खोज्न थाले । भएका दुई/तीन वटा सुमोमा एउटा रिजर्भ गएको थियो । दुइटा बिग्रिएका थिए । बर्खायाम भएकाले मोटरसाइकलमा लैजान सम्भव थिएन । बोकेर लैजान समय कम थियो । सवारी खोज्दाखोज्दै ८ बज्यो । फोनबाट बेल्टारको एम्बुलेन्स बोलाइयो । त्यो आइपुग्दा बिहान साढे ९ भयो । बेहोस अवस्थामा रहेकी कुमारीलाई रामपुरबाट सप्तरीको फत्तेपुर, कञ्चनरुप हुँदै धरानका लागि लिएर एम्बुलेन्स हिँड्यो । दूरी कम भए पनि पूर्वतिरबाट लैजान असम्भव थियो । किनकि, त्यहाँ विशाल सप्तकोशी नदी छ । त्यहाँसम्म पुर्याएर डुंगामा राखेर पारीपट्टी फेरि अर्को गाडी रिजर्भ गर्दा समय निकै लाग्थ्यो । त्यसका लागि कुमारीका आफन्तसँग समय थिएन । त्यसैले घुमाउरो बाटो प्रयोग गर्न बाध्य थिए । बिहान ४ बजे सर्पले डसेकी कुमारीले बिहान ११ बजेसम्म सहिन् । त्यसपछि प्राण त्यागिन् । उनलाई अस्पतालसम्म पुर्याउन परिवारजन असफल भए । त्यसबेलाको यो घटना प्रतिनिधिमूलक मात्र हो । यस्ता कैयौं घटना छन् जुन सडक र पुलको अभावमा बबला, मैनामैनी र रामपुर ठोक्शिलाबासीले झेलेका छन् ।

 

२०६७ साल भदौमा कोशी बाँध फुट्नु र भारदह पुलको आयु समाप्त भएको लामो समय हुनुले पूर्वपश्चिम लोकमार्गको विकल्प खोज्न सरकारलाई बाध्य पार्यो । जसले गर्दा कालापानीका बासीले आज विकास महशुस गर्न पाएका छन् । ‘विश्वास नै थिएन, यति छोटो समयमा हाम्रो ठाउँ यति विकास होला,’ मैनामनीका हरिकुमार राईले भने, ‘अहिले त मैनामैनी, बबला, रामपुर ठोक्शिला र तपेश्वरी मिलेर बेलका नगर भएको छ, हाम्रो नगर ठूलो पनि भयो र विकासको गतिमा लम्किदै छ, यो देखेर हामी वास्तवमै खुसी छौं ।’

 

काठे डुंगा चल्ने सप्तकोशीमा अहिले जेटबोट चलिरहेको छ । अब उपचारका लागि मात्रै होइन, घुमघामका लागि पहाडतिर जान्छु भन्नेलाई उक्त जेटबोटले २० मिनेटमै धनकुटा, भोजपुर पुर्याइदिन्छ । बेलका र सुनसरीको बराहक्षेत्रलाई जोडेर पुल निर्माण गरिएको छ । सडक कालोपत्रे भएको छ । जसले गर्दा कुनै बेला पाँच घण्टा लाग्ने धरान इटहरीको दूरी अब केवल डेड घण्टामा झरेको छ । स्थानीय उत्पादन पूर्वको ठूलो बजार मानिने धरान, इटहरी, विराटनगरसम्म पुर्याउन सम्भव छ भने काठमाडौंसम्म पनि पठाउन सकिन्छ । जग्गाको मूल्य बढेको छ । व्यवसायिक बृद्धि भएको छ । अहिले सर्पदंश केन्द्र रामपुरमै स्थापना गरिएको छ । भएको स्वास्थ्य चौकीको संरचनागत तथा व्यवस्थापकीय सुधारको क्रम जारी छ । बेलकामै क्याम्पस छ ।

 

बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापा स्थानीय उत्पादन बढाउन सके विकासले गति लिने बताउँछन् । ‘हामीले बाटोमात्र पाएका छौं, अब विकासमा सघाउने पालो हाम्रो हो,’ उनी भन्छन्, ‘त्यसैले मैले उत्पादनमूलक क्षेत्रलाई यहाँ उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छु ।’ उनले ‘उत्पादनमा मेरो साथ बस्दिनँ म खाली हात’ भन्ने नाराका साथ कृषि र उत्पादनमूलक कामलाई प्रोत्साहन गरिरहेका छन् ।

 

हिजो कालापानीको सूचीमा रहेको बेलका नगरपालिकाको क्षेत्र अब सम्भावनाको उच्च कोटीमा छ । अन्य क्षेत्रका मानिसहरु आएर यहाँ लगानी गर्न खोजिरहेका छन् जसले गर्दा जग्गाको मूल्य आकाशिएको छ । कोशी पुल आसपासका डाँडापाखा भाडामा माग्दा पनि पाइँदैन । टप्पुको खेर गएको जमिन सदुपयोग गर्न नगरपालिकाले योजना बनाएर काम गरिरहेको छ ।

 

यो विकासलाई गतिशील बनाउन अब स्थानीय सरकारको काँधमा ठूलो जिम्मेवारी छ । स्थानीय उत्पादन, रोजगारी बढाउने काममा स्थानीय सरकार चनाखो हुनुपर्ने देखिन्छ । विदेशिएका युवालाई फर्काएर उत्पादनमूलक काममा लगाउन सक्ने खालको नीति नगरले लिन सक्नुपर्छ । प्रयोगमा नआएका सरकारी तथा वनको जमिन भविष्यमा दुरुपयोग नहुने गरी प्रयोगमा ल्याउनुपर्छ । पूर्व भूभागमा पर्यटनको सम्भावना निकै देखिन्छ । त्यसलाई यथार्थमा बदल्ने गरी काम गर्नुपर्छ ।

 

अहिले बेलकाबाट विभिन्न उद्देश्यले काठमाडौंमा बसोबास गर्ने युवाहरुले काठमाडौंमा बेलका विकास समाज (बड्स) नामको संस्था स्थापना गरेका छन् जुन संस्थाले नगरपालिका र केन्द्रबीच पुलको काम गर्ने उद्देश्य लिएको छ । यसको अर्थ बेलका बाहिर रहेर पनि नगरको आर्थिक समृद्धिका लागि युवाहरु सक्रिय देखिएका छन् । उनीहरुसँग नगरले प्रभावकारी रुपमा समन्वय गर्ने प्रतिबद्धता पनि जनाएको छ । बेलका नगरभित्र प्रत्येक वडाका युवालाई पनि विभिन्न जिम्मेवारी दिएर नगरले परिचालन गर्न सके समृद्धिको यात्रामा सहयोग पुग्ने छ । आधारभूत पूर्वाधार प्राप्त भएको अवसरलाई नगरले भरपुर सदुपयोग गर्न सक्नुपर्छ । बेलकामा एग्रोटुरिजमको सम्भावना भएका ठाउँको पहिचान गरी सोहीअनुसारको योजना निर्माण गरी काम गर्नुपर्ने आवश्यकता छ । हिजो उपचार नपाएर मर्नुपर्ने अवस्था गुजारेका बेलकाबासीले आज पक्की सडक र ठूल्ठूला पुल प्रयोग गर्न पाएका छन् । त्यतिमात्रै होइन, हिउँदभरी जेटबोटबाट पूर्वपहाडका केही जिल्लासम्म जलयात्रा गर्ने अवसर पनि पाएका छन् । बरु उक्त जेटबोटको प्राविधिक जाँच र मानवीय सुरक्षाको ग्यारेन्टीमा बराहक्षेत्र र बेलका नगरले ध्यान पुर्याउन जरुरी छ । अब बेलकाको पहिचान र आन्तरिक विकासमा सबैको ध्यान जाओस् ।

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु