विवाहमा जति सक्यो धेरै खर्च, धेरै तामझाम र सवारी साधानको लर्काे लगाएर बेहुली लिन जाने संस्कार नेपाली समाजमा व्यापक बढीरहेको छ । देखाउनकै लागि पनि बिहेलाई तामझाम बनाउन साहु ऋण गर्ने चलन उत्तिकै छ । तर तनहुँको व्यास नगरपालिका-१० कुमलटारीका २६ बर्षीय विनोद सापकोटाको विवाहमा दृश्य फरक देखियो ।
चट्ट कोट-पाइन्ट, दुबोको मालामा ठाँटिएको बेहुला । बेहुलासहित अन्य ६ जना साथीहरु । साइकलमै चढेर बेहुली लिन निस्किए ।
घरभन्दा करिब ६ किलोमिटर परको एक होटलमा बेहुली पक्ष बेहुला र जन्तीको स्वागतका लागि पर्खिरहेका थिए । साइकलमा सवार बेहुलासहितको जन्ती देखेर केहीबेर सबै अचम्मित परे । सजिलो 'नयाँ आइडिया' भन्दै सबैले साइकल जन्तीलाई स्वागत गरे ।
बिहेको विधि सकिएपछि बेहुलाले बेहुली संगीता भुजेललाई पनि साइकलमै चढाएर घर ल्याए ।
मितव्ययी तरिकाले विवाह गर्नुपर्छ र पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन साइकलमै विहे गरेको बेहुला सापकाेटाले बताए । उनको यही सोचलाई साथ दिँदै साथीहरू पनि साइकलमै जन्ती गएका हुन् ।