आज जनकपुरधाम आउन लागेको भारत नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’लाई मधेसका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने भएका छन् ।
रेल मंगलबार साँझ करिब ७ बजे नयाँ दिल्लीबाट जनकपुरधामका लागि छुटेको थियो । उक्त रेल आज जनकपुरधाम आइपुग्नेछ । जनकपुरधामस्थित रेल्वे स्टेशनमा मुख्यमन्त्री राउतले दिउँसो १ बजे भव्य स्वागत गर्नेछन् । स्वागत समारोहमा उपस्थितिका लागि जनकपुरधामबासीलाई अपिल गरिएको छ ।
भारतका केन्द्रीय पर्यटन, संस्कृति मन्त्री किशन रेड्डी र रेल मन्त्री अश्विनी वैष्णवले हरियो झण्डा देखाएपछि दिल्ली स्टेशनबाट जनकपुरधामका लागि रेल छुटेको थियो । सयौं पर्यटक बोकेको उक्त रेल तेस्रो दिन जनकपुरधाम आइपुग्न लागेको हो ।
रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी ९नासिक०, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधाममा अवस्थित धार्मिक क्षेत्रलाई जोड्नेछ ।
रेलमा १४ बोगी (डिब्बा) छन् । केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका तस्बीर देख्न सकिन्छ । ६ नम्बर डिब्बामा रामजानकी मन्दिर निर्माण गरिएको छ ।