Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

‘चोरको स्वर’ : सिंगो समाजको अनेक कथा

भीम देवान काठमाडौं असार ८, २०७९       

jeewan-bima-jaruri-chha ‘चोरको स्वर’ : सिंगो समाजको अनेक कथा

लिम्बु समुदायमा अधिकांश गाउँको नाम र त्यहाँ बसोवास गर्ने लिम्बुहरुको थर एकै हुन्छ । ती गाउँ उनीहरुको खास मूलभूमि पनि हो । बसाइसराई वा अन्य विविध कारणले सबैमा यही कुरा लागू नहोला । तथापि लिम्बुवान क्षेत्र र त्यहाँका रीतिथितिका थोरबहुत जानकारले बुझ्ने यही हो ।

नयाँ बानेश्वरको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘चोरको स्वर’मा भनिएका शेर्मा गाउँ र चेम्जोङ गाउँ लिम्बु गाउँहरु हुन् । यी दुवै गाउँको नाम लिम्बु थरबाटै राखिएका छन् । नाटकको प्रस्तुतिअनुसार ‘आपआपुंगी’कालकै हाइफाइ छ यी गाउँका वासिन्दाहरुमा । ‘कोभन्दा को कम’ पाराको । लिम्बुवान क्षेत्रवासी वा त्यहाँका जानकारहरु जोकोहीले नाटक हेरिसकेपछि यसको अनुमान लगाउन सक्छन् ।

‘आपआपुंगी’कालकै हाइफाइ नहुँदो हो त संस्कारगत जमघटहरुमा त्यतिका रस्साकस्सी नहुनु पर्ने हो । अझ उनीहरुमा आ-आफ्नो कुल वंशप्रति अलि बढी नै घमण्ड छ । त्यही र त एकले अर्कालाई बेस्सरी होच्याउँछन् । अनाहकमा झ्वाँक निकाल्छन् । सानोतिनो असन्तुष्टिमा छलफल गर्नुको सट्टा सिधै खुकुरी नचाउँछन् । यी सबै स्वभाव र शैलीहरु नाटकले भनिरहेको कथाको समयसँग दुरुस्त छ । ब्रोसरमा भनिएको छ, ‘उहिलेभन्दा साह्रै उहिले पनि होइन । साह्रै अहिले पनि होइन । त्यही उहिले र अहिलेको बिचको समयको कुरा हो ।’ नाटकले ठ्याक्कै यही बिचको समयको कथा बोलिरहेको कुरा माथि भनिएझैं लिम्बुवान क्षेत्रवासी वा त्यहाँका जानकारहरुले ठम्याउँछन् ।

चेम्जोङ गाउँको युवकले शेर्मा गाउँको युवती भगाएपछि सुरु हुन्छ नाटकको कथा । त्यसपछि ‘चेम्जोङे’हरु चोरको स्वर बुझाउन जान्छन् । अनेक गलाफती हुन्छ । पुराना कुरा निकालिन्छ, चर्काचर्की हुन्छ । पछि कुरा मिल्छ । अनि रीत लैजान्छन् । केटीको घरमा धुमधाम विवाह गरिन्छ । विवाह सकिएपछि रीत पुर्‍याउन गएका बेहुला पक्षकाहरु फर्किन्छन् । करिब डेढ घण्टाको अवधिमा नाटकले भन्ने कथाको सार यही हो ।

सार यतिमात्र भए पनि निकै मेहनतपुर्वक बनाइएको मञ्चको सेटमा कलाकारहरुको उम्दा अभिनयमार्फत नाटकले लिम्बु जनजीवन, लिम्बु रीतिथिति र संस्कृतिका बारेमा थुप्रै मिहीन कुराहरु भनेको छ । हाल भद्दाझैं लाग्ने कतिपय संवादहरु प्रस्तुत समाज र समयका स्वभाविक हुन् । नाटकमा प्रस्तुत भएका कतिपय शैली वा वस्तुहरु हाल प्रचलनमा नहोलान्, हराइसके वा परिवर्तन भइसके । तर त्यसलाई देखे/भोगेकाहरुलाई नाटकले ‘नोस्टाल्जिक’ बनाइदिन्छ, नयाँ पुस्तालाई कौतुहलता उब्जाइदिन्छ । ‘बिचको समय’को कथा भनेर नाटकले यो एउटा गज्जब गरेको छ ।

यसका साथै पारिवार र समाजका विविध पाटो र मनोवृत्तिहरु देखाएर नाटकले उ बेलाका सामाजिक अवस्थाको उजागर गरेको छ । जुन लिम्बु समुदायको मात्र होइन, सि‌गाे समुदायको प्रतिनिधि हो । नाटकमा व्यक्त प्रेम-विरह सबै समुदायको साझा हो । पात्रहरुका भिन्न-भिन्न खाले स्वभावले हरसमुदायलाई प्रतिविम्वित र प्रतिनिधित्व गर्छ । यस्तै विविध कारणबाट नाटकले भन्ने कथाकाे समष्टिगत सार सिंगाे समाजकाे साझा बनेकाे छ । नाटकले सिंगाे समाजकाे दुख-सुख, हाँसाे-राेदन, आक्राेशलगायत मानवीय संवेदनाका अनेक कथा भनेकाे छ ।

आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटकको कथा नवीन चौहानले लेखेका हुन् । यसको परिकल्पना तथा निर्देशन अनिल सुब्बा र अन्वेश राई थुलुङले गरेका छन् । यसमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङहाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

‘चोरको स्वर’ले मनोरञ्जनपूर्ण खुराक दिएको मात्र छैन, आँखा खोलिदिएको र घच्घच्याएको पनि छ- सीमित समय अवधिभित्र एउटा नाटकले यसरी कुनै पनि समुदायको संस्कारलाई सशक्त र रोचक तरिकाले प्रस्तुत गर्न सकिँदोरहेछ भनेर । जुन प्रस्तुति समाजका जोकोहीले रुचाउने रहेछ भनेर । र, भन्न बाँकी यस्ता कैयन् कथाहरु, जो समाजमै छन्, थिएटरले पर्खिरहेछ, दर्शकले स्वीकार्ने निश्चित छ, ति सबैलाई पनि नाटककर्मीहरुले पालो दिनुपर्छ- चोरको स्वरले घच्घच्याएको छ ।

सम्बन्धित खबरहरु