बुद्ध एयरले वायुसेवा सञ्चालक संघले घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागेको छ । आन्तरिक समस्या समाधान गर्नका लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको बुद्ध एयरले उल्लेख गरेको छ ।
आउँदा दिनमा आफ्नो कारणले उडान सेवा अवरुद्ध नगर्ने बुद्ध एयरले प्रण गरेको छ । बुधबार जारी विज्ञप्तिमा बुद्ध एयरले 'वायुसेवा कम्पनी यात्रुहरूको पारवहान सुविधा र कर्मचारीको जीविकोपार्जन थलो हो । हाम्रो आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित निर्णय होइन । यसको आत्मआलोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछाैं' भनेकाे छ ।
'हाल काठमाडौं विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाज छन् । यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुन्छ । धेरै अगाडिको अध्ययन र मूल्यांकनमा पार्किङ क्षेत्रमा १७ वटा जहाजको क्षमता रहेको देखाइएको छ,' विज्ञप्तिमा भनिएकाे छ, 'यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवालाई त्यसभन्दा बढी जहाज काठमाडौंबाहिर रात्रि विसान गर्न निर्देशन दिएको हो । आजको परिस्थितिमा त्यस पार्किङ थलो सुधार भएको छ र अहिले १७ वटाभन्दा बढी जहाज रात्रि बिसान हुने अवस्था छ ।'
नागरिक उड्डयन प्राधिकरणले सोहीअनुरुप काठमाडौंमा रात्रि बिसान हुने जहाजहरुको संख्या बढाउने आश्वासन प्राप्त भएको पनि बुद्ध एयरले उल्लेख गरेकाे छ । यसले नेपाली यात्रुलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुने कम्पनीले विश्वास व्यक्त गरेकाे छ ।