Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित

न्युज कारोबार हेटौँडा असार २, २०७९       

jeewan-bima-jaruri-chha जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित

जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन् । हेटौँडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्ष घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन् ।

वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी भएका हुन् । 

घलानले १७ मत प्राप्त गर्दा डिमडुङले ३ मत मात्र प्राप्त गरेका थिए । समन्वय समिति उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा लुइटेलको मात्र उम्मेदवारी परेको थियो । 

महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित हुँदा एमालेका बिनाकुमारी थिङ लामाले (३ मत) ल्याएकी थिइन् ।

दलित सदस्यमा नेकपा (एकीकृत समाजवादी) का सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित भएकी छन् । दलित समस्यमा उनको मात्रै उम्मेदवारी परेको थियो । 

खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका वीरेन्द्रकुमार लामा (१६ मत), नेकपा (माओवादी केन्द्र)बाट खड्कबहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) विजयी हुँदा एमालेका तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका थिए । 

वडा अध्यक्ष जितेका घलान समन्वय समितिको प्रमुखमा गएसँगै हेटौँडा उपमहानगरपालिकामा माओवादी वडा अध्यक्षविहीन भएको छ । १९ वडा रहेको उपमहानगरमा माओवादीले एउटा मात्रै वडा जितेको थियो ।

सम्बन्धित खबरहरु