Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

साठी जनाको आँखाको शल्यक्रिया

न्युज कारोबार मनाङ जेठ १२, २०७९       

jeewan-bima-jaruri-chha साठी जनाको आँखाको शल्यक्रिया

हिमाली जिल्ला मनाङका ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ । तेजकोलिन एन्ड रोहित फाउन्डेसन र  जिल्लास्थित सामुदायिक  आँखा अस्पतालको आयोजनामा सदरमुकाम चामेमा सञ्चालित शिविरमा ६० जनाको शल्यक्रिया गरिएको हो । 

विकट क्षेत्रका यहाँका बासिन्दालाई आँखाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको तिलगंगा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत खेम लामाले बताए । उनका अनुसार विकट तथा ग्रामीण क्षेत्रका बालबालिका र ज्येष्ठ नागरिकलाई  आँखाको उपचारका लागि सम्बन्धित स्थलसम्म पुग्न कठिन भएकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गरिएको हो । 

तिलगंगा अस्पतालका नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतको संयोजकत्वमा आठ चकित्सक टोलीले शल्यक्रियासहितको सेवा प्रवाह गरेकोे थियो । हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाको नार र फु गाउँका ज्येष्ठ नागरिक तथा बालबालिका शिविरमा सहभागी थिए  । 

आँखामा जालो बसेको, मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको डा.रुइतले बताए । बिरामीको आँखाको परीक्षणसँगै शल्यक्रिया निःशुल्करुपमा गरिएको उनको भनाइ थियो । गाउँघरमै आँखा परीक्षणको व्यवस्था भएकामा मनाङवासी हर्षित भएका थिए । 

नार्पाभूमि गाउँपालिका नार गाउँका ८४ वर्षीय फुन्जो ओङ्जेन लामाको आँखामा समस्या भएर  उपचार गराउन कठिन भइरहेको अवस्थामा नजिकै उपचार गराउन पाएकामा खुसी लागेको बताए । ‘गाउँबाट आँखा जचाउन चामे आएको थिएँ,  काठमाडौँ वा पोखरालगायत ठाउँमा जानुपर्ने बेला यहीँ उपचार पाउने भएपछि गाउँबाट चामे झरेको हुँ,’ उनले भने, ‘सजिलो भयो, यही आँखाको शल्यक्रिया गरिएको र चिकित्सकले   ठीक हुने बताएका छन्  ।’
 

सम्बन्धित खबरहरु