Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

मोदीको लुम्बिनी भ्रमण : हेपाहा दृष्टिकै निरन्तरता !

सन्तोष विके थापा काठमाडौं जेठ २, २०७९       

jeewan-bima-jaruri-chha मोदीको लुम्बिनी भ्रमण : हेपाहा दृष्टिकै निरन्तरता !

झण्डै डेढ महिनाअघि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिने भारतको औपचारिक भ्रमण गरे । उनको स्वागतमा भारतले एकजना राज्यमन्त्रीलाई पठायो । सोमबार त्यही भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको एक दिने औपचारिक भ्रमणका लागि लुम्बिनी आइपुगेका छन् । र, उनलाई स्वागत गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेणु यादव, पर्यटनमन्त्री प्रेम आले र शिक्षामन्त्री देवेन्द्र पौडेल मात्रै होइन, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, उर्जामन्त्री पम्फा भूसाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहित संघीय र प्रदेश गरि दर्जनौं मन्त्रीको लाइन लाग्यो ।

त्यतिले मात्रले कहाँ पुग्नु प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि अग्रभागमा उभिएर मोदीको स्वागत गान गाइन् । मोदीले नेपालको भ्रमण गर्ने भएपछि भारतले नेपाली सुरक्षाकर्मीको विश्वास नै गर्न सकेन । एकसाता पहिले नै भारतका गुप्तचरदेखि हजारौंको संख्यामा सुरक्षाकर्मी लडाकु विमानसहित आएर लुम्बिनीमै डेरा जमाएर बसेका छन् । जबकि नेपालले मोदीकै सुरक्षाका लागि १५ हजार सुरक्षाकर्मी लुम्बिनीमा उतारेको छ ।

तैपनि मोदीले गर्विलो नेपाली सुरक्षा फौजको इतिहासलाई विश्वास गर्न सकेनन् । यसले सुरक्षामाथिको अविश्वासमात्रै देखाएन । नेपालमा जे गरे पनि हुन्छ भन्ने भारतीय हेपाहा दृष्टिलाई समेत उजागर गरेको छ ।

लुम्बिनीमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । सोमबारमात्रै जजिरा एयरलाइन्सको विमानले अन्तर्राष्ट्रिय उडानको सुरुवात गरेको छ । तर मोदीलाई भारतीय वायुसेनाका विशेष विमानमार्फत मायादेवी मन्दिरकै छेउमा रातारात छुट्टै चारवटा हेलिप्याड निर्माण गरेर उतारियो । अहिले चीनले बनाइदिएको विमानस्थलमा मोदीले अवतरण गर्न नमानेको भनेर भारतभरि हल्लीखल्ली छ ।

देश दोस्रो स्थानीय तह निर्वाचनको पर्वमा होमिएको छ । मुलुकको ध्यान मोदीतिर भन्दा स्थानीय तहको आगामी नेतृत्वतर्फ केन्द्रित छ । यसअघि दुई/दुईपटक लुम्बिनीको भ्रमण गर्ने तालिका बनाएर अन्तिममा रद्द गरी सरप्राइज दिएका मोदीले यसपटक मुलुकको ध्यान अन्तै भएका बेला लुम्बिनीको भ्रमण गरेका छन् । यसलाई पनि राजनीतिक र कुटनीतिक रुपले विभिन्न कोणबाट अर्थ लगाइएको छ ।

स्वागतका नाममा लाचारजस्तै बनेको सरकारले बरु लुम्बिनीको जनजीवन नै ठप्प बनाएर मोदीको स्वागतमा केन्द्रित बनेको छ । मोदीको भ्रमणका लागि लुम्बिनी आसपासका क्षेत्रमा अघोषित कर्फ्यू नै लगाएर सबै बस्तीका नागरिकलाई घरभित्रै थुनिएको छ । व्यापार व्यवसायमा ताल्चा मारिएको छ । पाहुनाको स्वागतमा आफ्नै नागरिकलाई सास्ती दिएर गुलामी गर्ने संस्कारकै कारण विगतदेखि नै नेपाल हेपिन बाध्य बनेको हो ।

हेक्का रहोस् विगत केही वर्षदेखि नै बुद्ध भारतमै जन्मिएको अपवाह फैलाउन मोदी नै सक्रिय बनेका छन् । नेपाल आउँदा बुद्धको जन्मस्थल यही हो भन्ने अनि युरोपतिर जाँदा ‘Buddha was born in India' भन्ने गरेको थुप्रै पटक सुनिएको छ । संसारलाई थाहा छ, कपिलवस्तु गौतम वुद्धको जन्मस्थल हो, जुन नेपालमा पर्छ । कपिलवस्तु नेपालका ७७ जिल्लामध्ये एक भएकाले यसको आफ्नै ब्राण्ड पनि छ । तर भारत सरकारले लुम्बिनी नजिकै आफ्नो भूमिमा नक्कली ‘कपिलवस्तु’ बनाएर बुद्ध भारतमा जन्मेको प्रमाणित गर्न खोजेको तथ्यलाई भूल्न मिल्दैन ।

भारतको सिद्धार्थनगर जिल्लास्थित पिपराहावामा एउटा स्तूपा छ, जहाँ बुद्धको अष्टधातु फेला परेको भारतीय दाबी छ । त्यहाँ गौतम बौद्धभिक्षु, भिक्षुणीहरुको आवास गृहसमेत छ । सो स्थानभन्दा करिब एक किलोमिटर अगाडि बुद्धका बुबा शुद्धोधनको ‘नक्कली’ दरबार खडा गरिएको छ । सो स्थानलाई बगैँचाका रुपमा सजाइएको छ ।

भारतका यस्ता झेली दाबीले नेपालीहरुलाई सधैं आक्रोशित बनाउने गरेको छ । अहिले मोदीले बुद्धको पवित्र भूमिमा पाइला टेकेका छन् । अब विश्वास गरौं, बुद्धका अनेक वाणीसँगै नेपाल नै गौतमबुद्धको असली जन्मस्थल हो भन्ने ज्ञान लिएर फर्किनेछन् ।

सम्बन्धित खबरहरु