Nepalese Flag २०७९ असार १३ गते सोमबार   |   June 27, 2022

छिमेकी मुलुकहरुको तुलनामा नेपालको पत्रकारिता सन्ताेषजनक नै छ : अध्यक्ष पोख्रेल

न्युज कारोबार काठमाडौं चैत १६, २०७८       

jeewan-bima-jaruri-chha छिमेकी मुलुकहरुको तुलनामा नेपालको पत्रकारिता सन्ताेषजनक नै छ : अध्यक्ष पोख्रेल

नेपाल पत्रकार महासंघले आज ६७औं स्थापना दिवस मनाइरहेको छ । यसअघि जस्तै आज पनि महासंघको केन्द्रीय कार्य समिति र सबै जिल्ला शाखा तथा विदेशमा समेत विविध कार्यक्रम आयोजना गरिएको छ । दिवसको सन्दर्भमा महासंघ, पत्रकारिता क्षेत्र र पत्रकारहरुको विविध विषयमा महासंघका केन्द्रीय कार्य समितिका अध्यक्ष विपुल पोख्रेलसँग न्युज कारोबार डटकमले गरेको कुराकानी :


नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवससम्म आइपुग्दा विगत र वर्तमानलाई कसरी हेर्ने ?

नेपाल पत्रकार महासंघले २०१२ सालमा स्थापना भएदेखि नै निरन्तर रुपमा पत्रकारहरुको हकहितको लागि काम गर्दै आएका छ । योभन्दा अगाडि २००८ सालमा पनि पत्रकारहरु संगठित भएको इतिहास छ । पत्रकारहरु एक ठाउँमा संगठित हुनुको मुख्य उद्देश्य भनेको पत्रकारिता क्षेत्र विस्तारै विस्तार हुँदै गएको, भर्खरै स्थापना भएको प्रजातन्त्र र राणा शासनको अन्त्य भएको बेलामा पत्रकारहरुले सामूहिक रुपमा परिवर्तित सन्दर्भलाई सहयोग पुर्याउने उद्देश्यका साथ पत्रकारहरुलाई संगठित गरेको पाइन्छ । सँगै उनीहरुले त्यो समयमा स्वतन्त्र नागरिक अधिकारको विषयमा काम गरेको पाइन्छ । पञ्चायतकालसम्म पत्रकार संघ थियो त्यो संस्थाले लोकतन्त्रको पक्षमा मिसन पत्रकारिताको सुरुवात गरेको पाइन्छ । खासगरी पत्रकार संंघले नागरिक सवाल र स्वतन्त्रताको विषयलाई प्राथमिकताको साथ हेरेको पाइन्छ ।

प्रवर्द्धित, मर्यादित एवं व्यवसायिक पत्रकारिताका लागि निजी क्षेत्रबाट प्रशस्त लगानी भएको छ । त्यस लगानीलाई निश्चित लक्ष्य प्राप्तिका लागि पत्रकारितालाई व्यवसायिक बनाउनुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो । लोकतन्त्र, गणतन्त्र स्थापना भइसकेपछि मिडिया पनि व्यावसायिक हुनुपर्छ र त्यहाँ काम गर्ने श्रमिकहरुले आफ्नो श्रमको सम्पूर्ण मूल्य पाउनुपर्छ भन्ने हाम्रो कुरा छ । श्रमको कुरा, व्यवसायको कुरा, प्रेस स्वतन्त्रताको कुरा यी तीन कुरामा चाँहि पत्रकार महासंघले काम गर्दै आएको छ ।

नेपाली पत्रकारिता अहिले अनेक चुनौती र संकटबाट गुज्रिएको छ । पत्रकारिताले पाउने सम्मान र इज्जत गुमाउँदै गएको भान पत्रकारलाई हुनु कति जायज हो ? यसको जिम्मेवार को ?

निश्चित रुपमा पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा निकै चुनौतीहरु थपिएका छन् । त्यसले गर्दाखेरी पत्रकारिताप्रतिको विश्वासनीयता स्खलित हुनु पनि स्वभाविक हो । चुनौती थपिनुमा दुई-तीन कारण छन् । पहिलो कुरा, नेपालको सन्दर्भमा नेपाली मिडियाको लागि स्पष्ट नीतिनियम, कानुन नै बन्न सकेन । आवश्यक कानुन निर्माणसँगै त्यसलाई नियमन गर्ने बाटोमा राज्य जान चाहेन । राज्यले अभिभावकको भूमिका लिनुपर्ने थियो तर यसमा राज्यले उचित निर्णय लिन सकेन । यो क्षेत्रमा लागेको लगानी र सुरक्षाको जिम्मा लिन सकेको छैन । त्यसैले मिडियामा लगानी भएका लागतहरु डुब्दै गएको देखिन्छ । त्यो भनेको राज्यले लगानीमा सुरक्षा दिन नसक्नु हो । र तेस्रो कुरा प्रविधिको जुन ढंगले विकास भइराखेको छ । अहिले धेरै सामाजिक सञ्जालहरुको विकास भइसको छ । यसले सूचना सम्पे्रषण र आफूलाई सूचनासँग नजिक बनाएको छ । जसले गर्दा सूचना लिन पनि सक्छौँ भने सूचना दिन पनि सक्छौँ । यसले गर्दा सञ्चार क्षेत्रमा दिनप्रतिदिन चुनौतीहरु थपिँदै गएका छन् । चुनौती थपिँदै गर्दाखेरि त्योसँग प्रतिस्पर्धा गर्ने क्रममा कहिलेकाहीँ मिडियाहरु चुक्ने गरेका छन् । छिटो सूचना दिने क्रममा कतै-कतै चुकेको पाइन्छ ।

पत्रकारितामा झन् समस्याहरु थपिएका छन् भने पत्रकारितामा विश्वासनीयता घट्दै गएको पाइन्छ । पत्रकारिताप्रतिको विश्वासनीयतालाई कायम गर्न हामी काम गर्ने छौँ । पत्रकारिताको मूल्य-मान्यतालाई कायम गर्नु हाम्रो मुख्य जिम्मेवारी पनि हो । मिडियाले पनि राज्यलाई घच्घच्याउने हो । मिडियाले पनि राज्यको प्रवर्द्धनको लागि काम गर्नुपर्छ । प्रतिष्पर्धात्मक वातावरण निर्माण गर्ने सन्दर्भमा राज्यको भूमिकाको पनि खोजी गर्नुपर्छ र मिडियाहरु स्वयं आफू पनि सजग हुनुपर्दछ । हाम्रो मूल्य-मान्यता, आचारसंहिताभित्र रहेर हामीप्रति भएको यो विश्वासलाई जगेर्ना कायम पनि एउटा चुनौती नै हो ।

सुधारको आवश्यकता देख्नु भएको छ कि छैन ? देख्नु भएको छ भने कसले कुन तहबाट कसरी सुधार गर्न आवश्यक छ ?

मिडिया पनि अभ्यास गर्दे जाने र सुधार गर्दै जाने क्षेत्र नै हो । यसमा कुनै आधारभूत तथ्यहरु त छैनन् तर समाजमा उत्पन्न समस्याहरुलाई सम्बोधन गर्ने बेलामा रणनीति परिवर्तन गर्दै जाने हो । त्यसैले हामीले काम गर्दै जाँदा आएका त्रुटिहरुलाई हामीले सुधार गर्दै जानुपर्छ । र त्यससँग सम्बन्धित समस्यासँग जुध्न तत्पर हुनुपर्छ । त्यसैले हामीप्रति समाजले औँला उठाएको छ । त्यसलाई हामीले सहजै स्वीकार गरेर अघि बढ्नुपर्दछ । सबैभन्दा पहिला हामी हाम्रो मूल्य र मान्यता भत्र रहेर काम गर्नुपर्छ । हामीले गरेको पत्रकारितामा हामीले समाजप्रतिको उत्तरदायी भूमिका खेलेका छौं कि छैनौं ? ख्याल गर्नुपर्छ । पत्रकारिताका अन्तर्राष्ट्रिय आचारसंहिता, मूल्यमान्यतालाई आत्मासात गर्न सकेका छौं कि छैनौं ? त्यसलाई ख्याल गर्नुपर्छ । हामी समाजमा उत्तरदायी रुपमा छौं कि छैनौं ? त्यसलाई हामी आफैँले मूल्यांकन गर्नुपर्छ । मिडियामा सुधारको आवश्यक छ । मिडियाले सम्प्रेषण गरेका सूचनाहरुको विषयमा पाठक, दर्शकहरुले पनि उचित प्रतिक्रिया, सल्लाहसुझाव दिएमा हामीले अवश्य सुधार गर्न सक्छौं ।

नेपालको पत्रकारिता संख्यात्मक तरिकाले उल्लेख्य रुपमा वृद्धि भयो, तर यसको गुणस्तरीयता र विश्वासनीयता अहिलेको प्रमुख चुनौती बनेको छ । अब थप नियमनको आवश्यकता हुन थालेको हो ?

मिडिया संख्यामा मात्र बढ्यो र गुणात्मक भएन भन्ने त छैन । आजभन्दा १० वर्ष अगाडि पनि पत्रकारिता यस्तो अवस्था थियो । हामीले नेपालको पत्रकारितालाई खण्ड-खण्ड अध्ययन गरेर हेर्‍यौं भने पनि गुणात्मक रुपमा स्खलन भएको भने पाइँदैन । त्यसकारण संख्यात्मक रुपमा जति मिडियाहरु स्थापना भए सबै गुणले सम्पन्न छ भन्ने अवस्था चाँहि होइन । गुणात्मक विकासका लागि हाई स्कुलहरुमा पत्रकारिता विषय समावेश हुनुपर्छ । त्यसैले पत्रकारीतामा गुणस्तर खोज्नेहरुले चाँहि अध्ययन गर्ने, गराउने र अध्ययन गरेका व्यक्तिहरु पत्रकारिता गर्न सक्षम छन् कि छैन त्यो बुझ्न जरुरी छ । सँगै जति संख्या आएको छ तिनीहरु सबै चाहिँ सबै गुणले सम्पन्न छन् भन्न भने मिल्दैन । पढ्ने र तालिमको अवसर दिलाउने होे भने मलाई लाग्छ पत्रकारिताको सुधार र गुणस्तरीयतामा अवश्य सुधार हुन्छ ।

पत्रकारिता क्षेत्रमा अहिलेको जनशक्ति कस्तो छ ? कति दक्ष जनशक्ति यसमा क्रियाशील छन् ? समावेशिताको हिसाबले नेपाली पत्रकारिताको अवस्था कस्तो छ ?

दक्ष जनशक्ति बनाउन हामीले प्रयास नै नगरेको हो कि जस्तो लाग्छ । साथै तालिम पनि दिन सकेका छैनौं । त्यसले गर्दा हामीले दक्ष जनशक्ति उत्पादन गर्न सकेका छेनौं । तर पनि हामीले उत्पादन गरेका जनशक्ति हेर्दा छिमेकी मुलुकहरु भारत, पाकिस्तानको तुलनामा हामी सन्तुष्ट नै छौं । हामीसँग जति मिडियाहरु स्थापना भए तर तिनीहरु सबैलाई पुग्ने दक्ष जनशक्ति हामीसँग छैन । अब हामीले दक्ष जनशक्ति निर्माण भने गर्नैपर्छ । र, समावेशीको सन्दर्भमा कुरा गर्दाखेरि यो आत्मासाथ गर्न सम्पादकीय नीति सबै सञ्चार माध्यमहरुले निर्माण गरौं र सम्पादकीयमा समावेशीको विषयवस्तु र समावेशिताको चरित्रको अनुहारको उपस्थिति देख्न पाइयोस् भन्ने चाहिँ हाम्रो मान्यता हो । हामी सोही अभियानमा छौँ । त्यसअनुसार केही सकारात्मक कामहरु पनि भएका छन् । तर, अझै पनि समावेशिताको हकमा कुरा गर्ने हो भने समावेशिताले भनेजस्तो ठाँउ पाइराखेको भने छैन । समावेशिताको हकमा हामीले हाम्रो सम्पादकीय विषयवस्तुमा ध्यान दिन जरुरी छ । यसका लागि हामीले आफ्नो एउटा विधिविधानमा रहेर पनि काम गर्नुपर्दछ ।

स्वतन्त्र रहनुपर्ने मिडिया दलीय मुखपत्रजस्तो बन्दै गएको यथार्थलाई कसरी लिने ? यो अवस्थालाई कसरी चिर्ने ?

यस विषयमा हामीले प्रश्न गरेनौं भने सुधार हुँदैन । हामीले त्यसमा निरन्तर प्रश्न गर्‍यौं भने त्यो ठिक हुन्छ । त्यसले गर्दा मिडियामा एउटा समस्या देखियो भने अर्को मिडियाले प्रश्न गर्न सिकौं । प्रश्न गर्ने वानीले सुध्रिने मौका मिल्दछ । हामी मिडिया सुध्रिने एउटा मात्र सुत्र भनेको प्रश्न गर्ने वानी नै हो । मिडिया एक पक्ष मात्र भयो भन्ने प्रश्नमा एक दिनको विषयलाई मात्र हेरेर विश्लेषण गर्‍यौं भने सायद त्यो मिडियाप्रति अन्याय हुन्छ । महिना, वर्ष दिनको विषय र प्रकाशन, प्रसारण भएका सामग्रीलाई विश्लेषण गर्ने र त्यसलाई अनुसन्धान गर्दा मात्र वास्तविक नतिजा पत्ता लगाउन सकिन्छ ।

पत्रकारिता र योसँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरु सन्तुष्ट छन् ? पत्रकारिता गरेकै भरमा जीवन चलाउन कति सहज छ ?

हामीमा २० वर्षभन्दा अगाडिको तुलनामा तुलनात्मक रुपमा सुधार भएको छ तर जीवनभर पत्रकारिता नै गर्छु भन्ने अवस्था अझै छैन । तलब दिएन भने अदालत जाने समग्रमा यस्तो अवस्था चाहिँ भएको छ । तर अहिले पनि सन्तुष्ट हुने अवस्था भने छैन । अहिले पनि न्यूनतम तलब निर्धारण पत्रकार संघकोे समितिले सिफारिस गरेको छ तर त्यो कार्यान्वयन भने हुन सकेको छैन । त्यसलाई अझ बढाउन भनिएको छ, हामीले भनिसकेका छौं । राज्यलाई ध्यानाकर्षण पनि गरेका छौं । तलब बढाउन र तोकिएको तलब दिन सञ्चार माध्यमहरुलाई पनि बाध्य पारेका छौं । श्रम गर्ने पत्रकारहरु र सञ्चार संस्थाहरुको व्यवस्थापन न्यायोचित ढंगले गर्न निर्देशन दिएका छौं ।

सम्बन्धित खबरहरु