गृहपृष्ठ के हो क्रिप्टोकरेन्सी ? किन नेपालमा यसको कारोबार गर्न पाइँदैन ?
के हो क्रिप्टोकरेन्सी ? किन नेपालमा यसको कारोबार गर्न पाइँदैन ?
धेरै मानिसलाई क्रिप्टोकरेन्सी के हो भन्ने थाहा नहुन सक्छ । अहिले नेपालमा पनि यसबारे चासो बढेको छ । क्रिप्टोकरेन्सी भनेकाे वास्तवमा न त कुनै धातुको सिक्का हाे, न त कागजको नाेट । विश्वमा अहिले ४ हजारभन्दा धेरै प्रकारका क्रिप्टोकरेन्सी प्रचलनमा भएको अनुमान गरिन्छ । नेपाल राष्ट बैंकले क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारबाही हुने बताइसकेकाे छ । नेपालमा मात्र हैन, लुकीछिपी काराेबार भइरहेका विश्वका ४० भन्दा धेरै देशमा क्रिप्टोकरेन्सीलाई मान्यता दिइएको छैन ।
पैसाको क्वाइन वा नोटजस्तो उपस्थिति यसको नभए पनि कम्प्युटरबाट 'पजल'हरू हल गरेर विद्युतीय मुद्रा वा क्रिप्टोकरेन्सी उत्पादन गरिन्छ । सन् २००९ मा ओपनसोर्स सफ्टवेयरको रूपमा पहिलोपटक रिलिज गरिएको बिटक्वाइनलाई पहिलो विकेन्द्रीकृत क्रिप्टोकरेन्सीको रुपमा मानिएको छ ।
पछिल्लो समय क्रिप्टोमा लगानी गर्ने लगानीकर्ताको संख्या तीव्र गतिमा बढिरहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । सन् २०२१ को जुलाईमा २ सय ३० मिलियन रहेको लगानीकर्ताको संख्या आजको दिनसम्म झण्डै ३ सय मिलियन पुगिसकेको बताइन्छ । नेपालमा भने अझै वैधानिकता दिने कि नदिने भन्ने बहसकै रूपमा रहेको छ । केही अर्थशास्त्रीहरू कानुन बनाएर नियमन गर्दै नेपालमा क्रिप्टाेकरेन्सीलाई मान्यता दिनपुर्ने धारणा राख्छन् । नेपाल राष्ट्र बैंकले पनि अध्ययन र विश्लेषण गरिरहेकाे बनाएकाे छ ।
विश्वका थोरै देशले मात्रै कानुनी रूपमा क्रिप्टो कारोबार गर्न अनुमति दिएका छन् । अनुमति नदिएका अधिकांश देशहरूमा अनधिकृत रूपमा लगानीको सञ्जाल बढ्दै गएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएकाे छ । यसको ज्वलन्त उदाहरणको रूपमा नेपाललाईनै लिन सकिन्छ । २०७४ सालबाट पूर्ण रूपमा क्रिप्टो कारोबार बन्द गरेको नेपालमा समेत समय-समयमा यसका कारोबारीहरू ठूलो संख्यामा पक्राउ पर्दै आइरहेका छन् ।
छोटो समयमा मनग्य आम्दानी हुने प्रलाेभनमा अहिलेको पुस्ता क्रिप्टोमा लगानी गर्न आतुर देखिन्छ । जसमा बिटक्वाइन सर्वाधिक लगानीकर्ताको रोजाइमा परेको छ । पहिलो क्रिप्टोको रूपमा प्रयोगमा आएको बिटक्वाइन मूल्यका आधामा र प्रयोगका आधारमा पनि अन्य क्रिप्टोभन्दा अगाडि छ । विश्वका धनाढ्य व्यवसायी एलन मस्कदेखि फेसबुकका सीईओ मार्क जुकरबर्गसम्मको लगानी रहेको क्रिप्टोमा झण्डै ३ मिलियन व्यक्तिको खर्बौं डलर बराबरको लगानी छ । यति हुँदा-हुँदै पनि नेपालम भने अझै वैधानिकता दिने कि नदिने भन्ने बहसमै अल्झिरहेकाे छ ।
किन गर्छन् क्रिप्टोमा लगानी ?
पैसा कमाउने रहर कसलाई हुँदैन ? अझ क्रिप्टोकरेन्सीमा न त कुनै झञ्झट, न दौडधूप । मोबाइलबाटै काराेबार हुने भएकाले यहाँ लगानी गर्न धेरै मानिस उत्साहित देखिएका छन् । मुख्य कारण हामीमध्ये धेरैलाई थाहा होला युट्युबमा थुप्रैले यसको लगानीक लागि विज्ञापन गरिरहेका हुन्छन् । एउटाले लगानी गरेको र पैसा कमाएको अरुलाई पनि लगानी गर्न उत्साह हुन्छ । झन् यसको धेरै कारोबार कोरोना महामारीको समयमा भएको देखिन्छ । जुन बेला मान्छेलाई पैसाको अभाव थियो । त्यही बेला धेरै मानिस धनी बन्ने होडमा यसमा लागेका थिए । नेपालमा हाल १० हजार क्रिप्टो लगानीकर्ता रहेकाे अनुमान गरिन्छ ।
नेपालमा कसरी हुन्छ क्रिप्टोको कारोबार ?
नेपालमा यसको कारोबार एक्स बेट, बिटक्वाइन, इथर्नम, लाइटक्वाइन जस्ता एप्पबाट नेपालमा क्रिप्टोमा लगानी गर्ने गरेको पाइएको छ । विभिन्न समयमा पक्राउ परेका क्रिप्टाे काराेबारीहरूकाे बयानकाे आधारमा प्रहरीले यस्ताे रहस्य पत्ता लगाएकाे हाे । काराेबारका अन्य माध्यम र प्रविधि पनि हुनसक्ने प्रहरीकाे अनुमान छ ।
कसरी कमाइ हुन्छ पैसा ?
शक्तिशाली कम्प्युटरको प्रयोग गरेर जटिल समस्या हल गरेपछि मात्र बिटक्वाइन निकाल्न सकिन्छ । जसलाई आफ्नो कब्जामा ल्याई एउटा बिटक्वाइन डिजिटल वालेटमा राख्न सकिन्छ, जुन प्रक्रियालाई माइनिङ पनि भनिन्छ । पहिलो र सर्वाधिक प्रयोगमा आएको क्रिप्टो बिटक्वाइन माइनिङ गरेरै अर्बौं रुपैैयाँ कमाइ हुने बताइन्छ । यससँगै बिटक्वाइन लगायतका क्रिप्टोहरूको मूल्य दैनिक रूपमा घटबढ भइरहन्छ । जसबाट पनि लगानीकर्ताले छोटो समयमा खरिदबिक्रीमा सहभागी भएर पैसा कमाउन सक्छन् र गुमाउन पनि सक्छन् ।
प्रकाशित समय : २१:३७ बजे


















