nmb bank

गृहपृष्ठ ‘हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’

‘हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’

‘हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’

मंगलबार बझाङका जनप्रतिनिधिको टोली प्रधानमन्त्री निवास बालुवाटार पुग्यो । टोलीमा जनप्रतिनिधि मात्रै नभई जिल्लाका अगुवाहरु समेत थिए । बझाङमा आएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्रीको धारणा ‘पक्की’ गराउन पीडाको पोको लिएर उनीहरु काठमाडौंमा जुटेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अनुगमन गरेको महिना दिनसम्म पनि राहत, पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि कुनै सुनुवाई नभएको भन्दै जिल्लाका जनप्रतिनिधिहरु मागपत्रसहित प्रधानमन्त्रीलाई भेट्न आएका हुन् । बझाङमा गत कात्तिक २ गते बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले ३१ जनाको ज्यान लिनुको साथै अर्बौं मूल्य बराबरको भौतिक सम्पत्ति क्षति भएपछि कात्तिक ४ गते नै प्रधानमन्त्री देउवाले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको अनुगमन गरेका थिए । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारको प्रांगणमा डेढ घण्टा कुरेपछि मात्रै प्रधानमन्त्रीसँग बझाङका जनप्रतिनिधिको भेट भएको थियो ।

जिल्ला समन्वय समिति संयोजक सडकबहादुर खड्काले बझाङको क्षति विवरण संक्षेपमा सुनाएर मागपत्र बुझाएपछि प्रधानमन्त्री देउवाले अनुगमनकै बेलाको धारणा दोहोर्‍याए । उनले भने, ‘मैले बझाङको बाढीपहिरोको अवस्था देखेको हुँ । अब छिट्टै नै पुनर्निर्माण हुन्छ ।’ बझाङमा विपद्ले स्वास्थ्य, खानेपानी, विद्यालय, विद्युत सडक लगायतका सबै पूर्वाधारमा क्षति पुगेको हुँदा जिल्ला नै अन्धकारमय भएको प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहले बताए । सिंहको कुरा सुनेपछि पनि देउवाले त्यही कुरा दोहो¥याए । ‘म अनुगमनमा जाँदा सबै देखेको हुँ त । सबै कुरा मलाई थाहा छ । धेरै क्षति भएको छ । अब छिट्टै पुनर्निर्माण हुन्छ ।’

सिंहकै कुरा जोडेर जयपृथ्वी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र खड्काले आफूहरुले गाउँमा जान नसक्ने अवस्था भएको सुनाए । ‘गाउँमा जान सक्ने अवस्था छैन । जनतालाई जनप्रतिनिधि भएर पनि कुनै राहतको व्यवस्था गर्न नसक्दा मुख देखाउन नसक्ने अवस्था भएको छ । अब हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’ खड्काले चिन्तित हुँदै भने । नगरप्रमुख खड्कालाई चिन्ता नलिन सुझाउँदै प्रधानमन्त्री देउवाले भने, ‘म आफैं स्थलगत भ्रमण गरेर आएको छु । बझाङमा बाढीपहिरोले पुर्‍याएको क्षतिको अवस्था हेरेको छु । क्षति धेरै छ । पुनर्निर्माणका लागि वर्ल्ड बैैंकसँग कुरा भइरहेको छ । क्षतिको विवरण र लागत अनुमानका लागि प्राविधिक टोली पठाउने तयारीमा छौं ।’

प्रधानमन्त्रीले दर्जनौं ठाउँमा आएको बाढीपहिरोले जयपृथ्वीबहादुर सिंह राजमार्ग क्षतविक्षत बनाएपछि सुचारु गर्न मातहतका निकायलाई पुनर्निर्माणका लागि निर्देशन दिने बताए । ‘क्षति भएका सबै कुराको सरकारले मात्र पुनर्निर्माण गर्न सक्दैन, त्यसका लागि दातृ निकायसँग सहयोग माग्नुपर्छ । सहकार्यका लागि सरकारले प्रयास गरिरहेको छ,’ देउवाले भने ।

प्रधानमन्त्रीको आश्वासनलाई आश्वासन मात्रै नभएर केही आशा पलाएको बताउँछन् नगरप्रमुख खड्का । न्युज कारोबारसँग कुरा गर्दै उनले भने, ‘हुन त बझाङको क्षति हेर्न प्रधानमन्त्री एक महिनाअघि नै जानुभएको हो । अहिलेसम्म सरकारले चालेको पाइला केही देखिएन । अब त जिल्लाका सबै प्रतिनिधि नै आएर दबाब दिइसकेपछि पुननिर्माणको काम अघि बढ्ला भन्ने आशा छ ।’

सानो राहतका लागि विपदमा परेकाले केन्द्र सरकारको आशा गर्नु नपर्ने उनको बुझाइ छ । ‘केन्द्र सरकारलाई त तत्कालको राहतभन्दा पनि दिगो राहतको माग गर्नुपर्छ । तत्कालको राहत दिएपछि दिगो राहतमा केन्द्र सरकारले चासो देखाउँदैन,’ खड्काले भने । पीडितलाई तत्कालको लागि खाद्यान्न, लुगाकपडा, भाँडाकुँडा लगायतको व्यवस्था स्थानीय तहले नै जुटाउनुपर्ने उनले बताए । जयपृथ्वी नगरपालिकामा पनि तत्कालको राहत स्थानीय तहले नै गरेको उनले सुनाए ।

बझाङमा विशेषगरी थलारा, छान्ना तथा चैनपुर क्षेत्रका बासिन्दाले बाढीपहिरोमा अर्बौंको सम्पत्ति गुमाएका छन् । नदी कटानले सयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ भने सबै खाले पूर्वाधारमा क्षति पुगेको छ । बाढीपहिरोबाट ३१ जनाले ज्यान गुमाए भने पाँच सय घरपरिवार विस्थापित र दुई सय परिवार घरबारविहीन भए ।

बझाङको खप्तडछान्ना क्षेत्रमा मात्रै ६ जनाले ज्यान गुमाए । ७० परिवारको घरसहित ज्यानबाहेक सर्वस्व गुम्यो । खप्तडछान्ना गाउँपालिकाका अनुसार छान्नामा मात्रै ९८ करोडभन्दा बढीको भौतिक सम्पत्तिमा नोक्सान पुगेको छ ।

यो पनि पढ्नुहोस् :

विपदमा पीडितको टेको बन्दै धीरा खत्री

काल बनेर फर्कियो जडारीगाड

अब सुनिने छैनन् अंग्रेजी देउडा

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु