Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप

न्युज कारोबार काठमाडौं असोज ११, २०७८       

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप फाइल तस्बिर ।

गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टर थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा टिकट काउन्टर थप गरेको हो ।

प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको जानकारी दिए । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ । काठमाडौँ महानगरपालिका-२६ गोंगबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिने बताए । 'म अग्रिम टिकट लिने यात्रुलाई टिकट लिएपछि आफू जाने गन्तव्यस्थल, बस नम्बर, मिति र समय पहिचान गरेर बस्न आग्रह गर्दछु,' महासचिव सिटौलाले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।

सम्बन्धित खबरहरु