Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

विभेदविरुद्धकी ‘कान्छी योगमाया’

भूमिराज पिठाताेली काठमाडौं भदौ २६, २०७८       

विभेदविरुद्धकी ‘कान्छी योगमाया’

विभेदविरुद्ध र हकाधिकारकी प्रतीक हुन् योगमाया न्यौपाने । पटक-पटक ज्यानको बाजी लगाएर जहानियाँ शाणा शासनविरुद्ध सशक्त विद्रोह गर्दै अधिकार खोस्ने योगमाया परिवर्तनकी एकल पात्र हुन् । योगमायाको जस्तै सोच, विचार भएकी बझाङकी शान्ति बोहरा पनि पछिल्लो चार दशकयता ‘कान्छी योगमाया’को उपनामले चिनिएकी छन् ।

पुरातनवादी समाजमा विभेदविरुद्ध ‘सदावहार आन्दोलनकारी’ बनेकी बोहरा जीवनको उत्तरार्द्धमा पनि महिला हिंसा, जातीय विभेद र महिला अधिकारकै विरुद्धका आवाज दोहोर्‍याइरहेकी छन् । २०२८ सालमा बझाङको सुर्मा गाउँपालिका-१ मा जन्मेकी उनी बाल्यकालदेखि नै विभेदविरुद्ध क्रान्ति गरिरहिन् । मध्यम वर्गको परिवारमा जन्म लिएर हुर्केकी बोहरालाई शिक्षा हासिल गर्न कहिल्यै कठिनाइ भएन । छोरीलाई शिक्षा दिनुपर्छ भन्ने निकै कम परिवारमध्ये एक थियो उनको परिवार । शिक्षासँगै परिवारले महिला भएर पनि पुरुष बराबर काम गर्न प्रेरित गरायो । छरछिमेकीसँग घरायसी काममा जाँदा पनि बलियो काम गराउन ढाडस दिने परिवारले उनलाई विभेद विरुद्धको ‘विद्रोही’ बनायो ।

उनी सम्झिन्छिन्, ‘पितृसत्तात्मक समाजले पुरुष/महिलाका काम छुट्याए पनि पुरुषजस्तै काम गर्न परिवारकै ढाडस पाएपछि सोच नै बदलियो । यहाँ पुरुषभन्दा महिला कम हुदैनन्/हुने छैनन् भन्ने आँट आयो ।’ घरायसी काममा जाँदा पनि महिलाले सक्दैनौं भन्ने काम शान्तिले प्रयास गर्थिन् । कतिपय ठाउँमा सफल पनि हुन्थिन् भने कतिपय ठाउँमा उनको कामको प्रशंसा हुन्थ्यो । विकट ठाउँमा हुर्किए पनि उनको काम देखेर अन्य महिलाहरु चकित पर्थे । हुर्कदै जाँदा भत्केका घर, खेत बनाउनेदेखि किसानीको हलो जोत्नेसम्मको काम उनको लागि सामान्य भइसकेको थियो । तर, आत्मविश्वासका साथ अघि बढ्ने उनलाई हलो जोतेको देखेर ‘अशुभ हुन्छ’ भन्दै मुन्टो बटारेर हिँड्ने गाउँलेहरुको कमी थिएन ।

बाल्यकाल र शिक्षा

राजनीतिक पृष्ठभूमिको परिवारकी उनले प्रावि तह गाउँमै पढिन् । २०२२ सालमा बुबा नरपति बोहरा र ०४१ सालमा दाजु वीरबहादुर बोहरा प्रधानपञ्च भएको परिवारमा शिक्षा पाउनु कठिन हुने कुरै भएन । उनका बाजेले समेत भारतमा गएर ठेकेदारीको काम गरेका रहेछन् । परिवारबाट पढेर समाज रुपान्तरण गर्नुपर्ने प्रेरणा पाएकी बोहराले कक्षा ५ सम्म दौलिचौर माविमा पढिन् । त्यो बेलामा साविकको दुई गाविस (दौलिचौर र सुर्मा)बाट स्कुल पढ्ने उनी एक मात्र महिला थिइन् । कक्षा ६ मा उनले नेपालगञ्जमा गएर अध्ययन गर्ने मौका पाइन् । त्यो बेलामा मुलुकभरबाट वर्षमा सात जना छात्रालाई सरकारले निशुल्क पढाउने छात्रवृत्तिको व्यवस्था गरेको थियो । त्यसै छात्रवृत्ति कोटामा उनी जुम्लामा पढिन् । छात्रवृत्तिबाट पढ्ने विद्यार्थीहरु जुम्ला, पोखरा, सुर्खेत र धनकुटा पढ्थे । उनले जुम्ला रोजिन् । जुम्लामा छात्रवृत्ति कोटाबाट पढ्ने शान्तिसहित बसन्ती सिंह, दुर्गा हमाल थिए । उनीहरुका लागि सम्पूर्ण खर्च तत्कालीन सरकारले व्यहोर्थ्याे ।

बोहोराले जुम्लाको चन्दननाथ स्कुलबाट एसएलसी उत्तीर्ण गरिन् । बी लेभलसमेत पनि जुम्लाबाटै पास गरिन् । त्यसपछि शान्ति मावि चौहानपाटा बझाङबाट आइएड पास गरिन् । २०४७ साल चैतमा बझाङकै दौलिचौर निमाविमा अस्थायी शिक्षकमा नियुक्ति पाइन् । त्यसपछि बझाङकै जयपृथ्वी क्याम्पसबाट बीएड पास गरिन् । दौलिचौरमा अस्थायी नियुक्ति पाएकै बेला उनी सुर्मा गाउँपालिकाका हरिचन्द्र पुजारासँग वैवाहिक जीवनमा बाँधिइन् । २०४९ सालमा स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगको परीक्षा दिएर २०५० सालमा शिक्षकको स्थायी नियुक्ति पाइन् र लामो समय शिक्षिका भएर काम गरिन् ।

विभेदविरुद्ध विद्रोह

जुम्ला पढ्ने बेलामा शान्ति बोहरा १३ वर्षकी थिइन् । गाउँमा दलित समुदाय टाढा भएको हुनाले पनि उनलाई विभेदबारे खासै जानकारी थिएन । उनको पहिलो पाठशाला परिवारमा नै विभेदको विरोध गर्ने हुँदा पनि त्योबारे खासै उनलाई चासो भएन । जब उनी छात्रवृत्ति कोटामा जुम्लामा अध्ययन गर्न गइन् । त्यो बेला उनकै कक्षामा पढ्ने साथीलाई चरम विभेद भएको थाहा पाइन् । 

हलाे जाेत्दै बाेहरा ।

एउटै छात्रावासमा बस्ने तर, कसैलाई पनि छुन नपाउने, छुट्टै कोठमा बस्नुपर्ने, धारासमेत छुट्टै प्रयोग गर्नुपर्ने उनकै सहपाठी हरिनी नेपालीमाथि नियम थियो । त्यो नियम पनि तत्कालीन शिक्षक तथा अभिभावकले नै बनाएका थिए । छात्राबास बस्ने दर्जनौं विद्यार्थी भएर पनि हरिनी एक्लै थिइन् । उनलाई दलितको नाममा अमानवीय व्यवहार भइरहेको थियो । त्यसैबखत एक दिन शान्तिले पनि उनैसँग खाना खाने सोच बनाइन् । त्यसपछि शान्तिमाथि पनि मानसिक हमला हुन थाल्यो । शान्ति सम्झिन्छिन्, ‘सधैं हरिनीलाई अलग राखेको देख्दा सहनै नसकिने अवस्था भयो । एक दिन खाना पस्किएको थाली लिएर हरिनीसँगै खाएँ, त्यसपछि ममाथि पनि अनेक किसिमको गाली आयो । पछि हरिनीले पनि हामीसँगै खाना खानुपर्छ भन्दै सबै सरहरुसँग भने । त्यो बेलामा सर म्यामहरुले ठाडै अस्वीकार गर्नुभयो, साथीहरुले पनि साथ दिएनन् ।’

हरिनीमाथि विभेद गरिएको भन्दै केटाकेटी आन्दोलन (छात्रावासका भित्तामा लेख्नु) गरेपछि बिस्तारै हरिनी पनि बोल्न थालिन् । छात्रावासमा बस्ने एक जना क्रिश्चियन धर्म मान्ने शिक्षिकाले विभेद गर्नुहुन्न भन्ने सुनाएपछि बिस्तारै हरिनीले भान्छा कोठासम्म प्रवेश पाइन् । त्यो बेलामा कतिपय विद्यार्थीले हप्ता दिनसम्म खानै खाएनन् । पछि बिस्तारै छात्रवासमा हरिनीमाथिको विभेद साम्य भयो । ‘प्राविमा पढ्ने बेलामै मैले सुनेकी थिएँ, बीपी कोइरालाले समेत आफू ब्राम्हणको छोरो भएर सार्कीको छोरोलाई भान्से बनाएका थिए भने छात्रावासमा किन विभेद भयो ?’ उनी सम्झिछिन्, ‘त्यो बेलामा अरुजस्तै चुप बसेको भए हरिनीहरुले कयौं वर्ष अलग्गै बस्नुपर्थ्याे ।’

शिक्षिका भएर गाउँमा जाँदा महिनावारीकै कारण ज्यान गुमाउनु पर्ने घटनाहरु देखिन थाले । ‘हाम्रो घरमा त बुवाले पहिलेदेखि नै महिनावारी भएको बेलामा आफ्नै कोठामा बस भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘पछि छाउगोठकै विरुद्धमा गाउँमा पटक-पटक छलफल गरेपछि बिस्तारै महिनवारीमा पनि महिलाहरु आफ्नै कोठमा बस्न थाले । अहिले पनि धामी, पुजारी भएको घरका महिला वल्लोपल्लो घरमा बस्छन्, छाउगोठमा बस्ने भने कोही छैनन् ।’

शान्ति शिक्षक भएपछि गाउँका अरु महिलाहरुले पनि प्रेरणा पाए । छोरीहरुलाई विद्यालय पठाउन घरदैलो कार्यक्रम गर्दा पनि नआउने छात्राहरुले पछि बिस्तारै विद्यालय भरिन थाले । केही वर्षमै प्राथमिक तहमा पुरुषभन्दा बढी महिलाको संख्या हुन थाल्यो । उनी विद्यालयमा खेल पनि सिकाउथिन् । भलिबल, बक्सिङ, व्याटमिन्टन, टेबलटेनिस खेल्न थालेपछि विद्यार्थीहरु पनि विद्यालयकेन्द्रित भए । ‘विद्यालय नियमित सञ्चालन भइरहन्थ्यो,’ उनी भन्छिन् ।

पछिल्लो समयमा जिल्लामा भइरहेको विभेद हटाउनका लागि आफैं अघि सरेर गाउँगाउँमा अभियान नै चलाइन् । जिल्लाका सबै स्थानीय तह तथा सबैभन्दा विकट मानिएको काँडा गाउँपालिकाका सबै वडामा घुमेकी शान्तिको नजरमा विभेद र हिंसा नै बढी भएको पाइन् । उनले भनिन्, ‘जिल्लामा सबैभन्दा बढी महिला हिंसा, विभेद, गरिबी र बेरोजगारको अवस्था छ । हिंसा र विभेदको लागि गाउँ-गाउँमा अभियान नै चलाएका छौं । गरिबी र बेरोजगारको लागि आफूले सक्ने ठाउँमा सहयोगका लागि लबिङ गरिरहेकी छु ।’ ०७५ सालको बडादसैं तथा तिहारको बेलामा समाजलाई एकरुपता प्रदान गर्नकै लागि शान्तिले दलित समुदायमा गएर नै दसैंतिहार मनाइन् । सुर्माको ३ नम्बर वडाको दलित समुदायमा दसैंतिहार मनाएपछि अहिले त्यो ठाउँमा विभेद हट्दै गएको छ ।

पुरुषप्रधान समाजले महिलालाई काममा बन्देज गर्दा एकल महिला तथा काम गर्न नसक्ने परिवारलाई मर्का पर्ने गरेको उनको बुझाइ छ । ‘हाम्रो संस्कृति तथा समुदायले महिलालाई हलो जोत्न पनि बन्देज गरेको छ । घरमा पुरुष नहुने महिलालाई हलो जोत्ने मान्छे नहुँदा धेरै समस्या भोग्नु परेको छ । त्यो समस्याबाट महिलाले मुक्ति पाउन मैले विभिन्न गाउँमा गएर हलो जोतेँ, रुढीवादी परम्पराबारे जनचेतना फैलाएँ । अहिले ती समुदायमा केही चेत भरिरहेका छन्,’ उनले भनिन् ।

दलित समुदायसँग चाडपर्व मनाउँदै बाेहरा ।

राजनीतिमा क्रियाशीलता

राजनीतिमा आवद्ध हुने उनको बाल्यकालकै सोच थियो । जुम्लामा आधारभूत तहको अध्ययनकै क्रममा नेपाली कांग्रेसले थालेको तत्कालीन सरकारविरुद्धको सत्याग्रहमा साथ दिइन् । युवा नेतृत्व पनि राजनीतिमा आउनुपर्छ भन्दै सत्याग्रहमा बसेका भीमप्रसाद श्रेष्ठको नेतृत्वले शान्तिलाई पनि पार्टीमा स्वागत गर्‍यो । त्यसै बेलामा तत्कालीन सरकारले पक्राउ गरेपछि शान्तिले २९ दिनसम्म अञ्चलाधीश कार्यालयमा तारिख बोकिन् । पछि अञ्चलाधीश जगदीश खड्काले उनलाई सरकारको विरुद्धमा नलाग्ने सर्तमा छाड्यो ।

त्यसपछि ०४८ सालमा बझाङमा कांग्रेसको क्षेत्रीय प्रतिनिधि भएर काम गरिन् । अहिलेसम्म पनि उनी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिकै जिम्मेवारीमा छिन् । थप उनको जिम्मेवारी नेपाली कांग्रेसको जिल्ला कमिटी सदस्य, नेपाल महिला संघको जिल्ला अध्यक्ष, मंगलादेवी स्मृति प्रतिष्ठानको सुदूरपश्चिम प्रदेश अध्यक्ष र सामुदायिक विद्यालय अभिभावक संघको केन्द्रीय सदस्य भएर काम गरिरहेकी छन् । बोहरा २०७० सालमा शान्तिका श्रीमान हरिचन्द्र पुजाराको निधन भएपछि पूर्ण रुपमा राजनीतिमा आवद्ध भएकी हुन् । उनका श्रीमान् नेपाली कांग्रेसका जिल्ला उपसभापति थिए ।

राणाविरुद्ध अघि बढेकी योगमाया

योगमाया न्यौपाने (विसं. १९२४-विसं. १९९८) पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरकी सामाजिक आन्दोलनकर्ता हुन् । समाजका विकृतिहरू चिर्नमै समय बिताएकी योगमाया राणाको शासनप्रति बाचुन्जेल लडिरहिन् । क्रान्तिकारी नारीहरूकी प्रतीक उनी आशुकवयित्रीसमेत हुन् । जसले जे देख्यो त्यही कवितामा भन्न सक्ने, जे विषयमा पनि कविताबाट बोल्न सक्ने र जे सुन्यो त्यही विषय कविताबाटै बिट मार्न सक्ने क्षमताकी उनी राणाले जनमनमा आतंकित पारेको सामाजिक स्थितिबाट पनि उनी फुत्कन सकिनन् । सतीप्रथा हटाइयोस्, जातभातको रीतिरिवाज हटाइयोस्, जनताले न्यायनिसाफ पाउन् र शोषणरहित समाजको सिर्जना होस् आदि माग राख्तै योगमायाले सामाजिक परिर्वनका लागि सांस्कृतिक आन्दोलनको शंख फुकिन् । उनी न्याय माग गर्दै पैदल हिँडेर काठमाडौंसम्म आइन् ।

त्यतिखेर योगमायाका मागहरू पुर्‍याउन श्री ३ जुद्धशमशेरले उनलाई वचन पनि दिएका थिए । तर, जुद्धशमशेर आनाकानी मै रुमल्लिन थाले । योगमायाका सामाजिक मागका कारण उनको मन धमिलिँदै थियो । त्यसैले जुद्धशमशेरले न्याय दिने देखावटी वचन दिई अनेक प्रपञ्च रचेर उनलाई दण्ड दिने अभिप्रायले विभिन्न कदम चाले । तर, जुद्धशमशेरले हारे र योगमायाको जित भयो ।महिला आन्दोलनमा दोस्रो पुस्ताले विराटनगरबाट आन्दोलन सुरु गरे । महिलाले शिक्षा पाउनुपर्ने, निर्वाचनमा मतदान गर्न पाउनुपर्ने लगायतका माग राखेर सहाना प्रधान, साधना प्रधान, मंगलादेवी सिंहलगायत २६ जना महिलाले बालविवाह, बहुविवाह र अनमेल विवाहको अन्त्य एवं शिक्षा र राजनीतिमा पनि महिलाको अधिकारको सवाल उठाएर महिला संघको स्थापना गरेका थिए ।

पछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि महिलामाथि हुने भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड)मा समेत हस्ताक्षर भयो । र महिलाको अधिकारको सवाल अझै स्पष्ट हुँदै आयो । जसले गर्दा महिलावादी आन्दोलन बढी विषयगत हुँदै गए । महिला आन्दोलनको सुरुवातमै महिला समिति गठन गर्दा दिव्या कोइरालाहरूलाई अगाडि बढाउनमा कृष्णप्रसाद कोइरालाको हात थियो ।

सम्बन्धित खबरहरु