Nepalese Flag २०७८ असोज ३० गते शनिबार   |   October 16, 2021

परिवारकैले लिन्छन् ज्यान, मुख्य कारण अवैध यौन सम्बन्ध

दिपेन्द्रप्रसाद सिंह धनुषा भदौ १५, २०७८       

परिवारकैले लिन्छन् ज्यान, मुख्य कारण अवैध यौन सम्बन्ध ललिया घटनामा शव गाडिएकाे स्थल ।

धनुषामा परिवारकै सदस्यबाट हुने हत्याका घटनाहरुमा वृद्धि भएको छ । पछिल्लो समयमा वैदेशिक रोजगार, समाजमा बढ्दो लोभ-लालच, आपसी इर्ष्या लगायतका कारण परिवारकै व्यक्तिबाट हत्याका घटनाहरुमा वृद्धि भएको देखिन्छ ।

गत भदौ ८ गते बिहान मिथिला विहारी नगरपालिका-५, ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले २५ वर्षीया पत्नी अमृता मण्डल र ५५ वर्षीय बुवा रामवृक्ष मण्डलको हत्या गरे । आफू वैदेशिक रोजगारीको क्रममा हुँदा बुवा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको भागेश्वरले सुनेका थिए । तर, भदौ ८ गते राति १२ बजे पत्नी र बुवाबीच शारीरिक सम्पर्क भइरहेको आफ्नै आँखाले देखेपछि रिस थाम्न नसकेर दुवैकाे हत्या गरेको भागेश्वरले प्रहरीसमक्ष बयान दिएका छन् । आरोपित भागेश्वर अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा छन् ।

२०७८ वैशाख १७ गते राति धनुषाको हंसपुर नगरपालिका-६, टिल्हीमा ३५ वर्षीय शम्भु मण्डललाई २५ वर्षीया पत्नी सुशीला मण्डल र मृतकका भाई २४ वर्षीय सुनील मण्डल र २३ वर्षीय सञ्जय मण्डलले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । शम्भु मण्डल वैदेशिक रोजगारीमा हुँदा भाउजु सुशीला र देवर सुनीलबीच अनैतिक सम्बन्ध हुने गरेको थियो । अनैतिक सम्बन्धबारे शम्भुले थाहा पाएपछि पत्नी र भाइले योजना बनाई उनको हत्या गरे । हत्या आरोपित तीनै जना पुर्पक्षका लागि कारागारमा छन् ।

२०७८ असार ४ गते राति धनुषाको लक्ष्मीनिया गाउँपालिका-४, सपही बस्ने २२ वर्षीया प्रियंका देवी पासवानको २८ वर्षीय पति सन्तोष पासवानले घाँटी थिचेर हत्या गरे । राति सुत्ने बेलामा पत्नीको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको विषयमा पति सन्तोषले शंका गरेपछि सुरु भएको विवाद हत्यासम्म पुग्यो । सन्तोष पनि अहिले मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । २०७७ फागुन ४ गते कमला नगरपालिका–२ माचि झिटकैया बस्ने ४० वर्षीया शर्मिला देवीको फागुन ४ गते घाँटी थिचेर ४५ वर्षीय खुशीलाल गडेरीले घाँटी थिचेर हत्या गरे । घरभन्दा १ किलोमिटर पर खेतमा शव फेला परेको थियो । स्थानीय युवासँग अनैतिक सम्बन्ध रहेको थाहा पाएर रिसाएका आरोपित खुशीलालले पत्नीको घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । आरोपित हाल पुर्पक्षका लागि कारागारमा छन् ।

२०७७ माघ १५ गते उदयपुर जिल्ला त्रियुगा नगरपालिका-७, चुओर स्थायी घर भई क्षिरेश्वरनाथ नगरपालिका-७, महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्ट्रिलरी इन्डस्ट्रिजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको उनकै सालो ३५ वर्षीय निरज खातीले बाँसको भाटा प्रहार गरी हत्या गरे । २०७७ पुस १७ गते दिउँसो विदेह नगरपालिका-२ बस्ने ६ वर्षीय बालक नन्दन राउत अमात्यको अपहरण गरी हत्या गरेको अवस्थामा शव फेला पर्‍यो । नन्दन राउत अमात्यको उनकै २३ वर्षीया फुपु प्रमिला देवी अमात्य, बाजे ५० वर्षीय ब्रह्मदेव राय, बज्यै ४५ वर्षीया गुलावी देवीलगायत संलग्न रहेका थिए ।

२०७७ कात्तिक २९ गते बिहान जनकपुरधाम उपमहानगरपालिका-७, जानकीनगर बस्ने २१ वर्षीया आरती साह र चार वर्षीया छोरी रिया साहलाई २७ वर्षीय पति संजय कुमार साहले एसिड प्रहार गरी हत्या प्रयास गरे । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै शरीरका विभिन्न भाग जलेको छ । उनकी छोरी रियाको दाहिने हात र टाउकोमा घाउ लागेको छ । २०७८ जेठ २० गते महोत्तरीको लोहारपट्टी नगरपालिका-७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको घाँटी थिचेर ३२ वर्षीय देवर रुपेश ठाकुरले हत्या गरे । उनले शवलाई निर्माणाधीन शौचालयको जगमा गाडेका थिए । परपुरुषसँग अनैतिक सम्बन्ध रहेको थाहा पाएर देवर रुपेश ठाकुरले भाउजुको हत्या गरेकाे तथ्य सार्वजनिक भएको छ । घटनामा संलग्न रुपेश, पिपरा गाउँपालिका- ६ रतौली बस्ने वर्ष ५० वर्षीय बुवा कामेश्वर ठाकुर, सुजिताकी नन्द भंगहा नगरपालिका-१ कबिलाशा बस्ने वर्ष ३५ की अञ्जु ठाकुरलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका थुनामा पठाएको छ ।

समाजमा बढ्दो वैदेशिक रोजगारीले आर्थिक रुपमा सबल बनाए पनि घरमा भने आन्तरिक कलह बढ्दो छ । घरमा पारिवारिक कलह, प्रेम र अनैतिक सम्बन्धका कारण परिवारकै व्यक्तिहरुबाट हत्या गरिने क्रम बढ्दो देखिएको छ । पछिल्लो समयमा धनुषासहित प्रदेश २ मै यस्ता घटनाको ग्राफ उकालोतिर छ ।

परपुरुषसँगको अवैध सम्बन्ध रहेको आशंकामा श्रीमान, देवर, सासु, ससुराबाटै हत्या भएको घटना हुनु निकै दुःखद र निन्दनीय भएको ओरेक नेपाल धनुषा परियोजना संयोजक रोजलिन सिंह बछार बताउँछिन् । पुरुष वैदेशिक रोजगारीको क्रममा वा अन्य कामले लामो समय घरबाहिर रहने र श्रीमती घरका सदस्य तथा अन्य व्यक्तिसँग बोल्दैमा वा अनैतिक सम्बन्ध गाँसेकै आधारमा परिवारकै व्यक्तिले महिलाको हत्या नै गरिनु कारुणिक विषय बनेको बताइन् ।

श्रीमती पुरपुरुषसँग बोल्यो, जिस्क्यो, हाँस्यो भन्दै कुटपिट गरी हत्या प्रयास गरेका घटनाहरु दिनहुँ आइरहेकाले यसको मूल जडलाई न्युनीकरण नगरी वा समस्या आउनुको कारण नखोजी सिधै महिलालाई आरोप लगाई कुटपिट गरिनुको साथै हत्या गरिनु निकै ठूलो अपराध भएको महिला अधिकारकर्मी सुभद्रा आलेले बताइन् । परिवारमा आर्थिक, सामाजिक मर्यादा विपरीतको गतिविधि, सामाजिक अनुशासन, सम्पत्तिमा लोभ र प्रतिशोधका कारण परिवारकै सदस्यबाट हत्याको घटनामा वृद्धि हुनु समाजका लागि घातक भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले बताए । वैदेशिक रोजगारले घर-घरमा कलह सिर्जना गरेकाले यसतर्फ समाजका अगुवाहरु सचेत हुनुपर्ने एसपी रानाभाटको धारणा छ । ‘आफन्तबाटै हत्यासम्मको घटना बढेपछि यसको सामाजिक, मानसिक र पारिवारिक कारण केलाउँदै कारबाहीसँगै चेतनामुलक अभियान थाल्नुपर्ने विषयमा प्रदेश २ प्रहरी कार्यालयले छलफल अघि बढाएको छ,’ उनले भने ।

जनकपुरका मनोचिकित्सक डा. रोविन झाले व्यक्तिमा नकारात्मक सोच हावी भएर यस्ता घटना हुने गरेको बताए । घरपरिवारको कलहले निम्त्याएको रिस थाम्न नसकेपछि हत्यासम्मको घटना हुने गरेको डा. झाको बुझाइ छ । उनका अनुसार यस्ता मनोप्रवृत्तिको पनि उपचार भने सम्भव छ ।

सम्बन्धित खबरहरु