Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

प्रहरीले संकलन गर्ने राजस्वमा ३३ प्रतिशतले वृद्धि

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

प्रहरीले संकलन गर्ने राजस्वमा ३३ प्रतिशतले वृद्धि

नेपाल प्रहरीले कानुनविपरीतका क्रियाकलापविरुद्धको कारबाहीबाट आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब १७ करोड राजस्व संकलन गरेकामा गत आवमा दुई अर्ब ९० करोड संकलन भएको हाे । यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवं एसएसपी वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व संकलनमा वृद्धि भएको जानकारी दिए । उनका अनुसार चाँदी बरामदबाट भने १०० प्रतिशत नै बढी राजस्व संकलन भएको छ । अवैध मुद्रावापत झण्डै ७०० प्रतिशतले राजस्व संकलन वृद्धि भएको प्रवक्ता कुँवरले जानकारी दिए ।

यसैगरी सुन बरामदबाट ३३ दशमलव ७५ प्रतिशतले राजस्व संकलन बढेको छ । ट्रफिक कारबाहीमा समेत ३० दशमलव ७६ प्रतिशतले बढेको छ । अवैध सुन बरामदबाट प्रहरीले अघिल्लो वर्ष २० करोड ३० लाख राजस्व संकलन गरेकामा गत वर्ष २७ करोड १५ लाख संकलन गरेको छ । अवैध मुद्रामा अघिल्लो वर्ष ९९ लाख राजस्व संकलन गरेकामा गत आर्थिक वर्षमा ७ करोड बढी राजस्व संकलन गरेको छ ।

यस्तै गत आर्थिक वर्षमा अवैध सामान बरामदबाट ८५ करोड राजस्व संकलन भएको छ । नेपाल प्रहरीतर्फ गत आर्थिक वर्ष २८ अर्ब ३६ करोड बजेट विनियोजन भएकामा राजस्व संकलन सहायताका आधारमा १० दशमलव २५ प्रतिशत योगदान प्रहरी काबाहीबाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु