Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

धनुषामा स्वास्थ्य स्वयंसेविकालाई बोक्सी आरोपमा निर्घात कुटपिट, मलमुत्र खुवाउने प्रयास

दिपेन्द्र सिंह धनुषा साउन १४, २०७८       

धनुषामा स्वास्थ्य स्वयंसेविकालाई बोक्सी आरोपमा निर्घात कुटपिट, मलमुत्र खुवाउने प्रयास

जनकपुरधाम उपमहानगरपालिका-१४ रजौलमा बोक्सी आरोपमा एक महिला स्वास्थ्य स्वयं सेविकालाई निर्घात कुटपिट गरि मलमुत्र खुवाउने प्रयास गरिएको घटना सार्वजनिक भएको छ ।

साउन १ गते राति ९ बजे ३५ वर्षीया महिला स्वास्थ्य स्वयंसेविकालाई बोक्सी आरोप लगाउँदै छिमेकी छिमेकी पाँच जनाले निर्घात कुटपिट गरेको पीडित महिलाका श्रीमान्ले बताए । उनका अनुसार ४८ वर्षीय मंगल महरा, ४५ वर्षीय सुमिन्त्रादेवी महरा, २७ वर्षीय संजित महरा, २० वर्षीय रविन महरा र २६ वर्षीया देवकीदेवी महराले निर्घात रुपमा कुटपिट गर्दै मलमुल खुवाउने प्रयास गरेका थिए ।

घरमा गाई, गोरु बिरामी भएको, छोरा, नाती नातिना बिरामी भएको भन्दै आफूलाई निर्घात रुपमा कुटपिट गर्दै मलमुत्र खुवाउने प्रयास गरेको पीडितले बताइन् । घटनास्थलबाट मुजेलिया प्रहरी चौकीले पीडितलाई उद्धार गरि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको थियो । तर, आरोपीहरू राजनीतिक संरक्षणमा पीडितले जाहेरी दिँदासमेत जिल्ला प्रहरी कार्यालय धनुषाले उजुरी दर्ता नगरेको पीडितका पतिले बताए ।

उनका अनुसार घटना प्रहरीमा दर्ता नगराई मिलापत्र गराउन दैनिक दबाब दिँदै आएका थिए । बुधबार भने इन्सेक, ओरेक नेपाल र महिला अधिकार रक्षक संजालको संयुक्त प्रयासमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् उजुरी दर्ता गरिएको छ । २० वर्षअघि आरोपीकै घरपरिवारले पीडित महिलाकी सासुलाई समेत बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाएको उनले बताइन् ।

पटक-पटक आफूहरूलाई बोक्सी रहेको आरोप लगाउँदै कुटपिट गरी मलमुत्र खुवाएको र अहिले पनि मलमुत्र खुवाउने प्रयास हुँदासमेत आफूले न्याय नपाएको पीडित महिलाले बताइन् । 'हामीलाई टोलमा बोक्सीको परिवारको छोरा, बुहारी भनेर बोलाउँदा आफूहरुलाई आत्मगलानी हुन्छ,' उनका पतिले बताए ।

सम्बन्धित खबरहरु