Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

कर्णालीमा लक्ष्यभन्दा बढी राजस्व संकलन

न्युज कारोबार वीरेन्द्रनगर साउन १३, २०७८       

कर्णालीमा लक्ष्यभन्दा बढी राजस्व संकलन

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । सरकारले ३२ करोड राजस्व संकलनको लक्ष्य राखेकोमा ५० करोड राजस्व संकलन गरेको हो ।

मंगलबार प्रदेश विकास समस्या समाधान समितिको बैठक र प्रदेश सरकारको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिवेदन सार्वजनिक गरेका हुन् । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै मुख्यमन्त्री शाहीले अनुमान गरेभन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताएका हुन् । उनले कोरोना भाइरस संक्रमणको जोखिमका वाबजुद पनि अनुमानभन्दा बढी राजस्व संकलन गरेको बताएका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा सरकारले ६५.५२ प्रतिशत खर्च गरेको मुख्यमन्त्री शाहीले बताए । उनका अनुसार सरकारले अघिल्लो आर्थिक वर्षभन्दा ३३.३३ प्रतिशत बढी बजेट खर्च गरेको हो । यद्यपि, कर्णाली प्रदेश सरकारले असार मसान्तमा मात्रै ३९ प्रतिशतभन्दा बढी रकम खर्च गरेको थियो । कर्णालीका लागि कुल विनियोजित बजेट ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँमध्ये २२ अर्ब १० करोड ८६ लाख ९६ हजार रकम खर्च भएको हो ।

त्यसैगरी, ३२ करोड राजस्व संकलनको लक्ष्य राखेको सरकारले ५० करोड राजस्व संकलन गरेको हो । भौतिक पूर्वाधार विकासमा २१ किलोमिटर सडक कालोपत्रे, १ सय १३.६ किलोमिटर ग्राभेल तथा ७ सय ५८.२ किलोमिटर कच्ची सडक निर्माण भएको छ । ११ वटा झोलुङे पुल, ७ वटा सडक पुल निर्माण, जनताआवास कार्यक्रमअन्तर्गत ७ सय ६७ वटा घर निर्माण, २ हजार १ सय ४५ हेक्टर जमिनमा सिँचाई सुविधा, १८.७७ किलोमिटर नदी तटबन्धन सरकारले गरेको हो ।

यसका साथै ३ हजार ५ सय ४० घरधुरीमा सौर्यउर्जा जडान, विभिन्न नीति तथा कानुन निर्माण गरेको मुख्यमन्त्री शाहीले बताए । समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उनले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा अन्य स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि समेत ४ हजार बढी महिला स्वास्थ्य स्वयंसेविका खटाइएको जानकारी दिए । कर्णालीका विभिन्न कृषिजन्य उत्पादनहरु काठमाडौं लगायतका ठूला सहरहरुमा निर्यात गरेको र युवाहरुलाई रोजगारीका कार्यक्रमसमेत सञ्चालन गरिएको शाहीले जानकारी दिए ।

सम्बन्धित खबरहरु