गृहपृष्ठ एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत आइपीओ आवेदन दिन सकिने
एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत आइपीओ आवेदन दिन सकिने
एनआइसी एशिया बैंकले मोबाइल बैंकिङ (NIC ASIA MoBank) एपमार्फत विभिन्न कम्पनीले जारी गर्ने आइपीओ (IPO) मा आवेदन दिन सकिने सेवाको सुरूवात गरेको छ । बैंकले ग्राहकको लामो लाइन बसी आइपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत उक्त सेवाको सुरू गरेको हो ।
एनआइसी बैंकमार्फत डिम्याट खाता खोलेका एवं बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले यस नवीन सेवाअनुसार आइपीओ खुलेका सेयर तथा डिबेञ्चरमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन् । कोभिड-१९ महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई थप सहज बैंकिङ सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपीओ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी मोबाइल बैंकिङ एपबाट आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।
एनआइसी बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले एपभित्र रहेको Apply Share आइकनमा ट्याप गरेर आवेदन दिन सक्नेछन् । Apply Share आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आइपीओ खुलेका कम्पनीमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सोबाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर Submit गरेपश्चात आवेदन पूरा हुनेछ । ग्राहकले आफ्नो स्मार्टफोन प्रयोग गरी आइपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आइपीओ आवेदन दिनुपर्ने झन्झबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
घरमै बसेर आइपीओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकले NIC ASIA MoBank डाउनलोड गरी तथा बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नभएमा यस एनआइसीमा बचत खाता खोलेर NIC ASIA MoBank डाउनलोड तथा बैंकमा डिम्याट खाता खोलेर आइपीओ भर्ने सुविधाबाट लाभान्विन हुन सक्ने बैंकले जनाएको छ । साथै, बैंकले आफ्नो वेबसाइट http://www.nicasiabank.com मा रहेको Apply Now आइकनमा ट्याप गरेरसमेत आइपीओ आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
प्रकाशित समय : १७:१० बजे