Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

साताको सेयर बजार : ४२ अर्ब ५१ करोडको कारोबार

न्युज कारोबार काठमाडौं साउन ९, २०७८       

साताको सेयर बजार : ४२ अर्ब ५१ करोडको कारोबार

नयाँ आर्थिक वर्षको सुरूवातमा धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक संकेत देखिएको छ ।

बजार पुँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । बजारमा झन्डै एक महिना जस्तो ‘करेक्सन’ देखियो । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नुपर्ने तथा अन्य आर्थिक कारोबार मिलाउनु पर्ने भएकाले पनि असारको अन्तिम दुई साता बजारमा करेक्सन देखिएको हो ।

आर्थिक वर्षको पहिलो कारोबार दिन साउन ३ गते नेप्सेमा हरियाली छाएको छ । गत आर्थिक वर्षमा ऐतिहासिक रेकर्ड कायम गरेको सेयर बजारमा वर्षको पहिलो कारोबार दिनमा पनि सोही उत्साह देखिएको छ । यस साता चार दिनमात्रै सेयर बजारमा कारोबार भयो । बुधबार सार्वजनिक बिदा परेकाले पनि कुल चार दिनमात्रै कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 
यही साउन ३ गते पुनः स्थापित संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै थिए । सो दिन सेयर बजारले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्वागत ग-यो । यस साता कुल २२२ कम्पनीको ४२ अर्ब ५१ करोड ३५ लाख ९६ हजार ९८४ रूपैयाँ बराबरको कारोबार भयो । नेप्सेका अनुसार यस साता कुल १५ करोड ४० लाख ६ हजार ७०२ कित्ता सेयर कारोबार भयो ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको थियो । सो दिन दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार ४९२ रूपैयाँमा कारोबार भयो । त्यस दिन १९४ वटा कम्पनीको सेयर मूल्य बढेको थियो भने २२ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्दा पाँच वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । 
त्यस दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप अफ पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो । नेप्से परिसूचक १३.९७ अंकले बढेर दुई हजार ९९४.५८ मा पुगेको थियो । ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा ओर्लियो । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रूपैयाँमा खरीद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर ओरालो लाग्दा आठ उपसमूहको सेयर भने उकालो लागेको थियो ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ रूपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको थियो । कारोबारका आधारमा सिनर्जी पावरको सेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो भने विशाल बजार कम्पनी ९.२०, नेपाल इन्सुरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाएका थिए ।

त्यस दिन नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडीसीएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाएका थिए । साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । त्यस दिन नेप्से ९.०१ अंकले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको थियो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अंकले ओरालो लागेर ५५८.११ मा ओर्लेको थियो ।

कुल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ रूपैयाँ कित्ता सेयर सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रूपैयाँ मूल्यमा खरीद बिक्री भए । मंगलबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ रूपैयाँको हाराहारीमा पुगेको थियो । त्यस दिन कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको सेयर भने ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको थियो । सो कम्पनीको ३८ करोड ७८ लाख २० हजार ९६८ रूपैयाँ बराबरको कारोबार भयो । त्यस दिन लक्ष्मी उन्नति कोष १०.०४, लक्ष्मी इक्विटी फन्ड १०.०१, वरुण हाइड्रोपावर ९.३९, माउन्टेन हाइड्रोपावर ९.२८ र ग्लोबल आइएमई समुन्नत स्किम-एकका लगानीकर्ताले ८.९२ प्रतिशतले कमाएका थिए ।

बुधबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार कारोबार मापक नेप्से परिसूचक तीन हजार विन्दु पार ग-यो । त्यस दिन नेप्से परिसूचक १८.७५ विन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको थियो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ विन्दुले बढेर ५६२.२४ मा पुगेको थियो । कुल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ रूपैयाँ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रूपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ रूपैयाँ बराबर पुगेको छ ।

बिहीबार कारोबार भएका १३ उपसमूहमध्ये आठ उपसमूहको सेयर ओरालो लाग्दा पाँच उपसमूहको सेयर मूल्य भने उकालो लागेको थियो । त्यस दिन कारोबारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको थियो । सो बैंकको ४६ करोड २७ लाख ६४ हजार ६४० रूपैयाँ बराबरको कारोबार भयो । बिहीबार लक्ष्मी उन्नति कोष १०.०४, सीइडीबी हाइड्रोपावर १०, ङादी ग्रुप अफ पावर १०, पोखरा फाइनान्स ९.९५ र माउन्टेन हाइड्रोका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाएका थिए ।

साताभर माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३०.९२ प्रतिशतले कमाएका थिए । यस्तै, लक्ष्मी इक्विटी फन्ड २७.३९, लक्ष्मी उन्नति कोष २४.२५, कृषि विकास बैंक २७.७६ र सीइडिबी हाइड्रोपावरका लगानीकर्ताले २२.६२ प्रतिशतले कमाए । त्यसैगरी राष्ट्रिय बिमा कम्पनीका संस्थापक सेयरधनीले ५.५५ प्रतिशतले गुमाउँदा गुर्खाज फाइनान्स ५.४४, सारथी नेपाल लघुवित्त ४.६६, एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर ४.५९ र मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाए ।

सम्बन्धित खबरहरु