Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

मुख्यमन्त्री रोजगार कार्यक्रम : सीपसँगै स्वरोजगार

न्युज कारोबार काठमाडौं साउन ९, २०७८       

मुख्यमन्त्री रोजगार कार्यक्रम : सीपसँगै स्वरोजगार

लुम्बिनी ग्रामीण रोजगार कार्यक्रमले नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा गत आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालित छ । सीप मात्रै सिकाउनेभन्दा पनि आम्दानीको मुख्य स्रोत बनाउने लक्ष्यअनुरुप यो कार्यक्रम सञ्चालित रहेको कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माले बताए । 

'हामीले रोजगारी सिर्जना गर्न सुरुमा तालिम प्रदान गर्छौं,' उनले भने, 'तालिमपश्चात् हामीले आवश्यक सामग्री पनि प्रदान गर्छौं ।' यसरी सामग्री प्रदान गर्दा व्यावसायिकरुपमा अघि बढ्न प्रेरणा मिल्ने गरेको तालिममा सहभागीको भनाइ छ । 

'हामीले सीप मात्रै सिकेनौँ, सीप सिकेपछि सामग्री पनि पायौँ,' तुलसीपुर-१२ निवासी नेत्राकुमारी ओलीले भनिन्, 'अहिले हामीलाई काम गर्न निकै सजिलो भएको छ ।' उनले च्याउखेती तालिम पाएकी थिइन् । त्यस्तै च्याउ खेती तालिम लिएकी लक्ष्मी घर्तीले सामग्री पाएपछि खुशी भएको बताइन् । उनलाई पराल काट्ने मेसिनदेखि लिएर च्याउका लागि आवश्यकपर्ने सामग्री प्रदान गरिएको हो ।

तुलसीपुर-१६ का युवा खगेन्द्र डाँगीले कलमी बिरुवा उत्पादन गर्ने तालिम लिने अवसर प्रदान गरे । त्यो तालिममा व्यावहारिकभन्दा पनि बढी सैद्धान्तिक ज्ञान प्रदान गरिएकाले कृषिखेतीमा थप उत्साहित बनाएको प्रतिक्रिया दिए । 'अब कृषिखेतीमा युवा सक्रिय हुनुपर्छ, यसरी हामीले ठूलो क्षेत्रफलमा लगाएको कागती खेती देख्दा निकै खुशी भएका छौँ, अझ हामीले यही आएर कागतीका बेर्ना उत्पादन गर्न सिक्यौँ,' उनले भने, 'यसले हामीलाई हौसला प्रदान गरेको छ ।'

त्यस्तै अर्का युवा झक्कुप्रसाद जैसी पनि निकै खुशी देखिन्छन् । कागती उत्पादनको ठूलो क्षेत्रमा आएर कलमी बिरुवा उत्पादन गर्न पाउँदा खुशी भएको उनले बताए । तुलसीपुर- १३ मा कुटानी पिसानीको मिल थिएन । त्यहाँका नागरिकलाई रोजगारी पनि हुने र कुटानी पिसानीका लागि पनि सहज होस्, भनि कुटानी पिसानी मिल उपलब्ध गराइएको छ । यसले आफूहरुलाई स्वरोजगार बनाएको स्थानीयबासी गोविन्द नेपालीले बताए ।

यति मात्रै होइन, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले मोटरसाइकल मर्मत तालिम प्रदान गरेर मर्मतका लागि आवश्यक सामग्री प्रदान गरेको थियो । त्यस्तै कपाल काट्ने तालिम, पलम्बिङ, दूधका परिकार बनाउने, टनेल निर्माण तालिम, बाँसका सामग्री बनाउने तालिम, व्युटीपार्लर तालिम, चप्पल निर्माणलगायतका जीवन उपयोगी तालिम प्रदान गरिएको थियो ।
सामाजिक, आर्थिक तथा शैक्षिकरुपमा पछि परेका वर्गलाई रोजगारमा जोड्नका लागि यस्तो खालका कार्यक्रम सञ्चालन गरिएको विज्ञ सदस्य शर्माले बताए । साथै शारीरिक रुपमा अपांगता भएका व्यक्तिलाई पनि उक्त तालिम प्रदान गरिएको हो ।

उनले सीप सिकेर मात्रै नहुने भएकाले व्यावहारिक प्रयोग आवश्यक रहने हुँदा तालिमपश्चात् यसरी सामग्री वितरण गर्दा सीपको सदुपयोग हुने बताए । 'अहिले धेरैको सीप सिक्ने तर, व्यवहारमा नउतार्ने समस्या देखिएको छ,' उनले भने, 'यसरी सीप प्रदानपछि सामग्री वितरण गर्दा उनीहरुले आफैँ पनि सीपलाई प्रयोग गर्नुहुन्छ, यसले सकारात्मक प्रभाव पार्छ ।' (रासस)

सम्बन्धित खबरहरु