Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

नेपालमा चार किरात मात्रै छन् ?

निनाम कुलुङ ‘मंगले’ काठमाडौं साउन ९, २०७८       

नेपालमा चार किरात मात्रै छन् ?

समाचारअनुसार चार किरात (राई, लिम्बु, याक्खा र सुनुवार)ले श्रीजंगा लिपिलाई साझा लिपि बनाउने भएछन्, जुन कुरो धेरै राम्रो हो । साथै श्रीजंगा लिपिको आमरुपमा प्रयोग हुनु किरातहरुका लागि मात्रै नभएर सबै नेपालीहरुका लागि खुशीको कुरो हो । यसबारे कुनै बेला अलग्गै लेखमा चर्चा गरौंला ।

तर, अहिलेलाई चार किरात संस्थाका प्रमुख अर्थात् अध्यक्षहरुलाई मेरो मूल र गम्भीर प्रश्न यो छ, ‘नेपालमा यी चार किरातबाहेक अरु किरातहरु छँदै छैनन् ?’ यस बारेमा जतिसक्दो जाँडो जवाफ दिनु पर्छ । होइन, आफूलाई ‘किरात जात हौं’ भन्ने अरु जातिहरु पनि छन् भन्ने हो भने यी चार किरात संस्था (राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज)का अध्यक्षहरु मात्रै नभएर पदाधिकारीहरुले पनि अरु किरातहरुलाई पनि समेटेर लानु पर्छ भनेर सोच्नुपर्दैन ?

चार किरातमध्ये खासगरी चुम्लुङ, छुम्मा र समाजका अध्यक्ष र पदाधिकारीहरुको आफ्नै ब्रह्माले केही देख्दैन ? नत्र भने, अहिलेसम्म पनि तपाईँहरु किन राई यायोक्खाको पुच्छर भएर हिँड्नु हुन्छ ?/हिँड्नु भएको हो ? वा लगाम लगाएको घोडासरह दायाँबाँया नहेरी किन यायोक्खाले जे भन्यो त्यही गर्ने र यायोक्खाले लगाम लगाएर जता डोर्‍या यो त्यतै हिँड्ने गर्नु हुन्छ ? यसको कुनै खास कारण पनि छ कि ? बुझ्नेका लागि त यो कुरो निक्कै गहिरो र गम्भीर छ ।

चार किरात संस्थाका पदाधिकारीहरुले अरु किरात नदेखे तपनि केन्द्रीय तथ्यांक विभागले २०६८ सालमा गरेको १२औं राष्ट्रिय जनगणनाअनुसार ’राईकरण’को मारमा परेका मात्रै १२ वटा किरात जातिको अलग्गै तथ्यांक आएको छ । सो जनगणनाअनुसार पहिलोमा कुलुङ २८ हजार ६१३, दोस्रोमा नाछिरिङ ७ हजार १५४, तेस्रोमा याम्फु ६ हजार ९३३, चौथोमा चाम्लिङ ६ हजार ६६८, पाँचौंमा आठपहरिया ५ हजार ९७७, छैठौंमा बान्तावा ४ हजार ६०४, सातौंमा थुलुङ ३ हजार ५३५, आठौंमा मेवाहाङ ३ हजार १००, नवौंमा बाहिङ ३ हजार ९६, दशौंमा साम्पाङ १ हजार ६८१, एघारौंमा खालिङ १ हजार ५७१ र बाह्रौंमा लोहोरुङ १ हजार १५३ जना हरेका छन् । यसरी हेर्दा २०५८ सालको जनगणनाअघि जानेर वा नजानेर अथवा ‘राई’ लेख्दा आफू पनि ‘तालुकदार’ वा ‘जिम्मावाल’ ‘राई’सरह ठूलो मान्छे होइन्छ भनेर नामको पछाडि ‘राई’ लेख्दै आएका १२ वटा किराती जाति अलग्गै जातिको रुपमा आएका छन् वा भनौं तथ्यांककृत भएका छन् ।

त्यस्तै माथिका १२ वटै किराती जातिको भाषिक तथ्यांक पनि अलग्ग रुपमा आएको छ । भाषिक तथ्यांकअनुसार पहिलोमा बान्तावा एक लाख ३२ हजार ५८३, दोस्रोमा चाम्लिङ ७६ हजार ८००, तेस्रोमा कुलुङ ३३ हजार १७०, चौथोमा थुलुङ २० हजार ६५९, पाँचौंमा साम्पाङ १८ हजार २७०, छैठौंमा खालिङ १४ हजार ४६७, सातौंमा बाहिङ ११ हजार ६५८, आठौंमा नाछिरिङ १० हजार १७६, नवौंमा याम्फु ९ हजार २८०, दशौंमा आठपहरिया ७ हजार ५३०, एघारौंमा मेवाहाङ ४ हजार ६५० र बाह्रौंमा लोहोरुङ ३ हजार ७१६ रहेको छ ।

यसरी हेर्दा विगतमा कुलुङलगायत १२ वटा किराती जो विगतमा जानेर वा नजानेर आप्mनो नामको पछाडि ‘राई ’ लेख्दै आएका थिए । तीमध्ये १२ वटा जातिले अलग्गै जातीय तथ्यांक दर्ता गरेका थिए । त्यसका लागि पनि कुलुङलगायत अन्य समुदायका अगुवाहरु र आदिवासी किरात महासंघको नेतृत्वले कति पापड बेल्नुपरेको थियो ? त्यसको छुट्टै कथा-व्यथा र घटना, परिघटनाहरु छन् ।

तर, यस्तो गम्भीर (लिपि प्रयोग र भाषाको कुरोमा) र महत्वपूर्ण विषयमा पनि चार किरात संस्थाका पदाधिकारीहरुलाई साँच्चै केही थाहा छैन होला त ? त्यसैले चार किरातीका अगुवालाई फेरि पनि प्रश्न छ, के तपाईँहरुमा साँच्चै आफ्नै ब्रह्माले देख्ने क्षमता छैन ? जानाजान बुझ पचाइरहनु भएको त छैन ?

अचम्म के भने, चुम्लुङ, छुम्मा र समाजका पदाधिकारीहरु कहिलेसम्म यायोक्खाले भनेको कुरामा नै ‘चोचोमोचो’ मिलाएर हिँड्नु हुन्छ ? कहिलेसम्म तपाईँहरु राई यायोक्खाको पुच्छर भएर हिँड्नु हुन्छ ? कि जानाजान ‘आयाराम, गयाराम पारा’ अपनाउनु भएको हो ? त्यसो हो भने हाम्रो भन्नु केही छैन । किनकि हामी (कुलुङ) हरुले जातीय स्वपहिचानको मुद्दा/सवाल उठाउन थालेको २०५७/५८ सालदेखि नै हो ।

यसरी हेर्दा २०/२१ वर्षसम्म पनि यो कुरो चुम्लुङ, छुम्मा र समाजका पदाधिकारीहरुले थाहा नपाउनु भनेको साह्रै दुःखद (एक हिसाबले भन्ने हो भने, हास्यास्पद) नै हो । त्यसैले हजुरहरुलाई अरु (राई यायोक्खा) ले भनेकै कुरामा हिँड्नुपर्ने बाध्यता के छ ? जानीजानी त्यसरी राई यायोक्खाको पिछलग्गु हुनु भएको हो भने, अलिकति पनि लाज-शरम लाग्दैन, हजुरहरुलाई ? नत्रभने, कुलुङलगायत थामी, हायु, सुरेल, जिरेल १२ जातिलाई पनि समेटौं, नभए त हामीले भन्ने वा माग्ने आत्मनिर्णय अधिकारको के अर्थ ? भन्नु सक्नु पर्‍याे । यदि हामीले अरुलाई दलनमलनमा पार्यौं वा बहिष्करण गर्यौं भने त बाहुन क्षेत्री वा राज्य र हामीमा के फरक ? भनेर निकालेर प्रस्टसँग बोल्नुहोस्, नत्रभने, हाम्रा भावी पुस्ताले तपाईँहरु सराप्ने र इतिहासले कलंक लगाउने दिन आउने छ ।

खासमा राज्यले हरेक १०-१० वर्षमा गर्ने राष्ट्रिय जनगणनालाई आधार मानेर नै कुन जात वा जातिको समग्र आर्थिक, शैक्षिक अवस्था, रोजगारीको उपलब्धता, स्वास्थ्य सेवा, लैंगिक समानता वा असमानता, उनीहरुको बाँच्ने उमेर वा आयु, खेतीपाती, सरकारी नोकरी, विकास प्रक्रियामा सहभागिता आदिबारे तथ्यांक हेरेर वा केलाएर नै कदम चाल्ने गर्छ । त्यसैले राज्यले गर्ने जनगणनाको महत्व धेरै महत्वपूर्ण रहने गरेको छ । 

त्यही भएर हामी (कुलुङ)ले आउँदै गरेको १२औं राष्ट्रिय जनगणनामा जात वा जाति, मातृभाषा, पूर्खाको भाषा आदिमा ‘राई’ वा ‘कुलुङ राई’ नलेखेर ‘कुलुङ’ मात्रै लेखाउने निर्णय गरेको छौं । याद रहोस्, केन्द्रीय तथ्यांक विभागले आगामी १२औं राष्ट्रिय जनगणनामा ‘कुलुङ’ जातिलाई दिएको अलग्गै जातिगत ‘कोड-६२’ रहेको छ भने, अलग्गै ‘भाषागत कोड-३३’ रहेको छ ।

सम्बन्धित खबरहरु