Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

चेम्बर प्रतिनिधि मण्डलद्वारा आर्थिक गतिविधिलाई विस्तार गर्नेबारे सुझाव प्रस्तुत

न्युज कारोबार काठमाडौं साउन ५, २०७८       

चेम्बर प्रतिनिधि मण्डलद्वारा आर्थिक गतिविधिलाई विस्तार गर्नेबारे सुझाव प्रस्तुत

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरु तथा सदस्यद्वारा आज प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष भेटवार्ता गरेका छन् । उक्त अवसरमा अध्यक्ष मल्लले गणतन्त्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चेम्बरको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरे ।

चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनर्स्थापित गर्न विभिन्न सुझाव प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताए । उनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भई अर्थतन्त्रमा योगदान पुग्न जाने व्यक्त गरे । उनले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बर, समस्त उद्योगी तथा व्यवसायी र उद्योग तथा यातायात क्षेत्रका मजदूरलाई लगाउने सुविधा उपलब्ध गराइदिन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

यसका अतिरिक्त चेम्बर अध्यक्ष मल्लले कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनुपर्ने बताए । सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनुपर्ने, संसदमा विचाराधीन आर्थिक विधेयक पारित गरिनुपर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको व्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने सुझाव पेश गरेका छन् । त्यस्तै बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनुपर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने, निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रमहरु ल्याइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न विशेष प्राथमिकता दिन आग्रह गरे ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनर्स्थापित गर्न सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताए । अहिले अर्थतन्त्रमा चुनौतीहरु आएको र यसलाई सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्बोधन गरिन सकिने बताए । कोभिड खोपसम्बन्धी चेम्बरको मागबारे सरकार सम्वेदनशील रहेको उनले बताए । उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डेको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु