Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

नबिल बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने

न्युज कारोबार काठमाडौं साउन ३, २०७८       

नबिल बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने

नबिल बैंकले आगामी साउन १० गतेदेखि '८ प्रतिशत नबिल डिबेन्चर २०८५' नामक ऋणपत्रको निष्काशन तथा बिक्री खुला गर्न लागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

यसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । ७ वर्षे अवधि रहेको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशत व्याज पाइने छ ।

यससँगै इच्छुकले साउन १० गतेदेखि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिन पाउने छन् । यदि सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेमा ढिलोमा साउन २४ गतेसम्म ऋणपत्र निष्काशन हुने छ । उनीहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्मका लागि आवेदन दिन सक्ने ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

बैंकले जारी गर्न लागेको ऋणपत्रको लागि इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ ।

सम्बन्धित खबरहरु