Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

देखिने गरी छैन प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन 

सीता वली सुर्खेत साउन १, २०७८       

देखिने गरी छैन प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन 

मंगलबार दिउँसो करिब १ बजेको थियो । वीरेन्द्रनगर नगरपालिकाले कार्यान्वयन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको रिपोटिङमा निस्किएकी थिएँ । इत्राममा रहेको वडा नं ७ को कार्यालयमा पुगेंँ र वडाध्यक्ष ध्रुवप्रसाद चपाईसँग प्रधानमन्त्री रोजगार कार्यक्रमका विषयमा जानकारी लिएँ । वडाध्यक्ष चपाईले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ८ लाख ९० हजार रुपैयाँ आएको र उपभोक्ता समिति गठन गरी नाली सफा गर्ने काम भएको जानकारी दिए ।

असारको दोस्रो हस्तादेखि सुरु गरिएको कार्यक्रम कार्यान्वयन भइसकेको उनले बताए । वडाले निर्माण गरेको योजना नगर कार्यापालिकाको बैठकबाट पारित भई आएको भन्दै अध्यक्ष चपाईले वडामा रहेका सबै नालीहरु सफा गरेको बताए । नाली सफा गरी नालीको फोहोर सडकको छेउमा राखिएको जानकारी अध्यक्ष चपाईबाट पाएँ र प्रश्न गरेँ । नालीको फोहोर उठाएर सडकमा राखेपछि त झनै दुर्गन्ध फैलिन्छ होइन र ? अध्यक्ष चपाईले अब केही समयपछि त्यो फोहोर उठाएर फाल्ने तयारी गरेको बताए । म त्यहि नालीबाट उठाएको फोहोरको फोटो खिच्न भनी निस्किएँ ।

करिब बेलुकी ४ बजेसम्म वडा नं ७ का नालीहरु सबै स्थलगत अनुगमन गर्दा नालीमा हरियो झार र नालीभित्र फोहोरबाहेक केही थिएन । मनमा भने त्यतिखेरै प्रश्न उब्जियो । नाली सफा गरेर सडक छेउमा फोहोर थुपारेपछि त्यो फोहोर यहि हुनुपर्ने होइन र ? फेरि वडाध्यक्ष ज्यूले फोहोर उठाउने कुराको तयारी भएको जानकारी दिएका छन् । उठाइसकेको  भने पक्कै होइन । उसो त प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको उनी आफैं बताउँछन् । पहिले नै यति बजेट आउँदैछ भन्ने कुराको जानकारी पाए सोहिअनुसार वडाले योजना बनाई रकमको जोहो गर्ने उनले तर्क गरे । असार मसान्त लाग्नै लाग्दा आएको बजेटलाई कसरी कार्यान्वयन गर्ने ? यो पनि टाउको दुखाइको विषय भएको अध्यक्ष चपाईको भनाई छ ।

यता वडा नं ८ को कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट देखिने गरी काम गर्न नसकिने भएपछि रकम नै फिर्ता गरिदिएछ । वडाध्यक्ष थम्मप्रसाद गौतमले नालीको फोहोर सडक छेउमा थुपारेजस्तो गरेर राज्यको ढुकुटी सक्नुभन्दा रकम नगरतिरै फिर्ता गरेको बताए । ‘हामीले त्यो ८ लाख ९० हजारको के काम गर्ने ? उनले प्रश्न गर्दै भने, ‘असार मसान्तमा आएको रकम कसरी कार्यान्वयन गर्नु ? देखिने गरी काम नहुने देखेपछि बजेट नै फिर्ता गरिदिएको उनले बताए । वडा नं ८ को कार्यालयले फिर्ता गरेको बजेट नगरपालिका आफैंले नाली सफा गरेर कार्यान्वयन गरेको जानकारीसमेत वडाध्यक्ष गौतमले दिए ।

यता वीरेन्द्रनगर नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक खगेन्द्र केसीले नगरभित्र कती बजेट कार्यान्वयन भइसकेको छ जानकारी नभएको बताए । वडाहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत के –के काम गरे र कति बजेट कार्यान्वयन गरे भन्ने बारे जानकारी नभएको उनले सुनाए । केसीका अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/७८ मा पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको सर्शत अनुदान बापद् नगरपालिकालाई एक करोड ५२ लाख २२ हजार रुपैयाँ पठाएको हो । जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा प्रति वडा ८ लाख ९० हजार रुपैयाँका दरले बजेट कार्यान्वयनका लागि १६ वटा आयोजना छनौट गरिएको उनले बताए । नगरपालिकामा सूचीकृत भएका एक हजार १५५ बेरोजगार व्यक्तिहरुबाट योजना सञ्चालन गर्ने गरी बजेट बाँडफाँट गरिएको हो । १६ वटै वडालाई ८ लाख ९० हजार रुपैयाँको व्यवस्था गरी १६ वटा आयोजना छनौट गरी बाँकी रहेको ९ लाख ८२ हजार रुपैयाँ नगरस्तरीय एक योजना छनौट गरी कार्यविधि बमोजिम कार्यान्वयन गरिएको उनले बताए ।

यता प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ मा कार्यक्रमको क्षेत्रअन्तर्गत सडक, खानेपानी, ढल व्यवस्थापन, सिचाईं, उर्जा, सहरी विकास, शिक्षा, स्वास्थ्य, पुनर्निर्माण, पर्यटन, वन, सामुदायिक पूर्वाधार, कृषि तथा सहकारी, सूचना प्रविधि, वातावरण संरक्षण तथा जलवायु अनुकुलन वा रोजगार सिर्जना हुने सक्ने अन्य काम भनी तोकेको छ । यस्तै सार्वजनिक निर्माणका क्षेत्रबाहेक निजी सहकारी तथा गैरसरकारी क्षेत्रमा समेत सम्बन्धित क्षेत्रसँग सहकार्यमा रोजगारीको सिर्जना गरी न्युनतम् रोजगारीको सुनिश्चितता गर्न सकिने छ भनी उल्लेख छ । तर, अधिकांश स्थानमा सडकको धुलो बडारेर रोजगार कार्यक्रमको रकम सकिएको हो । दीर्घकालिन रुपमा यसले नत रोजगारीका सिर्जना गर्न सक्छ नत राज्यको ढुकुटी नै सहि सदुपयोग हुन्छ ।

सम्बन्धित खबरहरु