Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

कर्णालीमा बजेट अधिवेशन अन्त्य, अध्यादेशमार्फत् बजेट ल्याउने तयारी

सीता वली सुर्खेत असार ३१, २०७८       

कर्णालीमा बजेट अधिवेशन अन्त्य, अध्यादेशमार्फत् बजेट ल्याउने तयारी

एमालेको विरोधका बाबजुद पनि अधिवेशन अन्त्य गरिएको छ । कर्णाली प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत् आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेको हो । गत असार १ गते कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले संसदमा बजेट पेश गरेको थियो । तर, बजेट माथिको सैद्धान्तिक छलफल भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको कारण अगाडि बढ्न सकेन । बजेट अधिवेशन बजेट पेश गरेपछि एक महिनामा करिब ८ पटक बैठक सञ्चालन भए पनि छलफल भने हुन नसकेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बुधबार गएको पत्रअनुसार बुधबार राति १२ बजेदेखि बजेट अधिवेशन अन्त्य गरिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बजेट अधिवेशन अन्त्य गरेका हुन् ।

यता सरकारले भने आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ । सरकारका प्रवक्ता सीताकुमारी नेपालीले प्रतिपक्षले बाटो नदिएपछि सरकार चुप लागेर बस्न नसकेको बताइन् । ‘हामीहरुले एक महिना कुरेका हौं,’ उनले भनिन्, ‘अब अध्यादेशमार्फत् नै बजेट ल्याउने तयारी छ ।’  प्रतिपक्षले एक महिनासम्म सदन अवरुद्ध गरे पनि सरकारले बाटो कुरेको बताइन् । तर, कार्यसूचीमा नै प्रवेश गर्न नदिएपछि अन्तिम विकल्पमा अध्यादेशमार्फत् नै बजेट ल्याउनु परेको उनले तर्क गरिन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले भने सरकार निरंकुश ढंगबाट अगाडि बढेको बताएका छन् । सांसद दल रावलले नेपालको संविधानको धारा २१० को उपधारा १ र २ तथा कर्णाली प्रदेश सभा नियमावलीको नियम १८३ को उपनियम १ मा प्रदेश सभामा विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा आर्थिक वर्षको व्यय अनुमानको बढीमा एक तिहाइ बजेटसहित पेस्की खर्च विधेयक ल्याउन पाउने संवैधानिक प्राब्धान छँदाछँदै सरकारले निरंकुश तरिकाले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको बताए । उनले सरकार अलोकतान्त्रिक र गैरसंवैधानिक काम गरेको बताए । (रासस)

सम्बन्धित खबरहरु