Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

सभामुखलाई प्रश्न उठाएर समस्याको समाधान हुँदैन : नेता कँडेल

न्युज कारोबार सुर्खेत असार ३०, २०७८       

सभामुखलाई प्रश्न उठाएर समस्याको समाधान हुँदैन : नेता कँडेल

नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशका नेता यामलाल कँडेलले सभामुखलाई प्रश्न उठाएर समस्याको समाधान नहुने बताएका छन् । बुधबार बसेको कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको अठारौं बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

आफूहरुले जम्मा दुईवटा माग मात्रै राखी छलफल चलाइरहेको भए पनि सरकार लाचार भएको उनले बताए । संसदीय मर्यादा जोगाउने कुरा आफूहरुको धर्मको कुरा भएको भन्दै नेता कँडेलले एमालेका सांसद भएर मात्रै उक्त माग नराखेको बताए । ‘यो ठाउँमा अरु कोही भए पनि एमालेले यही माग राख्थ्यो,’ उनले भने, ‘संविधान र सदनको मर्यादा राख्ने कुरामा हामी पछि हट्ने छैनौं ।’

जटिल अवस्था हुँदा हुँदै पनि न्यायालयले भनेको कुरा मानेर प्रधानमन्त्री केपी ओली बाहिर  गएको उनले बताए । कर्णालीमा भने न्यायालयले भनेको नमानी अदालतको अपमान र सभाको मानमर्दन गर्ने काम भएको कँडेलले बताए । सरकारले गैरकानुनी कामहरु गरेको छ जो बाहिर ल्याउनुपर्ने छ तर, यो माग सरकारले सम्बोधन गर्नुपर्छ भन्दै नेता कँडेलले मर्यादा र निष्ठालाई जोगाउने कुराबाट पछि नहट्ने बताए ।

नेकपा एमाले जनतासमक्ष जान तयार भएको उनले बताए । ‘तपाईको दलभित्र के गर्नुहुन्छ उतै गर्नुहोस् उत्पात,’ उनले थपे, ‘प्रदेशसभाको क्षेत्रभित्र मर्यादा जोगाउने कुरामा हेक्का राख्नुपर्छ ।’ आफूले असंवैधानिक काम गर्दै जाने र अनि संविधानविपरित काम गरेकालाई संरक्षण गर्ने काम कर्णाली प्रदेश सरकारले गरेको उनले आरोप लगाए । उनले आफूहरु सरकारलाई रचनात्मक सहयोग गर्न तयार भएको भए पनि संवैधानिक कुरा भएकोले विषय सूचीमा प्रवेश गर्नका लागि एमालेले सहयोग गर्न नसक्ने उनले बताए । एमालेको अवरोधका कारण आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

सम्बन्धित खबरहरु