Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो

न्युज कारोबार काठमाडौं असार ३०, २०७८       

हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो

दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायांकन गरेका हुन् ।

देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानीयस्तरमै युवाहरू म्युजिक भिडियो उत्पादनमा लागेका हुन् । समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक, लोकगीत-संगीत हाबी हुँदा छुट्टै पहिचान बोकेको देउडा ठाडी भाका लोप हुँदै गएकाले स्थानीयस्तरमै देउडा ठाडी भाका गीतको छायांकन गरिएको निर्देशक एवं पत्रकार पदमराज हमालले जानकारी दिए ।

‘जिन्दगी अधुरो बनाई छोडी बाईगई माया’ बोलको देउडा ठाडी भाका गीत हुम्लामै पहिलोपटक निर्माण गरिएको निर्देशक हमालले बताए । गोठालाहरूको दुःख पीडालाई आधार बनाई माया प्रेम झल्काउने गीतको भाव रहेको निर्देशक हमालको भनाइ छ । गीत स्थानीय गायक मनबहादुर थापाको स्वर र शब्दमा रहेको छ । म्युजिक भिडियोमा पनि हुम्लाकै स्थानीय कलाकारहरुको अभिनय रहेको बताइएको छ ।

गीतमा हुम्लाका सञ्चारकर्मी नरजन तामाङ, उर्मिला शाही र विष्णु बुमीको अभिनय रहेको छ । जिल्लाकै पत्रकार हमाल, अविनाश लामा र अर्जुन बोहराले गीतको छायांकन गरेका हुन् । (रासस)

सम्बन्धित खबरहरु