Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

आरआरएनद्वारा आइसोलेसनलाई विभिन्न सामग्री सहयोग

न्युज कारोबार संखुवासभा असार २७, २०७८       

आरआरएनद्वारा आइसोलेसनलाई विभिन्न सामग्री सहयोग फाइल तस्बिर

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)द्वारा संखुवासभाका आइसोलेसनलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिएको छ । शनिबार तुम्लिंटारमा एक कार्यक्रमबीच पूर्वराजदूत डा. अर्जुन कार्कीले जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र कोभिड-१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई विभिन्न सामग्री हस्तान्तरण गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा. कार्कीको विशेष पहलमा युएनडीपी कार्यक्रमअन्तर्गत नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले उक्त सामग्री उपलब्ध गराएको हो । विश्वभर कोरोना भाइरसको महामारी फैलिइरहेको समयमा संखुवासभामा कोरोना नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले संखुवासभा जिल्ला अस्पतालद्वारा सञ्चालित मानेभञ्जाङ, तुम्लिङ्टार आइसोलेसन र चैनपुर आइसोलेसनका लागि ती सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त संस्थाले चैनपुर र मकालु गाउँपालिकाका लागि एक/एक थान जेनेरेटर हस्तान्तरण गरेको थियो । त्यसैगरी अन्य सामग्री पल्स अक्सोमिटर १०० थान, पीपीइ १०० थान, एन-९५ मास्क एक हजार थान, ब्ल्यांकेट १५० थानलगायत १० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । ती सामग्री जिल्ला अस्पताल र डीसीसीएमसी समितिले जिल्लामा सञ्चालित आइसोलेसन र होमआइसोलेसनमा बसिरहेकालाई लक्षित वितरण गर्नसमेत संस्थाले अनुरोध गरेको छ ।

पूर्वराजदुत कार्कीको पहलमा संखुवासभामा विभिन्न प्रकारका सहयोग प्राप्त भएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले धन्यवाद दिए । जिल्लाको खाँदबारी नगरपालिका-९ तुम्लिंटारमा जन्मिएका पूर्वराजदूत कार्की विभिन्न सामाजिक काममा समेत संलग्न रहँदै आएका छन् । (रासस)

सम्बन्धित खबरहरु