Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

प्रदेश १ मा विनियोजन विधेयकको विभिन्न शीर्षकमाथि छलफल सुरु

न्युज कारोबार काठमाडौं असार २३, २०७८       

प्रदेश १ मा विनियोजन विधेयकको विभिन्न शीर्षकमाथि छलफल सुरु फाइल तस्बिर

प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७८ को विभिन्न शीर्षकमाथिको छलफल सुरु भएको छ । बैठकमा सामाजिक विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले नीति तथा कार्यक्रमअनुसार बजेट नआएको बताउँदै सन्थाल जातिका नेता तुलसा हेमराम प्रतिष्ठानलाई सहमति अनुसार बजेट विनियोजन नभएकोमा सरकारको ध्यानाकर्षण गराए ।

अर्का सदस्य लोकप्रसाद सङ्ग्रौलाले स्वास्थ्य बीमामा चिकित्सकको सिफारिसअनुसार नभई न्यून गुणस्तरीय औषधि उपलव्ध गराएर जनताको स्वास्थ्यमाथि खेलबाड गरेको आरोप लगाए । त्यस्तै सदस्य सन्ध्याकुमारी दनुवारले उदयपुर जिल्लाका लागि स्वास्थ्य क्षेत्रमा न्यून बजेट छुट्याएकोमा गुनासो व्यक्त गरे । सदस्य सावित्रीकुमारी रेग्मीले औषधि खरिदको तुलनामा मन्त्रालयको चिया र अतिथि सत्कारमा बढी बजेट विनियोजन भएको बताए ।
 
यसअघि बैठकको शुन्य समयमा बोल्ने अधिकांश सदस्यले बाढीपहिरो, सडक, पुल, सुकुम्वासीलगायत समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै उदयपुरको बेलका नगरपालिकामा बसोवास गरिरहेका नागरिकलाई कवुलियत वनको नाममा उठीवास गराउने गतिविधिको अन्त्य हुनुपर्ने, उदयपुरको त्रियुगा नदीमा निर्माणाधिन पुल वगाएको सम्बन्धमा दोषी ठेकेदार र इञ्जिनीयरलाई कारवाही गर्नुपर्ने, मोरङको मोतिपुर–गिधनिया बहुवर्षीय सडकको अवस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराए । 

यसरी बोल्ने सदस्यहरुमा अम्विका थापा, कुसुमकुमारी श्रेष्ठ, बिलम कार्की, विजयकुमार विश्वास र सुनिता कुमारी चौधरी छन् । बैठकको सुरुमा सभामुख प्रदीपकुमार भण्डारीले गएको असार १३ गते भौतिक पूर्वाधार विकास मन्त्रालयसंग सम्बन्धित विनियोजन शीर्षकको छलफलका क्रममा सम्बन्धित मन्त्रीले जवाफ दिँदा सभामुखले रुलिङग गरे पछाडिका अभिव्यक्तिलाई अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिए । उनले सभामा मर्यादित भाषाको प्रयोग गरी यसको मर्यादा कायम राख्न सम्बन्धित सबैलाई सचेत गराए । प्रदेशसभाको अर्को बैठक असार २३ गते दिनको ११ः३० बस्नेछ । (रासस)

सम्बन्धित खबरहरु