Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण

न्युज कारोबार म्याग्दी असार १५, २०७८       

दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण फाइल तस्बिर ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो । अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित आठ लाख रूपैयाँ, देश तथा विदेशमा रहेका दानावासीबाट प्राप्त सहयोग ११ लाख रूपैयाँ र तीन लाख रूपैयाँ बराबरको स्थानीयको श्रमदान गरी कुल २० लाख रूपैयाँ लगानीमा सो धारा निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर थापाले बताए ।

मोतीचौरमा सिद्घ र बराहको मन्दिर रहेको छ । यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष पूजाआजा हुने गर्दछ । जिल्ला र जिल्लाबाहिरका भक्तजनले आफ्नो मनोकांक्षा पूरा गर्नका लागि बलिसहित त्यहाँ भाकल तथा पूजा गर्न आउने गर्दछन् । सन्तान नभएकालाई सन्तानको वर प्राप्त हुने भएकाले पनि यस क्षेत्रको अझै बढी महत्व रहेको मोतीचौर बराहका संरक्षक टेकबहादुर थापाले बताए । बलि नदिई पूजा गर्नेहरुका लागि १०८ धाराको नजिकै लक्ष्मीनारायणको मन्दिरसमेत निर्माण भइरहेको छ ।

मोतीचौर बराहका संरक्षक थापा, लेफ्टिनेन्ट बेलबहादुर पुर्जा, हरिमाया राम्जाली, आनन्द शेरपुञ्जा, अन्नपूर्ण गाउँ कार्यपालिका सदस्य थमबहादुर विश्वकर्मालगायतको पहलमा उक्त धारा निर्माण गरिएको हो । पवित्र धार्मिकस्थलमा भक्तजनलाई आकर्षित गर्न र आन्तरिक पर्यटनलाई पनि प्रवद्र्घन गर्नका लागि गाउँपालिकाबाट बजेट माग गरी धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिव गंगा पुनले बताइन् । यसले सो क्षेत्रको विकास र प्रचारमा थप सहयोग पुग्ने पुनको भनाइ छ ।

भारतको राजस्थानबाट ढुंगा र गाईमुखी लिएर धारा बनाइएको छ । गाउँको शिरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र मोतीचौरमा धारा निर्माणका लागि बेलायतलगायत विदेशमा रहेका दानाबासीबाट करिब ११ लाख रूपैयाँ सहयोग प्राप्त भएको आर्थिक संकलन अभियानकर्ता लेफ्टिनेन्ट पुर्जाले बताए । उनका अनुसार हिउँदमा पनि नसुक्ने १०८ वटा मूलबाट पानी ल्याइएकाले पनि यो धाराको विशेष महत्व रहेको छ । यहाँ स्नान गर्ने भक्तजनको मन शुद्घ हुने र चिताएको पनि पुग्ने विश्वास लिइएको छ । मोतीचौरको धार्मिक पर्यटनलाई विकास गर्नका लागि यसै वर्षदेखि दाना, घट्टेखोला, डाँडागाउँबाट कुलिवाङ हुँदै द्वारी मोतीचौर पुग्ने सडक खन्न सुरु गरिएको छ ।

सो सडकलाई निरन्तरता दिनका लागि आगामी आर्थिक वर्षमा पनि वडाबाट १५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको अन्नपूर्ण-३ दानाका वडाध्यक्ष नरसिंह पुनले जानकारी दिए । धारा निर्माणसँगै आवश्यक पूर्वाधार निर्माणतर्फ समितिले जोड दिएको छ । स्नानपश्चात कपडा फेर्ने ठाउँ, महिला/पुरुष शौचालय, व्यवस्थित घेराबार, पानीको मुहानको उचित संरक्षण, सिद्घ र बराह मन्दिर मर्मत, प्रवेशद्वार निर्माणलगायतका काम गर्न आवश्यक रहेकाले वडा, पालिका र देश विदेशमा रहेका दानाबासीलाई सहयोगको आह्वान गरिएको उपभोक्ता समितिका सचिव पुनले बताए । (रासस)

सम्बन्धित खबरहरु