Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

बागलुङमा बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजी गर्न कुकुर परिचालन

न्युज कारोबार बागलुङ असार १५, २०७८       

बागलुङमा बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजी गर्न कुकुर परिचालन सांकेतिक तस्बिर ।

बागलुङ नगरपालिका-१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् । मर्निङवाकमा निस्केका ४६ वर्षीय सुनार गत जेठ २९ गतदेखि बेपत्ता भएका हुन् । परिवारका अनुसार रामरेखाबाट मालढुंगा जाने क्रममा उनी हराएका हुन् । सुनारले सधैँ सोही मार्गमा ‘मर्निङवाक’ गर्ने गरेको उनका आफन्त पर्ने भाइ सज्जनकुमार सिंहले बताए । 'दाइ लामो समयसम्म घर नफर्केपछि धेरैतिर खोजी गरियो, स्याङ्जासम्म पुग्यौँ, अझै केही पत्ता लाग्न सकेको छैन,' उनले भने ।

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता सुनारको खोजी कार्य जारी राखेको छ । यतिका दिनसम्म उनी नभेटिँदा परिवारका सदस्य चिन्तामा छन् । म्याग्दीको बेनी नगरपालिका-१ अर्जमका स्थायी बासिन्दा सुनार लामो समयदेखि बागलुङमा बस्दै आएका थिए । त्यस्तै बागलुङको गलकोट नगरपालिका-६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि हराएका छन् । घाँस काट्न जाँदा बेखबर भएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिए पनि अवस्था पत्ता लाग्न सकेको छैन ।

प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिमप्राप्त कुकुरसहित प्रहरी खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न गएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीय र प्रहरी मिलेर तत्कालै खोजीमा लागेका थिए । चार दिन बित्दासमेत उनी नभेटिएपछि प्रदेश मुकामबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालन गरिएको हो । बुढाथोकी हराएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो । (रासस)

सम्बन्धित खबरहरु