Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगले देखायो तदरूकता

न्युज कारोबार काठमाडौं असार ७, २०७८       

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगले देखायो तदरूकता

जनता समाजवादी पार्टी (जसपा)काे विवाद निरूपणका लागि निर्वाचन आयोगले तदरूकता देखाएकाे छ । आयाेगले महन्थ ठाकुर पक्षसँग आइतबार लिखित जवाफ माग गरेको छ । यादव पक्षका दावीको विषयमा लिखित जवाफ पेश गर्न आयोगको बैठकले महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको हाे ।

असार ४ गते उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा पत्र दिएपछि आइतबार आयोगले उक्त दावीवारे ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको हो । आयोगले उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले यसअघि एक अर्को पक्षलाई कारबाही गरी दल दर्ता किताबमा रहेको विवरण सच्याउन दिएको निवेदनलाई दुवै पक्षको दावी नपुग्ने भनी अस्वीकार गरेको थियो ।

जसपाकाे विवाद दलको आधिकारिकतासम्बन्धी भएको भन्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार निरुपणका लागि आउन आयोगले आग्रह गरेको थियो । त्यसपछि उपेन्द्र यादव पक्षले असार ४ गते केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित दलको आधिकारिकता दावी गर्दै निवेदन दिएको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (१)मा दलको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता दावी गर्ने पक्षले दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगमा आधार र प्रमाणसहित दावी पेश गर्नुपर्ने व्यवस्था छ ।

सरकारमा जाने/नजाने विषयमा सुरु भएकाे जसपाकाे विवाद अहिले पनि उत्कर्षमा छ । यादव पक्ष र ठाकुर पक्ष एकले अर्कालाई अल्टिमेटमसहित स्पष्टीकरण साेध्ने र पार्टीबाटै निष्काशन गर्ने सिलसिला अझै जारी छ ।

सम्बन्धित खबरहरु