गृहपृष्ठ अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च र महत्वपूर्ण : गभर्नर अधिकारी
अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च र महत्वपूर्ण : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायीहरुको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा उनले संसारभरी नै एमएसएमईज र एसएमइजको भूमिका झण्डै ९९ प्रतिशत देखिने र अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहने बताए ।
'त्यही हिसाबले नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा प्राथमिकता दिंदै आएको छ । गत सालको मौद्रिक नीतिमार्फत हामीले वास्तवमा ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेका छौं । त्यो प्रयास हाम्रो रह्यो नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धि हासिल भएको छ,' उनले भने, 'सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगै कुल कर्जाको १५ प्रतिशत एक करोडभन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरी पुर्नरकर्जामध्ये पनि ७० प्रतिशत पुनकर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको छ ।'
योभन्दा अगाडि साना उद्योगीले पुनकर्जा लिएको इतिहास नभएकाे गभर्नर अधिकारीले बताए । 'गत साल मात्रै १५ लाखभन्दा साना व्यवसायी लगभग ४२ हजारले पुनकर्जा पाउनुभयो । त्यो महत्वपूर्ण उपलब्धि हो हाम्रो नयाँ पोलीसीको जस्तो लाग्छ,' उनले भने, 'पुनकर्जा भनेको नेपाल राष्ट्र बैंकले नै सबै फाइनान्सिङ गर्ने होइन, अहिले हाम्रो टोटल लोनको आकार ४१ खर्ब पुगेको छ । जम्मा क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्था रहेका छन् । ४१ खर्ब नै राष्ट्र बैंकले दिएर ब्याज सहुलियत दिने भन्ने हुँदैन राष्ट्र बैंकका आफ्नै सीमा छन् ।'
धेरैभन्दा धेरै ऋणीको, व्यवसायीको आत्मबल कसरी बढाउन सकिन्छ भन्नेमा प्रयास भइरहेकाे उनले बताए । गभर्नर अधिकारीले भने, 'उहाँहरु बीच-बीचमा आएका उतारचढावको कारणले आफै एउटा स्टेजमा पुगसकेको व्यवसायबाट फेरी भासिन पुग्ने, हराउनुपर्ने स्थिति नआओस् । त्यहाँ कसरी नीतिगत हिसाबले हामीले कसरी सघाउन सकिन्छ भनेर गरेको राष्ट्र बैंकले गरेको एउटा इमानदार प्रयास थियो । यसमा खासगरी व्यवहार र प्रक्रियामा साेंचेजस्तो भएन बैंकहरुले अलिकति व्यवसायीमैत्री व्यवहार गरेनन् भन्ने कुरा हामीलाई बीचबीचमा बारम्बार नआएको होइन त्यसभित्र कैयौँ व्यवहारीक समस्याहरु हामीले पनि महसुस गरेका हौँ । यस्ता कुरालाई क मगर्ने प्रयास गरेका छौं र धेरै हदसम्म सुधार भएको छ ।'
महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीहरुले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिए । साना उद्योगीको हकमा पुनकर्जासम्बन्धी कार्यविधिलाई पुनर्लेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उनले पुनकर्जा कार्यविधि पुनलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताए । केही बैंकहरुले पुनकर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दहरुलाई केलाएर केही बैंकका शाखाहरुले साना उद्योगीहरुलाई निरुत्साहित गर्ने गरेको गुनासो राख्दै उनले भने, 'कृषि उपज र प्रशोधन सम्बन्धी उद्योग भनेको छ । तर धान, चामल र च्युराजन्य उद्योगका लागि पुनकर्जाको लागि जाँदा तपाइहरुको त कार्यविधिमा लेखेकै छैन भनिन्छ । बैंकका यस्ता व्यवहारले साना व्यवसायीहरुलाई साह्रै पीडित बनाएको छ ।’
प्रकाशित समय : ०२:१६ बजे