Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

नाकामा नयाँ मन्त्री : अनुगमन मात्रै हाेइन, अब कार्यान्वयनमै जाने हाे

दिनेश बिष्ट धनगढी असार ५, २०७८       

नाकामा नयाँ मन्त्री : अनुगमन मात्रै हाेइन, अब कार्यान्वयनमै जाने हाे

कोरोना भाइरस महामारीको दोस्रो लहर केही ओरालो लागे पनि तेस्रो लहर भित्रिने सम्भावना बढेको भन्दै सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय तहहरुले पूर्वतयारी थालेका छन् । विभिन्न मुलुकमा कोरोनाको तेस्रो लहर देखिएसँगै नेपालमा पनि भित्रिने खतरालाई ध्यानमा राखी सुदूरपश्चिम सरकार सजगता बढाएको हो ।

तेस्रो लहर भित्रिहाले त्यसको प्रभाव न्यून गर्न नाकाको व्यवस्थापनमा जोड दिनुपर्ने स्थानीय तहहरुले बताएका छन् । विशेषगरी भारतबाट स्वदेश आउने नागरिकहरुबाटै कोरोनाको संक्रमण फैलिएको भन्दै प्रदेश सरकार र स्थानीय तहहरु नका व्यवस्थापनमा जुटेका हुन् । सुदूरपश्चिमको मुख्य नाका त्रिनगरबाट सबैभन्दा बढी नागरिक स्वदेश फर्किने गरेका छन् । यसै नाकालाई व्यवस्थित गर्न सके कोरोनाको संक्रमण धेरै हदसम्म रोक्न सकिने प्रदेश सरकारको बुझाइ छ ।

सुदूरपश्चिम सरकार यसको व्यवस्थापनमा जुटिसकेको छ । त्रिनगर नाकामा राखिएका हेल्थ डेस्क, होल्डिङ सेन्टर अव्यवस्थित हुँदा स्वदेश आउने नागरिकहरुलाई समस्या भएको भन्दै प्रदेश सरकारले स्थानीय तहहरुसँग आवश्यक सहकार्य गरी व्यवस्थित गर्न लागेको हो । शुक्रबार मात्रै प्रदेश सरकारका तीन जना मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर, कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायको टोलीले त्रिनगर नाकाको अनुगमन गरे ।

सुदूरपश्चिम सरकारको प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले भौतिक संरचना निर्माणका लागि त्रिनगर पुगेको बताइन् । उनले भनिन्, ‘कोरोनाको कहर सकिएको छैन । फेरि अर्को लहर आउन सक्ने सम्भावना छ । नाका व्यवस्थित छैन । त्यस कारण नाकामा प्रविधिमैत्री होल्डिङ सेन्टर, सुरक्षाकर्मीका लागि व्यवस्थित बस्ने ठाउँलगायत निर्माणका लागि स्थलगत अवलोकन गर्न नाका गएका हौं ।’ सबै निकायले नाकाको अवस्थाबारे जानकारी लिएकाले अब तुरुन्तै नै सरसफाई, भत्केका हेल्थ डेस्क व्यवस्थापन गर्ने कामको सुुरुवात हुने मन्त्री जोशीले बताइन् । उनले भनिन्, ‘हामी अब भनेर मात्रै होइन, एक्सनमा जान्छौँ । यसका लागि दुईवटै जिल्लाका सम्बन्धित पालिकासँग समन्वय र सहकार्य भइरहेको छ ।’

एन्टिजेन किट अभावकै कारण त्रिनगर नाकाबाट स्वदेश फर्किने सबै नागरिकलाई कोरोना परीक्षण नगरी घर पठाउने गरिएको थियो । अब भने भारतबाट स्वदेश फर्किने सबै नागरिकको एन्टिजेन परीक्षण गरेर मात्र घर पठाउने गरी तयारी थालिएको सुदूरपश्चिम सरकारले जनाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले हेल्थ डेस्क व्यवस्थापनसँगै आवश्यक सबै उपकरणको समेत व्यवस्था गरिने बताएका छन् । ‘हामी नयाँ मन्त्रीहरु आएको धेरै दिन भएको छैन,’ मन्त्री खड्काले भने, ‘कोरोनाको तेश्रो भेरियन्ट आउँदैछ भनिएको छ । ैँ त्यस कारण अब नाका व्यवस्थापनमा हाम्रो प्राथमिकता हो । त्रिनगर, गड्डाचौकी, झुलाघाट र धार्चुला नाकालाई हामी व्यवस्थित गर्दैछौँ ।’

नाकाबाट सबै नागरिकको कोरोना परीक्षण गरेर मात्रै घर पठाउनका लागि हेल्थ डेस्क र होल्डिङ सेन्टर बनाउने मन्त्री खड्काले बताए । उनका अनुसार धनगढीमा एक हजार र महेन्द्रनगरमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुने भएको हो । भारतबाटै देशमा रोग भित्रिने भएकाले त्यो रोगलाई सीमामै रोक्ने गरी काम थालेको उनको भनाइ छ । प्रदेशको एक्लो धनगढी उपमहानगरपालिका यही नाकासँग सीमा जोडिएको छ । प्रदेश सरकारँंगको सहकार्यमा होल्डिङ सेन्टर तथा व्यवस्थित नाका बनाउनका लागि तयार रहेको उपमहानगरपालिकाले जनाएको छ । प्रदेशले गर्नुपर्ने काम प्रदेश र स्थानीय तह कञ्चनपुरको पुनर्वास नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकाले अन्य आवश्यक काम गर्ने बताइएको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले महामारीमा सीमा व्यवस्थापनका लागि प्रदेश सरकार पनि ब्युझिँएको बताए । ‘प्रदेश सरकारसँग विगतमा मैले धेरै भनेको थिएँ । बल्ल प्रदेश तात्दैछ,’ उनले भने, ‘प्रदेशका सबै नाकालाई व्यवस्थित गर्न हामी सबै स्थानीय तह र प्रदेश सरकार सबै एकमत छौँ ।’ भारतबाट आउने नागरिकको व्यवस्थापनसँगै नाकालाई स्वच्छ बनाउनेतर्फ पनि हामी केन्द्रित छौँ ।’ मेयर वडका अनुसार तत्काल नाकामा भएका खाल्डाखुल्डी पुर्ने, हेल्थ डेस्क व्यवस्थित बनाउने, नाकामै ५० जना क्षमताको होल्डिङ सेन्टर बनाउने कामका लागि प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बिस्तारपछि आन्तरिक मामिला र सामाजिक विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएका छन् । नयाँ मन्त्रीहरुले कोरोना भाइरस रोकथामका लागि नाका व्यवस्थापनमा जोड दिएका छन् । अनुगमनमा मात्रै सीमित नराखी अब कार्यान्वयनमै जाने नवनियुक्त मन्त्रीहरुको भनाइ छ ।

सम्बन्धित खबरहरु