Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

उत्कृष्ट किसानलाई ‘स्वर्ण हलो’ 

सीता वली वीरेन्द्रनगर जेठ ३०, २०७८       

उत्कृष्ट किसानलाई ‘स्वर्ण हलो’ 

कर्णाली प्रदेश सरकारले उत्कृष्ट व्यवसायी किसानलाई स्वर्ण हलो दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याइएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यवसायिक कृषकलाई स्वर्ण हलोसहित सम्मान गर्ने नीति सरकारले लिएको हो ।

शुक्रबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा योगदानमा आधारित किसान निवृत्तभरण कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने नीति लिइएको हो । त्यस्तै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण, व्यवसायिक, प्रतिस्पर्धात्मक र उच्च मूल्ययुक्त बनाउन आवश्यक नीतिगत, संस्थागत र जनशक्ति व्यवस्थापन गरी प्रांगारिक प्रदेशको रुपमा विकास गर्ने, दुक्रे कृषि गतिविधिलाई निरुत्साहित गर्दै कृषि तथा पशुपालनको विस्तृन सम्भाव्यता अध्ययन गरी उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरणको एकीकृत कृषि विकास योजना कार्यान्वयनमा ल्याउने, सडकको अवसरमा बदल्न सडक कोरिडोर केन्द्रित व्यवसायिक कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले लिएको हो ।

त्यस्तै कृषकको घरदैलोमा प्राविधिक सेवा पुर्‍याउन कृषि प्राविधिक स्वरोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने, प्रांगारिक कर्णाली अभियानलाई प्रभावकारी बनाउँदै प्रांगारिक नमूना स्थानीय तह घोषणा गर्ने, कृषि क्षेत्रलाई बढी उत्पादनशील, प्रतिस्पर्धी र नाफामूलक बनाउन सबै किसान तथा व्यवसायी लाभान्वित हुने र उत्पादन लागत घटाउन सकिने गरी कर्णाली कृषि क्षेत्र सहयोग प्रणाली लागू गर्ने नीति सरकारले लिएको हो । साथै सुर्खेतमा पाँचसय शय्याको कोरोना विशेष अस्पताल, क्षमताको अक्सिजन पलान्ट निर्माण गर्ने, सरकारले सबै नागरिकलाई खोप लगाउने, जिल्ला अस्पतालहरुमा कम्तीमा एक भेन्टिलेटर र पाँच आइसीयू उपचार कक्ष निर्माण गर्नेलगायत स्वास्थ्य क्षेत्रलक्षित नीति तथा कार्यक्रम ल्याएको हो ।

गत आर्थिक वर्षका बैंकखाता छोरीको सुरक्षा जिवनभरीको कार्यक्रम, मुख्यमन्त्री आयआर्जन कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, खाना, नाना र छाना कार्यक्रम, जनता आवास कार्यक्रम, हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री कार्यक्रमलाई समेत सरकारले निरन्तरता दिएको छ । द्वन्द्व पीडित महिलाहरुका लागि सेफ हाउस कार्यक्रम सञ्चालन, सहिदका परिवारलाई आमाबुवाको पहिलो अधिकार हुने गरी मासिक दुई हजार रुपैयाँका दरले स्मृति भत्ता, कर्मचारी तथा मजदुर महिलाहरुको सहजताको लागि दिवा शिशु स्याहार कार्यक्रम, कर्णालीको पानी जनताको लगानी कार्यक्रम सुरु गरी जलस्रोतको उपयोग गर्ने, मेक इन कर्णाली कार्यक्रम सुरु गर्ने, कर्णाली जडिबुटी विकास कार्यक्रम सञ्चालन गर्ने, प्रदेश पर्यटन गुरुयोजनाअनुसार सुनौलो त्रिभुज (काँक्रेविहार-रारा-फोक्सुण्डो) र सुनौला सिक्री (वीरेन्द्रनगर-हिल्सा-मानवसरोवर) जोड्ने अवधारणाअनुसार यस मार्ग र आसपासका काँक्रेबिहार, पञ्चकोशी, पचाल झरना, पिली, सिँजा, कुभिण्डे दह, स्यार्पु, चिन्नी पाटन गुफा मालालारानी गुपा आदी क्षेत्रमा पर्यटिकीय पूर्वाधारको विकासलाई अगाडि बढाउने नीति सरकारले लिएको हो ।

प्रि-बजेट ल्याउने कानुनी समय घर्किएपछि गत २७ गते प्रि-बजेट ल्याएको सरकारले शुक्रबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको हो । सरकारले गत आर्थिक वर्षका केही कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम ल्याएको हो । यस विषयमा सामाजिक विकास मन्त्रायका पूर्वमन्त्री दल रावलले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याइएको नीति तथा कार्यक्रममा वायुमण्डलमा तैरिएको अनियन्त्रित वायुयान भनी सामाजिक सञ्जालमा लेखेका छन् । उनले हरेक वर्ष नीति तथा कार्यक्रम ल्याउने गरेको भए पनि कार्यान्वयन नभएको भन्दै टिप्पणी गर्दै आएका छन् ।

सम्बन्धित खबरहरु