Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

प्रहरीद्वारा उमेर नपुगी गरिएको बालविवाह बदर

न्युज कारोबार डोटी जेठ ३०, २०७८       

प्रहरीद्वारा उमेर नपुगी गरिएको बालविवाह बदर फाइल तस्बिर

जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी किशोरीसँग हालै गरेको विवाहलाई प्रहरीले बदर गरेको हो ।

जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले २० वर्ष नपुगेकी निज किशोरीको विवाह भएको भन्दै रद्द गराइपाउन जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि छानबिनपश्चात् उक्त विवाह बालविवाह भएको देखिएकाले बदर गरिएको हो ।
विवाहलाई बदर गरी बालिकालाई आफन्तको जिम्मा लगाएको नगरस्तरीय बाल सञ्जालका संयोजक अनिस सेनले जानकारी दिए ।

कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गरे बालविवाहअन्तर्गत पर्ने भएकाले बदर गर्न उजुरी परेपछि उक्त विवाह बदर गरी कानुनविपरीत विवाह गर्ने गर्नेलाई सजाय हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । उनले भने, 'बालविवाह गरिएको उजुरीपछि हामीले विवाह बदर गरेका छौँ, जान्दा जान्दै कानुन विपरीत विवाह गर्नेलाई कारवाही हुन्छ ।'

जिल्लामा पछिल्ला वर्षमा सानै उमेरमा छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्दै बालविवाह गर्ने चलन अझै कायमै रहेका कारण बालविवाहले प्रश्रय पाएको स्थानीयवासी दीपक थापाले बताए । पुण्यका नाममा जिल्लामा बालविवाह बढ्न थालेपछि यहाँका स्थानीय तहले बालविवाह अन्त्य गर्ने भन्दै रणनीतिक योजना तयार गरी लागू गरेको भए पनि उक्त योजना यहाँका गाउँघरमा लागू हुन सकेको छैन । बालविवाह गर्नेलाई कानुनी दायरामा ल्याउन नसकेका कारण बालविवाह जस्ताको तस्तै अवस्थामा रहेको सामाजिक क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ संस्थाको बुझाइ छ । (रासस)

सम्बन्धित खबरहरु