गृहपृष्ठ राउटे युवतीसँग सम्बन्धित सामाग्री सामाजिक सञ्जालबाट हटाउन अदालतको आदेश
राउटे युवतीसँग सम्बन्धित सामाग्री सामाजिक सञ्जालबाट हटाउन अदालतको आदेश
राउटे युवतीसँग सम्बन्धित सामाग्री सामाजिक सञ्जालबाट हटाउन जिल्ला अदालत सुर्खेतले आदेश दिएको छ । राउटे युवतीसँग सम्बन्धित यौन दुव्र्यवहार घटनाका विषयमा प्रकाशन भएका समाचार तथा पोष्टहरु हटाउन अदालतले आदेश दिएको हो ।
दुर्व्यवहारमा परेका पीडित युवतीको पहिचान झल्कीने गरी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा राखिएका फोटा र भिडियोहरु सबै हटाउन अदालतले आदेश दिएको हो । ‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित प्रसारित सामग्रीहरु हटाउन ध्यानाकर्षण गराउनु,’ न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ, ‘जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामग्रीहरु प्रचार–प्रसार नगर्न नगराउन ध्यानाकर्षण गराउनु ।’
यस्तै आदेशमा युट्युबलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरुका सामग्रीहरु हटाउन संघीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन सुर्खेतमार्फत् आवश्यक कारबाही अघि बढाउन भनिएको छ । न्यायाधीश डा. आचार्यको आदेशमा राउटे युवतीका विषयमा सामग्रीहरु प्रसारण प्रकाशन गर्नेविरुद्ध कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयमा आदेशको प्रतिलिपि पठाउन पनि भनिएको छ । संवेदनशील विषयमा जथाभावी सामग्रीहरु प्रसारण प्रकाशन गर्ने साइटहरु आवश्यकताअनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ । यसैगरी प्रहरीलाई पीडित युवतीको सुरक्षामा विशेष ध्यान दिनसमेत आदेशमा भनिएको छ ।
प्रकाशित समय : १३:५० बजे